बुटवलको अलपत्र सडकः एकतर्फी बनाएर ठेकेदार सम्पर्कविहीन, यात्रुलाई सास्ती

वर्षौँसम्म निर्माण कार्य अलपत्र रहेको बुटवलको मुख्य सडक एकतर्फी बनाएर ठेकेदार सम्पर्कविहीन भएपछि सडक प्रयोगकर्ताहरुलाई सास्ती भएको छ।

सबैभन्दा बढी सवारी साधनको चाप हुने लुम्बिनी बस टर्मिनलदेखि पुष्पलाल पार्कसम्मको करिब ५ मिटर सडक एकतर्फी बनाएर ठेकेदार हिँडेपछि उक्त क्षेत्र अस्तव्यस्त र सवारी साधनको जाम हुन थालेको छ।

बुटवलको राजमार्ग चौराहदेखि चिडियाचौकीसम्मको साढे तिनकिलोमिटर सडक ६ वर्षसम्म अलपत्र हुँदा यही सडक हुँदै दैनिक रुपमा आवतजावत गर्ने हजारौं सवारी साधन र यात्रुहरुले सास्ती भोगिरहेका छन्।

पछिल्लो समय सडक पिच गर्ने भन्दै बुटवल बसपार्कदेखि पुष्पलाल पार्कसम्म पश्चिमतर्फको सडक झण्डै एक महिनादेखि बन्द गरिएको छ।

पूर्वतर्फको सडकमा मात्रै दुईतर्फी चल्ने सवारी साधन सञ्चालन हुँदा सडकमा सवारी साधनको चाप हुने कार्यालय समयमा नपुग्ने, घण्टौंसम्म सवारी साधनको बाक्लो भीड लाग्ने गरेको छ।

गत असार ३० गते ठेक्का अवधि सकिएको निर्माण कम्पनी द कञ्चनजङघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का अवधि थप गर्न केही दिन निर्माण कार्य अगाडि बढाएजस्तो देखाएपनि अहिले निर्माणको काम ठप्प छ।

निर्माणको काम रोकिएको भएपनि पश्चिमतर्फको सडकमा आवतजावत खुल्ला नगर्दा यात्रुहरुले सास्ती भोगिरहेका छन्। एकातर्फ भत्किएर ठूला-ठूला खाडल परेको सडक, अर्कोतर्फ एकतर्फी सडकमा दुईतर्फी सवारीसाधन सञ्चालन हुँदा जाममा पस्नु परेको चालकहरुको गुनासो छ।

‘सडक निर्माणको नाममा कहिले कता कहिले कतापटी गरेर सडकलाई एउटै लेनमा हिँडाउँदा सास्ती हुने गरेको छ। ठेकेदारले काम गर्न अप्ठ्यारो भएर एकातर्फ हिँडने गरी मिलाइएको थियो। उसले काम गर्नै छोडेपछि त दुबैतर्फ खुलाए हुन्थ्यो’, मिलनचोकका कमल पौडेलले भने।

उनले ६ वर्षसम्म सडक अलपत्र राखेको ठेकेदार कम्पनीले सडक निर्माणको नाममा फेरि एक महिनादेखि एकतर्फी सडक बन्द गरेर यात्रुहरुमाथि अन्याय गरेको बताए।

बुटवलको मुख्य बजार क्षेत्रमा एक महिनादेखि एकतर्फी सडक बन्द गरेर निर्माण कार्य अगाडि नबढाउँदा पनि कसैले पहल नगरेको गुनासो गरे। ‘सडक निर्माणको काम अगाडि बढेको छैन भने सडक बन्द गरिएको छ, एकातर्फको सडक बन्द हुँदा सडक अस्तव्यस्त बनेको छ,’ उनले भने।

साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत्र १७ गते ठेक्का सम्झौता गरिएको सडकमा ६ वर्षमा बल्ल ३० प्रतिशत मात्रै काम भएको छ। समयमा काम सम्पन्न नहुँदा सडकमा परेका खाडलमा वर्षाको पानी जम्मा भएर सडक झनै अस्तव्यस्त बनेको छ।

बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म राजमार्ग चौराहदेखि ट्राफिकचोक र तिनाउ पुलसम्म नियमित रुपमा सवारी साधनको जाम हुने गरेको छ।

भत्किएको र अस्तव्यस्त सडकमा सवारी साधनको जामसँगै फितलो ट्राफिक व्यवस्थापन र अव्यवस्थित पार्किङले बुटवलको मुख्य बजार नै कुरुप बन्दै गएको छ।

निर्माण कम्पनीले सबैभन्दा बिग्रिएको बसपार्कदेखि पुष्पलाल पार्कसम्मको सडक भदौको पहिलो साताभित्र कालोपत्रे गर्ने भन्दै सडक आयोजनासँग लिखित सम्झौता गरेको भएपनि दुई दिन काम गरेपछि फेरि रोकिएको छ।

राजमार्ग चौराहदेखि मिलन चोक, अस्पताल लाइन, ट्राफिक चोक, गोलपार्कसम्म नै मुख्य सडकमा ठूला-ठूला खाडल परेका छन्। सर्वसाधारणको दवावपछि निर्माण कम्पनीले बालुवा हालेर खाडल पुरेजस्तै गरेपनि पानी परेपछि जस्ताको तस्तै हुने गरेको छ।

बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजना र निर्माण कम्पनीको लापरवाहीको कारढा बुटवलको व्यस्त बजारको मुख्य सडक अस्तव्यस्त बनेको छ। घाम लाग्दो धुलो उडेर सेतै हुने सवारी साधन र यात्रुहरु पानी पर्नासाथ हिलाम्मे हुने गरेका छन्।

सडकभरी परेका खाडलमा जमेको पानीले पोखरी बन्दा दैनिक चारपाँच वटा सवारी साधन बुटवल बजारभित्रै दुर्घटनामा पर्ने गरेका छन्। प्रहरी नायब उपरिक्षक खाणले भत्किएको सडकका कारण दुईपांग्रे सवारीसाधन दुर्घटना हुने क्रम बढेको बताए।

प्रकाशित मिति: : 2022-09-09 17:33:00

प्रतिकृया दिनुहोस्