संरक्षण अभावका कारण डोटीकाे कालारुवा ताल पुरिँदै

Symbolic photo
Symbolic photo

संरक्षणको अभावमा डोटी जिल्लाको बडीकेदार गाउँपालिका– ४ मान्नकापडीमा रहेको कालारुवा ताल पुरिँदै जान थालेको छ।    

परापूर्वकालमा कुन्तामाता भगवतीको बासस्थानका रुपमा रहेको कालारुवा ताल उच्च लेकाली भेगमा भएकाले संरक्षणका लागि अहिलेसम्म कसैको ध्यान नगएको र गाउँपालिकाले पनि संरक्षणका लागि कुनै योजना नबनाउँदा अहिले पुरिँदै जान थालेको हो। पहिले ताल जति सुन्दर देखिन्थ्यो तर  अहिले विस्तारै संरक्षणको अभावमा सङ्कटमा पर्दै गएको स्थानीयवासीको भनाइ छ। 

उच्च लेकाली भेगमा रहेको यो तालमा कसैले महत्व नदिएका कारण ओझेलमा परेको कालारुवा सामुदायिक वनका अध्यक्ष उज्वल धामी बताउँछन्। 

उचित संरक्षण नहुँदा वरपरको  माटो–ढुङ्गा पनि खस्न थालेपछि तालको क्षेत्रफल खुम्चिँदै गएको उनको भनाइ छ। दुई सय वर्ष अघिदेखिको यो ताल बाह्रै महिना कालो रङको देखिने अध्यक्ष धामीले बताए।

पर्यटकको सम्भावना रहेको यो कालारुवा तालको कसैले पनि संरक्षण तथा प्रर्वधनका लागि पहल नगरेका कारण ओझेलमा परेको मान्नकापडीका टेकेन्द्र धामी उल्लेख गरे।  उनी भन्छन्, ‘पहिले ताल ठूलो थियो, पानी जमेको हेर्दा राम्रो लाग्थ्यो, अहिले विस्तारै पुरिँदैछ र तालको आकार पनि घट्दै जान थाल्दा पनि संरक्षण र व्यवस्थित गर्न स्थानीय सरकारको ध्यान गएको छैन।’

कालारुवा ताल संरक्षणका लागि बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयले सडकसँगै व्यवस्थापन कार्य अगाडि बढाउने तयारी गरेको छ। प्राकृतिक ताललाई पुरानै अवस्थामा फर्काउनका लागि  सबै निकायसँग समन्वय गरी योजना बनाउन लागिएको वडाध्यक्ष कर्णबहादुर जेठारा बताउछन्।  

‘ताल संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि आवश्यक बजेट विनियोजन गरेका छौँ’, उनी भन्छन्, ‘पहिलो प्राथमिकता ताल संरक्षण गर्ने र दोस्रो प्राथमिकतामा ताल क्षेत्रसम्म पुग्ने सडक सञ्जाल जोडिने छ।’

ताललाई पुरानै अवस्थामा ल्याइएपछि ताल वरिपरि पर्यटकलाई हिँड्नका लागि बाटो निर्माण, विभिन्न देवताका मूर्ति निर्माणसँगै  कुन्तामाता भगवतीको मन्दिर बनाउने योजना रहेको र सोहीअनुसार कार्य अगाडि बढाइने उनले बताए।

उक्त गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको अध्ययनसँगै पालिकाकाबाट बजेट विनोयोजित गरी संरक्षण तथा प्रर्वधन गरिने समेत गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए।   

‘पहिलो प्राथमिकता यस क्षेत्रमा भएका सबै धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन गर्ने त्यसपछि प्रचारप्रसार गरी समृद्ध बडीकेदार बनाउने योजना रहेको छ,’ उनले भने।

यस क्षेत्रका कालारुवा ताल मेलघटी देऊ, मोहन्याल मन्दिर, चोड्याल मन्दिरलगायत विभिन्न धार्मिक तथा पर्यटकीयस्थल तथा तालहरु संरक्षणको अभावमा ओझेल पर्दै आएका छन्।
 

प्रकाशित मिति: : 2022-09-26 13:43:00

प्रतिकृया दिनुहोस्