मोरङ २ : गिरिजापुत्री सुजतालाई ऋषिकेशको टक्कर

BreaknLinks
BreaknLinks

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल र कांग्रेस नेतृ सुजता कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ। यो क्षेत्रमा पोखरेल र कोइरालाससहित १३ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराए पनि यी दुई नै मुख्य प्रतिस्पर्धी हुन्।

मोरङ २ तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको क्षेत्र हो। गिरिजाका लागि सुरक्षित क्षेत्र मानिएको यहाँ उनले २०४८, २०५२ र २०५६ सालको निर्वाचनमा लगातार चुनाव जितेका थिए।

कोइरालापछि यो क्षेत्रबाट आमोदप्रसाद उपाध्याय चुनाव लड्दै गए। गिरिजापछि यो क्षेत्रमा उनै उपाध्यायले कांग्रेसको बिडो थाम्दै गए। तर, २०७० मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली मानिएका उपाध्यायलाई हराउँदै एमालेका ऋषिकेश पोखरेलले कांग्रेसको गढ भत्काए।

२०७४ को निर्वाचनमा एमाले माओवादीको बाम गठबन्धनबाट पोखरेल दोस्रो पटक उम्मेदवार बने। उनी नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालसँग पराजित भए। ०७४ मा देशभर बाम गठबन्धनको लहर चलेको बेला मोरङ २ मा चुनाव जितेर मोरङमा कांग्रेसलाई निल हुनबाट जोगाएका रिजाललाई पन्छाउँदै यसपटक देउवाले सुजतालाई टिकट दिएका हुन्।

सुजता कोइराला यो क्षेत्रका लागि नयाँ अनुहार हो। कांग्रेसभित्रकै अर्को समूहले उनलाई ‘टुरिस्ट’ उम्मेदवारको उपमा दिइरहेको छ। कांग्रेसभित्रको आन्तरिक कलहले एमालेलाई फाइदा हुने एमालेजनको विश्वास छ। देउवाले टिकट नदिएकै कारण मिनेन्द्र रिजालको समूह यस क्षेत्रमा रुष्ट छन्।

स्थानीय उम्मेदवार भएकै कारण पनि पोखरेललाई चुनाव जित्न सहज हुने एमाले नेताहरु बताउँछन्। नेकपा एमालेको मोरङ जिल्ला अध्यक्षसमेत रहेका पोखरेल यस क्षेत्रका स्थापित नेताका रुपमा चिनिन्छन्।

प्रदेशसभा (क) बाट एमालेका दानबहादुर कार्की, गठबन्धनबाट माओवादीका गणेश उप्रेतीसहित १२ जनाको उम्मेदवारी रहेको छ। प्रदेशसभा (ख) बाट एमालेका लिलाबल्लभ अधिकारी र कांग्रेसका विनोद कार्कीसहित ९ जना चुनावी मैदानमा छन्।

मोरङ २ मा रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिकासहित पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ५ र ६, कानेपोखरी गाउँपालिकाको १,२ र ३, रंगेली नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडा पर्छ।

२९ वडा रहेको मोरङ २ मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले एक्लैले १६ वडा जितेको छ। कांग्रेसले ११ वडामा जित्दा माओवादीले २ वडामा अध्यक्ष जितेको छ।

वडागत मत विवरणअनुसार एमालेले ३१ हजार २३१ मत ल्याएको छ। यस्तै, कांग्रेसले २८ हजार ६१४, माओवादीले ७ हजार २७१ र जनता समाजवादी पार्टी (जसपा) ले ४ हजार ३४६ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-10-15 11:28:00

प्रतिकृया दिनुहोस्