कर्णालीका जनताको दुःख राज्यले कहिले देख्छ?

BreaknLinks
BreaknLinks

जब दसैँ र तिहार जस्ता ठूला चाडपर्व नजिकिन्छन्, तब विभिन्न कामको सिलसिलमा सहर पसेका कर्णालीबासी गाउँ फर्किन हतारिन्छन्। आफ्ना आमाबुवा, घरपरिवार, आफ्ना आफन्त र इष्टमित्रसँग भेट्न पाइने भयो भनी जति खुशी हुन्छन् नि हो त्यति नै दुःखी हुन्छन् कर्णालीबासी घर जाँदा। कारण हो, राम्रो यातायातको सुविधा नहुनु।

कर्णालीका जनताका लागि एकमात्र भरपर्दो यातायातको साधन भनेको हवाईजहाज मात्र हो, त्यो पनि नियमित नहुँदा कर्णालीबासीले महान चाड दशैं र तिहार पर्वको बेला घर जान सास्ती पाउने गरेका छन्।

सुन्दा र भन्दा अचम्म लाग्ला तर अचम्म मान्नु पर्दैन, सुर्खेत-जुम्ला २३२ कि.मि कर्णाली राजमार्ग पार गर्न करिब २ दिन लाग्ने गर्छ। सडक बनेको दशकौँ बितिसक्दा पनि अझै कहिँकतै मर्मत सम्भार तथा बाटो स्तराेन्नती गर्ने कार्य भएको छैन। जसले गर्दा बेलाबखत दुर्घटना भएर धेरै जन धनको क्षति हुने गरेको छ।

कर्णाली राजमार्गमा एक चोटी सवार गरेका मान्छेहरूले फेरि यो बाटो प्रयोग गर्न नपरोस् भन्दै यात्रा गरिरहेका हुन्छन्। धेरैले यस राजमार्गलाई मृत्युको बाटो अर्थात् स्वर्गलोकको बाटो भन्ने जस्ता उपनाम पनि दिने/भन्ने गरेका छन्। जे जस्तो भए पनि दुःखी, गरीब कर्णालीबासीहरुले सुख-दुःखका साथ  त्रासपूर्ण यात्रा गरिरहेका छन्।

वर्षभरि कर्णालीमा निजी विमानले आफ्नो मनाेमानी गरेर फाइदा हेरेर सामान ओसारपोसार गरेतापनि दसैँ र तिहारको मुखैमा भने कहिल्यै पनि जहाज कर्णालीमा हुँदैनन्। कर्णालीका जनताको दुःख न त राज्यले देख्छ, न त निजी वायुसेवा कम्पनी सञ्चालकहरुले नै। यिनीहरुले जतिसुकै कर्णालीबासीलाई साथ सहयोग गरेका छौं भनी गुणगान गाएतापनि कर्णालीबासीको पीडा जहाँका त्यहीँ छन्।

दसैँ र तिहारको मुखैमा निजी विमान कम्पनीका जहाज पूर्वतिर जाने गरेको र एउटा भएको नेपाल एयरलाइन्सले पनि दैनिक उडान नगर्दा यस्तो समस्या वर्षौंदेखि कर्णालीबासीले झेल्दै आएका छन्।

कर्णालीका दुर्गम जिल्लाहरूमा सुर्खेतबाट नियमित फ्लाइट कहिल्यै हुँदैन तर अघिपछि नेपालगन्जबाट धेरै फ्लाइट भएतापनि यो समयमा भने अति नै कम १/२ फ्लाइट मात्र हुने गर्छन्। ती भएका फ्लाइटहरुमा पनि उच्च घराना र जो हुनेखाने छन्, उनीहरूले मात्र यात्रा गर्न पाउँछन्। अरूले त 'आकाशको फल आँखा तरी मर' भने जस्तै भएको छ।

सेवा सुविधा नदिने तर भाडा भने डबल लिने गर्छन्, यो समयमा निजी वायुसेवा सञ्चालक कम्पनीहरुले। नेपाल एयरलाइन्सको पनि त्यही हविगत छ। सस्तो, सुर्लभ हुनुपर्ने ठाउँमा झन् धेरै भएर भाडाले आकाश छुन्छ। एकचोटी कर्णालीबासी संघीय राजधानीबाट कर्णालीका विकट आफ्नो जन्मभूमि पुग्न लाग्ने भाडा र दुःखले बरु विदेश घुमेर आउन सजिलो र सस्तो हुने सेवाग्राहीहरू बताउँछन्।

कर्णालीका पहुँचवाला मान्छेले जहाजको टिकट पाउन ठूलाबडा र नेताहरुको पावर लगाउने गर्छन्। सर्वसाधारण कर्णालीबासीहरुका लागि जहाजको टिकट पाउनु भनेको महाभारतको युद्ध जित्नु सरह हो। पहुँचवालाहरुले फोनबाटै टिकटको कालोबजारी गर्छन्। जो-जो आफ्ना आफन्तहरु छन्, उनीहरूलाई मात्र टिकट दिने तीतो यथार्थ सदियौँदेखि चल्दै आएको छ।

यस्तो बेथितिको अन्त्य गर्न आजैबाट हर कर्णालीबासीले आवाज उठाउनु पर्छ। यस्तो समस्या र दुःखका साथै कर्णाली राजमार्गको स्तरउन्नतिमा जतिसक्दो चाँडो पहल गर्नुपर्ने जस्ता कुराहरू उठाउन ढिलो गर्नु हुन्न।

यस्ता बेथितिदेखि मुक्त हुन स्थानीय, प्रदेश र संघीय सरकारले विशेष कदम चाल्न जरुरी देखिन्छ। नेताहरुले चुनाव मुखी मात्र नभएर जतिबेला पनि यस्ता समस्यालाई जरैबाट उखेलेर आजैबाट फाल्न सक्नुपर्छ र कर्णालीबासीले सुखका साथ हाँस्दै, रमाउँदै यात्रा गर्न पाउनुपर्छ।

प्रकाशित मिति: : 2022-09-27 22:00:00

प्रतिकृया दिनुहोस्