एमालेका दुई मुख्यमन्त्री भएनन् सर्वसम्मत उम्मेदवार

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरु जोडबलले लागेका छन्। सत्ता गठबनधनलाई सिट बाँडफाँटको किचलो हुँदा प्रतिपक्ष दल नेकपा एमालेले पनि सर्वसम्मत उम्मेदवार सिफारिस गर्न सकेको छैन।

एमालेबाट प्रदेश नम्बर १ को मुख्यमन्त्री बनेका शेरधन राई र भीम आचार्य यसपटक संघमा जाने तयारीमा छन्। संघीय सरकारमा मन्त्रीको जिम्मेवारी पाइसकेका यी दुवै २०७४ को निर्वाचनमा मुख्यमन्त्रीको दावी गर्दै प्रदेशमा निर्वाचन जिते र दुवैले मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरे। यसपटकको निर्वाचनमा राई र आचार्य प्रतिनिधिसभामा जाने तयारी गर्दैछन्।

२०५६ सालको संसदीय निर्वाचनमा चुनाव जितेर कान्छो सांसद बनेका शेरधन राई प्रदेश १ को पहिलो मुख्यमन्त्री हुन्। दोस्रो संविधानसभामा पनि संसद बनेका राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे। त्यसै बेला उनले पहिलोपटक सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका थिए।

भोजपुरबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा रहेका राई सर्वसम्मत हुन सकेका छैनन्। एकमात्र संघीय निर्वाचन क्षेत्र रहेको भोजपुरमा राईसहित पूर्व संस्कृति पर्यटन मन्त्री तथा एमाले प्रदेश कमिटी सदस्य कृपासुर शेर्पाको नाम सिफारिस भएको छ।

समानुपातिकतर्फ पासाङदोर्ची शेर्पा र शशी रोक्काको नाम सिफारिस गरिएको एमाले भोजपुरले जनाएको छ।

प्रदेशसभा निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गरेको छ। हरि बहादुर राई, देवीराम चौलागाई, प्रकाश पौडेल, प्रशुराम अधिकारी, योगेन्द्र खत्री र  रोशन बस्तेतको नाम सिफारिस गरेको छ। समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस गरेको छ।

त्यस्तै प्रदेश (ख) प्रत्यक्षतर्फ खड्ग बहादुर कार्की, तीर्थकुमार राई, ध्यान बहादुर राउत, पर्शुराम अधिकारी, पारुहाङ राई, राजनकुमार श्रेष्ठ र सृजना राईसहित सात जनाको नाम सिफारिस गरिएको छ। समानुपातिकमा ९ जनाको नाम सिफारिस भएको छ।

२०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका भीम आचार्य नेकपा विभाजनको फाइदा उठाउँदै प्रदेशको मुख्यमन्त्री भए। तत्कालीन नेकपा विभाजनसँगै एमाले पनि विभाजन हुँदा माधवकुमार नेपाल निकट मानिएका आचार्य मुख्यमन्त्री बन्ने भएपछि नेकपा एमालेमै बसेका थिए।

शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिएर आचार्यलाई दलको नेता बनाएछि आचार्य मुख्यमन्त्री बन्न सफल भएका थिए। आचार्यले २०७१ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन्। नेकपा एमालेको १० औँ महाधिवेशनमा सचिवमा पराजित भएका आचार्य हाल एमालेको स्थायी कमिटी सदस्य र पर्यटन विभाग प्रमुख छन्।

आचार्य यो पटकको निर्वाचनमा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने लाइनमा छन्। एमालेले सुनसरी क्षेत्र नम्बर २ बाट आचार्यसहित संविधानसभा सदस्य रेवतीरमण भण्डारी, पूर्व एमाले जिल्ला अध्यक्ष खेमराज पोखरेल, रामप्रसाद चौलागाईं र डम्बर सुवेदीको नाम प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सिफारिस गरेको छ।

एमाले सुनसरीको जिल्ला अध्यक्षसमेत रहेका भण्डारी २०६४  को निर्वाचनमा विजयकुमार गच्छदारसँग पराजित भएका थिए। उनी २०७० को निर्वाचनमा भने विजयी भए। उम्मेदवारका लागि चार पाँच जनाको नाम सिफारिस भए पनि आचार्य वा भण्डारीमध्ये एकले टिकट पाउने एमाले स्रोतले बताएको छ।

प्रकाशित मिति: : 2022-09-09 12:40:00

प्रतिकृया दिनुहोस्