झिनो मतले हारेका कांग्रेसका यी नेता फेरि उम्मेदवार बन्दै

BreaknLinks
BreaknLinks

सरकारले आगामी मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै दलहरु तीव्र तयारीमा लागेका छन्। कार्यकर्ता भेटघाटदेखि टिकटका लागि सम्भावित उम्मेदवारहरुको दौडधुप बढ्दै गएको छ। राजनीतिक दलहरुले उम्मेदवारको सिफारिस भटाभट गरिरहेका छन्।

२८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा प्रतिनिधिसभाका लागि दलहरुले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। सिफारिसमध्ये एमाले, कांग्रेस र माओवादीबाट ३५ जनाको एकल नाम सिफारिस भएको छ।

प्रदेशबाट अधिकांश अघिल्लो निर्वाचनमा उम्मेदवार बनिसकेका नेताहरु पुनः उम्मेदवार बन्ने लाइनमा छन्। नेपाली कांग्रेसबाट हालका सांसददेखि २०७४ को निर्वाचनमा झिनो मतले पराजित भएका नेताहरु उम्मेदवार बन्न रस्साकस्सी गरिरहेका छन्।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालादेखि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासम्म पराजित भएका थिए। कांग्रेसका डा. सुनिल शर्मा पनि पराजित भएका थिए। यी तीनै नेता यसपटक पनि पुनः उम्मेदवार बन्ने दौडमा छन्।

डा. शेखर कोइराला

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा १४ औँ महाधिवेशनमा सभापतिमा पराजित भएका डा. शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ बाट सिफारिस भएका छन्।

२०७४ को निर्वाचनमा कोइराला सोही क्षेत्रबाट पराजित भएका थिए। उनी नेकपा एमालेका लालबाबु पण्डितसँग ६७५ को मतान्तरले चुनाव हारेका थिए। पण्डितले ३३ हजार ९४१ मत ल्याउँदा कोइरालाले ३३ हजार २६६ मत ल्याएका थिए।

कांग्रेसबाट कोइरालासँगै डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको छ। कोइराला सर्वसम्मत हुन नसकेपछि कसले टिकट पाउँछ भन्ने विषय चासो बनेको छ।

यता एमालेले लालबाबु पण्डितको एकल नाम सिफारिस गरेको छ। कांग्रेसबाट कोइरालाले नै टिकट पाएको खण्डमा फेरि पण्डित र कोइरालाबीच प्रतिस्पर्धा हुने देखिन्छ।

विश्वप्रकाश शर्मा

अघिल्लो निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट पराजित भएका शर्मा सोही क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका छन्। उनी नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए।

कांग्रेसमा बौद्धिक नेताका रुपमा स्थापित २०७४ को निर्वाचनमा झापा १ बाट पराजित भएका थिए। उनी एमाले माओवादीको गठबन्धनका उम्मेदवार राम कार्कीसँग दुई हजार ८६३ मतले चुनाव हारेका थिए। कार्कीले ३६ हजार १७३ मत ल्याएका थिए भने शर्माले ३३ हजार ३१० मत ल्याएका थिए।

यस क्षेत्रबाट एमाले र माओवादीले पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेका छन्। एमालेले संविधानसभा सदस्य रविन कोइरालाको एकल नाम सिफारिस गरेको छ भने माओवादीले अहिलेका संसद राम कार्कीको नाम सिफारिस गरेको छ।

सुनिल शर्मा

शर्मा पेशाले मेडिकल व्यवसायी हुन्। उनलाई कांग्रेसले २०७४ को निर्वाचनमा मोरङ ३ बाट प्रतिनिधिसभाको टिकट दियो। तर उनी पराजित भए। उनै शर्मालाई यसपटक पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ।

२०७४ को निर्वाचनमा उनी एमालेका भानुभक्त ढकालसँग १९०७ मतले पराजित भएका थिए। ढकाल ४२ हजार ४१३ मत ल्याएर विजयी भए। शर्माले ४० हजार ५०६ मत ल्याए।

एमालेले पनि यस क्षेत्रबाट ढकालको एकल नाम सिफारिस गरेको छ। यो क्षेत्रमा पुनः ढकाल र शर्माबीच प्रतिस्पर्धा हुने देखिन्छ।

राप्रपाले मोरङ-३ बाट प्रतिनिधिसभामा नायिका तथा नेतृ रेखा थापालाई सिफारिस गरेको छ। रेखाले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान थालिसकेकी छिन्। उनी दिनहुँ मतदता भेटघाटमा व्यस्त छिन्।

२०७४ मा को कहाँ विजयी?

२८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेस कमजोर सावित भएको थियो। एमाले-माओवादीको वाम गठबन्धनसँग कांग्रेसले अधिकांश क्षेत्रमा पराजय भोग्नुपर्यो।

प्रदेशमा एमाले एक्लैले १५ क्षेत्रमा जितेको थियो। एमालेले झापाका ३ क्षेत्र (२,४,५), मोरङमा १,३,६ नम्बर क्षेत्र, सुनसरी १, इलामका दुईवटै क्षेत्र र एक संघीय निर्वाचन क्षेत्र रहेको ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, धनकुटा, खोटाङ र तेह्रथुममा जितेको थियो।

माओवादीले मोरङ (४,५), झापा १, उदयपुर २, भोजपुर र खोलुखुम्बुमा गरी ६ सिट जितेको थियो। कांग्रेसले सुनसरी (२,३,४), मोरङ २ र उदयपुर १ मा जित्दा राप्रपाले झापा ३ जितेको थियो।

प्रकाशित मिति: : 2022-09-15 18:15:00

प्रतिकृया दिनुहोस्