‘महरा सर! हारेका होइनन्, थाकेका हुन्’

‘अमरसिंह’ अर्थात् कृष्णबहादुर महराले समानुपातिकको सहज यात्रा रोजेका छन्। प्रतिनिधिसभाको उम्मेदवारका लागि रोल्पा र दाङ–१ र २ बाट सिफारिस भएका उनी समानुपातिक सूचीमा थन्किएका हुन्।

चार दशकयता नेपाली राजनीतिको राजमार्गमा हिँडिरहेका महराले अन्ततः समानुपातिक सूचीको पहिलो नम्बर (खस आर्य) रोजेका छन्। त्यसाे त नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष प्लस प्रवक्ता पनि हुन्, उनी।

‘महरा कमरेड माओवादी आन्दोलनभित्रको एउटा नायक हुनुहुन्छ। उहाँ चुनावी मैदानबाट भाग्नुभएको होइन, यसपालि नयाँ पुस्ताका लागि ठाउँ छाड्नुभएको हो,’ उनीनिकट एक पोलिटव्यूरो सदस्यले भने।

पार्टीभित्रको फैलिँदो महत्वपूर्ण (उपाध्यक्ष र प्रवक्ता) भूमिका र माओवादी नेता–कार्यकर्ताको चाहनाअनुसार आफूले समानुपातिक निर्वाचन प्रणाली राेजेकाे महराले जनाएका छन्।

२०४८ मा रोल्पा–२ (तत्कालीन संयुक्त जनमोर्चा), २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट निर्वाचित बने, उनी। २०६३ माघमा गठन भएको अन्तरिम व्यवस्थापिका सदस्य मनोनीत भएकाे माओवादी नेताहरू बताउँछन्। पटकपटक सांसद पदमा विजयी भएका उनी उपप्रधानमन्त्रीसहित सञ्चारमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीदेखि सभामुखसम्म बन्ने भाग्यमानी नेता हुन्।

माओवादीका शीर्ष नेता महराले नेपाली कम्युनिष्ट आन्दोलनमा आजकाे दिनसम्म गर्वलाग्दो भूमिका निभाएको माओवादी केन्द्रका एक पदाधिकारी बताउँछन्।

रोल्पा र दाङबाट पार्टीभित्रका युवा नेताहरूलाई थप स्थान दिएर अविभावक बन्ने उनले बताएका छन्। ‘म पार्टीको महत्वपूर्ण जिम्मेवारीमा छु। रोल्पा र दाङबाट चारपटक चुनाव लडिसकेँ। अनि एकपटक अन्तरिम व्यवस्थापिकामा मनोनित पनि भएँ। अहिले पार्टीभित्र नयाँ–नयाँ साथीहरूले राम्रो भूमिका खेलिरहनुभएको छ। धेरै कुरा के भन्नू, यसपालि चाहीँ समानुपातिकमा बसेँ,’ उपाध्यक्ष महराले बिएल नेपाली सेवासँग भने।

दश वर्षे जनयुद्धदेखि शान्तिकालसम्म माओवादी आन्दाेलनलालाई 'सेफल्याडिङ' गराउन नेता महराको ठूलो भूमिका रहेको माओवादी केन्द्र रोल्पाका एक नेता बताउँछन्।

‘बाहिर एकखालकाे हल्ला छ, त्याे भ्रम मात्रै हाे। महरा सर हार्ने अवस्था देखेर समानुपातिक सूचीमा गएका होइनन्। बरू उनी चुनाव लड्दा–लड्दा थाकेका छन्। पटकपटक संसद, पटकपटक मन्त्री र एकपटक सभामुख बनेर एउटा जीवनमा धेरै कुराहरू भोगे। कैयाैँपटक चुनाव लडे, सबै जितेपनि। त्यसकारण– महरा सर! हारेका होइनन्, थाकेका हुन्,’ उनले भने।

प्रकाशित मिति: : 2022-09-20 07:11:00

प्रतिकृया दिनुहोस्