रोल्पा प्रदेशसभा ‘ख’मा त्रिपक्षीय भिडन्त

BreaknLinks
BreaknLinks

गठबन्धनमा असन्तुष्टी जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका माओवादी नेता दिपेन्द्र पुन ‘सिजल’ले उम्मेदवारी फिर्ता नलिएपछि रोल्पा ‘ख’मा त्रिपक्षीय भिडन्त हुने भएको छ।

बुधवार उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म पनि नेता पुनले उम्मेदवारी फिर्ता नगरपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गरेको छ। पानीको धारा चुनाव चिन्ह पाएसँगै स्वतन्त्र उम्मेदवार पुन आफ्नो चुनावी तयारीमा जुटेका छन्।

यस्तै, उक्त क्षेत्रबाट गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन र नेकपा (एमाले)बाट प्रदेश सदस्य प्रेम घर्तीले पनि उम्मेदवारी दिएका छन्।

त्रिपक्षीय भिडन्त

१० वटा स्थानीय तह रहेको रोल्पामा ७ वटा माओवादीले जितेको छ भने २ वटा कांग्रेस र एउटामा कांग्रेससँगको गठबन्धनमा एमालेले जितेको छ। १० मध्ये ३ वटा माओवादीले हारेको क्षेत्र प्रदेश सभा ‘ख’मा पर्छन्।

स्थानीय तहमा वडाध्यक्षले पाएको पतको आधारमा हेर्ने हो भने माओवादी केहि अगाडी देखिन्छ। यद्यपि माओवादी गठबन्धनमा भएकाले यो प्रदेशमा माओवादीको आफ्नै चुनाव चिन्ह छैन्।

माओवादी कार्यकर्ताहरूले नयाँ चुनाव चिन्हमा मतदान कति गर्छन् वा गठबन्धनलाई सहयोग गर्छन् त्यो हेर्न बाँकी छ। त्यसैले पनि यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने निश्चित छ।

गठबन्धनलाई कति सहज

नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् भने उनीसँगै गठबन्धनका तर्फबाट प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका प्रभावसाली नेता तथा अघिल्लोपटक वर्षमानसँगै चुनाव लडेका अमरसिंह पुन यसपटक गठबन्धनका उम्मेदवार भएकाले गठबन्धनलाई केहि सहज देखिन्छ। यद्यपि गठबन्धनलाई माओवादी र कांग्रेसको भोटलाई एकात्रित गर्ने चुनौति भने यथावत छ।

प्रतिनिधिसभामा वर्षमान बाहेक गठबन्धनबाट अन्य कुनैको उम्मेदवारी नभएकाले उनलाई केहि सहज देखिएपनि प्रदेश सभा ‘ख’मा यसअघि निर्वाचित सांसद्नै बागी उम्मेदवार भएकाले गठबन्धनलाई धक्का पुग्ने देखिन्छ। यद्यपि गठबन्धनका उम्मेदवार पनि कमजोर नभएकाले यस क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने देखिन्छ।

एमालेलाई मत बढाउने मौका

उक्त क्षेत्रमा मुख्य प्रतिष्पर्धीहरूबीच नै गठबन्धन भएपछि नेता कार्यकर्ताहरूमा असन्तुष्टी बढेको छ। त्यसमा पनि स्वतन्त्र उम्मेदवार समेत रहेको बेलामा गठबन्धनका असन्तुष्ट मतदातालाई फकाउँदै मत बढाउने एमालेको रणनीति देखिन्छ।

त्रिपक्षीय प्रतिष्पर्धामा आफूसँग समान देखिने प्रतिष्पर्धीलाई हराउन भने एमालेले सक्छ कि सक्दैन त्यो भने मत परिणामले नै देखाउने छ।

प्रकाशित मिति: : 2022-10-13 08:45:00

प्रतिकृया दिनुहोस्