कम्युनिष्ट सरकार आए बोल्न पाइन्न भन्ने कुरा ओलीले पुष्टी गरे– वर्षमान

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले अघिल्लो निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार आए बोल्न पाइन्न भनेको कुरा केपी शर्मा ओलीले पुष्टी गरेको बताएका छन्।

लोकतान्त्रिक–वाम गठबन्धनले सोमबार रोल्पाको सुलिचौरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन्।

रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका पुनले ओली प्रधानमन्त्री हुँदा मन्त्री र सांसद्को फोन ट्र्याप गर्ने, स्ट्रिङ अपरेशन गर्छु भन्दै धम्की दिने र अन्तिममा जनताको जनप्रतिनिधि बोल्ने संसद् नै भङ्ग गरेर देउवाको भनाईलाई पुष्टी गरेको उल्लेख गरेका छन्।

‘ओली प्रधानमन्त्री भएको सरकारमा म आफैं मन्त्री थिए,’ पुनले भने ‘मन्त्रीहरुलाई नै त्यति धेरै त्रासमा राख्ने प्रधानमन्त्रीले जनतालाई कस्तो शासन गरे तपाईहरुलाई पनि थाहा छ।’ यस्तै, वाम गठबन्धनको बेला प्रचण्ड र ओलीबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति पनि ओलीले पालना नगरेको पुनको भनाई थियो। अहिलेको लोकतान्त्रिक–बाम गठबन्धन मुख्यगरी संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि भएको भन्दै पुनले यहि गठबन्धनले शान्ति प्रक्रियाका बाँकी काम पनि पुरा गर्ने बताएका छन्।

यस्तै, अर्काे प्रशङ्गमा नेता पुनले माओवादी अध्यक्ष प्रचण्डले नै रुखमा भोट हालेको कुरा भनिसकेकाले रोल्पामा पनि कांग्रेस र माओवादीले एकअर्कालाई भोट हाल्न कुनै समस्या नमान्न आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-10-18 09:42:00

प्रतिकृया दिनुहोस्