लुम्बिनी सवारी दुर्घटनाः तीन वर्षमा एक हजार ५६१ जनाको मृत्यु        

लुम्बिनी प्रदेशमा सवारी दुर्घटना न्यूनिकरणका लागि गरिएका प्रयासहरु प्रभावकारी बन्न सकेका छैनन्। प्रदेशमा ट्राफिक प्रहरीले अभियानहरु चलाएको भए पनि त्यसको रिजल्ट सकारात्मक बन्न नसकेको हो।

लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा ३ हजार ४९६ सवारी दुर्घटना हुंदा एक हजार ५६१ जनाको ज्यान गएको छ।

सो अवधिमा दुर्घटनामा परी प्रदेशभर ३ हजार २६० जना गम्भीर घाइते र एक हजार ८३६ जना सामान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

प्रदेशमा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा  महिलाको तुलनामा पुरुषको संख्या ५ गुणा बढी छ। दुर्घटनामा मृत्यु हुने महिलाको संख्या २४४ छ भने पुरुष एक हजार १६८ छन्। यस्तै, १०३ बालक र ४६ बालिकाको दुर्घटनामा मृत्यु भएको तथ्यांक छ। दुर्घटनामा मृत्यु दर भने बर्षेनी बढ्दो छ।

आर्थिक वर्ष २०७६–७७ मा १ हजार १२२ सवारी दुर्घटनामा ४८४ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। त्यस्तै, आर्थिक वर्ष २०७७–७८ मा कुल १ हजार २१२ सवारी दुर्घटनामा ५२७ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७८–७९ मा सवारी दुर्घटनाबाट ५५१ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले डिएसपी मोहन खाँणले बताए।

‘हामीले चलाएको अभियानले दुर्घटना न्युनिकरण गर्ने उद्धेश्य हुन्छ,तर डाटा हेर्दा हामीले गरेको र हामीसंग सहकार्य गरेर नीजि क्षेत्रका क्लव,संघसंस्थाले गरिरहेको कामको परिणाम भनेजस्तो आएन।’उनको भनाइ छ।

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा सबैभन्दा धेरै मानवीय क्षति रुपन्देहीमा हुने गरेको प्रहरीको तथ्याङ्क देखिन्छ। तीन वर्षको यहि अवधिमा रुपन्देहीमा सवारी दुर्घटनाबाट ३५९ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ज्यान गुमाउनेको संख्या सबैभन्दा कम रुकुम जिल्लामा छ। यहाँ तीन वर्षमा सवारी दुर्घटनाका कारण जम्मा १५ जनाको मृत्यु भएको छ।

बाँकेमा विगत तीन आर्थिक वर्षमा सवारी दुर्घटनामा २१३ जनाको मृत्यु भएको छ। यस्तै पश्चिम नवलपरासीमा १३२ जना, कपिलवस्तुमा १८९, बर्दियामा १२१, पाल्पामा ६७ जनाको मृत्यु भएको छ। विगत तीन वर्षमा सवारी दुर्घटनाका कारण गुल्मीमा ६४ जना, अर्घाखाँचीमा ४६ जना, रोल्पामा ४१, प्युठानमा ६२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेशमा तराईका जिल्लाको तुलनामा पहाडी जिल्लामा सवारी दुर्घटनामा कम हुने खाँणले बताए। उनका अनुसार रुपन्देही, बाँके र दाङ जिल्लामा बढी सवारी दुर्घटना भैरहेको छ।

रुपन्देहीमा गत आर्थिक वर्षमा दुर्घटनामा परि ९४ जनाले ज्यान गुमाएका छन्। बिभिन्न १ सय ७२ वटा दुर्घटनामा परि रुपन्देहीमा ९४ जनाले ज्यान गुमाउनु परेको हो। सोही क्रममा जिल्लामा १ सय ७१ जना गम्भिर घाईते र ५९ जना सामान्य घाईते भएका छन्। यो संख्या अघिल्ला वर्षहरुको तुलानामा बढी हो।

तराईमा पैदल यात्रीले जहाँ पायो त्यहीँबाट बाटो काट्ने, चालकको लापरवाही, तीव्र गति जस्ता कारणले सवारी दुर्घटना बढी हुने गरेको छ भने पहाडी इलाकामा साघुरोबाटो, चालकको लापरवाही,तीब्र गति,ओभरलोड,पहिरो खस्ने कच्ची सडक मूल कारण हुन्।  

रुपन्देहीमा भएका १ सय ७२ वटा दुर्घटना मध्ये १ सय ५२ वटा दुर्घटनाहरु तिव्र गतिकै कारण भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-19 15:04:00

प्रतिकृया दिनुहोस्