भन्छिन्- जाेसँग भेट्याे उसैसँग अनैतिक सम्बन्ध राखेकाे ट्याग लगाइयाे
सांगीतिक कार्यक्रमकाे लागि जापान पुगेकी लाेक तथा दाेहाेरी गायिका अमृता श्रीपालले आयाेजकबाटै यातानामा परेका बताएकी छन्।
जापानको ओसाका कोबे सहरस्थित धौलागिरी दोहोरी साँझमा साङ्गीतिक प्रस्तुति दिन बाेलाएर धन थापाले भाैतिक याताना दिएकाेले तत्काल उद्दारकाे लागि अनुराेध गरेकी छन्।
श्रीपालले राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान, जापनका अध्यक्ष सूर्य खड्कालाई पत्रचार गरेर सुरक्षाकाे माग गरेकी हुन्।
‘यहाँ आएदेखि नै थापाले विभिन्न किसिमका टर्चर दिने गरेका थिए,’ श्रीपालले पत्रमा भनेकी छन्,‘जापान प्रवेशपछि हरेक कार्यक्रममा जाँदा थापालाई उल्टो कमिसन दिनुपर्ने तर आउन/जान यातायातलगायत केही व्यवस्था नगर्ने, जोसँग कार्यक्रममा गयो उसैसँग अनैतिक सम्बन्ध राखेको ट्याग लगाउँदै भौतिक यातना दिने गरेको जानकारी गराउँछु।’
धन थापाले आइतबार (सेप्टेम्बर ११) मा आफूमाथि भाैतिक आक्रमण गरेपछि ज्यान जाेगाउन ओसकाकाे एक घरमा शरण लिएर लुकीछिपी बसिरहेकाे बताएकी छन्।
‘म मानसिक पीडा, सामाजिक इज्जत, साङ्गीतिक करियरमा असर पर्ने साथै चरित्र हत्याको पीडाले अति धेरै पीडित बनेकी छु। उसको स्वार्थ पूरा नहुँदा हिजो ११ सेप्टेम्बरमा पनि भौतिक रूपमा थापाले ममाथि आक्रमण गरेपछि मैले आफ्नो ज्यान जोगाउँदै ओसकामा एक घरमा शरण लिई लुकिछिपी बसिरहेकी छु,’ श्रीपालले पत्रमा भनेकी छन्। श्रीपालले थापाबाट आफू र आफ्नाे परिवारलाई मार्ने धम्की समेत आएकाे समेत उल्लेख गरेकी छिन्।
श्रीपाल सांगीतिक कार्यक्रमकाे लागि गत अगस्ट १३ मा जापान पुगेकी थिइन्। उनकाे भिसा सकिन अझै दुई महिना बाँकी छ। साेही अवधिसम्म बसेर कार्यक्रममा प्रतुति दिने माहाेल मिलाइदिन समेत उनले अनुराेध गरेकी छिन्।
श्रीपालले मदानीमा नेती, स्यानी माया-२, देउरालीलाई भेटी, स्यानीलगायतका गीतमा स्वर दिएकी छिन्।