मोरङ-३ : भानुभक्त र सुनिलको भिडन्तमा रेखाको इन्ट्री

BreaknLinks
BreaknLinks

मोरङ क्षेत्र नम्बर ३ मा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा छन्। पुरानै प्रतिस्पर्धीको चुनावी भिडन्त रोचक बन्दै गएको बेला रेखा थापाको इन्ट्रीले चुनावलाई अझ रोचक बनाएको छ।

क्षेत्र नम्बर ३ बाट मेडिकल व्यवसायीसमेत रहेका कांग्रेस नेता सुनिल शर्मा र एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको दोस्रो भेटमा राप्रपा नेतृ रेखा थापाले टक्कर दिइरहेकी छिन्।

यो क्षेत्रबाट १९ स्वतन्त्र उम्मेदवारसहित ३३ जना चुनावी प्रतिस्पर्धामा भए पनि ढकाल, शर्मा र थापालाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ।

स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा एमालेका ढकालले सजिलै चुनाव जित्ने देखिएको छ। यो निर्वाचन क्षेत्रमा पर्ने सबै पालिकाको प्रमुखमा एमालेले जितेको छ।

२०७४ को निर्वाचनमा यो क्षेत्रका लागि ढकाल र शर्मा दुवै नयाँ अनुहार थियो। अघिल्लो निर्वाचनमा ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए।

सरकारले मंसिर ४ मा चुनावको मिति ताेकेपछि ढकाल आफ्नो क्षेत्र फर्किएर निरन्तर पार्टीका कार्यकर्ता तथा मतदात भेटघाटमा व्यस्त छन्।

अघिल्लो निर्वाचनको हारको बदला लिन जोडबलका साथ लागेका शर्मालाई यसपटक नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पार्टीको साथ छ। यता, नायिकासमेत रहेकी रेखा थापा पनि चुनाव जित्न कम्मर कसेर लागेकी छन्।

यो क्षेत्रमा पथरीशनिश्चरे नगरपालिकाको (१, २, ३, ४, ७, ८, ९, १०), बेलबारीको (१, २, ३, ४, ८, ९, १०, ११), सुन्दरहरेँचाको (१, ८, ९, १०, ११, १२) र कानेपोखरी गाउँपालिकाको (४, ५, ६ र ७) वडा पर्छ।

प्रकाशित मिति: : 2022-10-14 12:45:00

प्रतिकृया दिनुहोस्