योगेन्द्र मण्डल एमालेबाट निष्कासित, खतिवडालाई १५ दिने अल्टिमेटम

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको हितविपरीत काम गर्नेहरुलाई नेकपा (एमाले) मोरङले कारबाही गरेको छ।

एमाले मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षता र स्थायी कमिटी सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले कारबाहीको निर्णय गरेको हो। गत असोज ३१ गतेकै बैठकले कारबाहीको निर्णय गरे पनि आइतबार मात्र सार्वजनिक गरिएको छ।

मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यामा स्वतन्त्र उम्मेदवार दिएका योगेन्द्र मण्डल ‘जोगी’लाई पार्टीबाट निष्काशित गरिएको छ। सोही क्षेत्रको प्रदेश ‘१’ बाट उम्मेदवार दिएकी पूर्व प्रदेश संसद बसन्तीदेवी यादवलाई पनि पार्टीबाट निष्काशन गरेको छ। मण्डल र यादव दुवैले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

लामो समयदेखि एमालेबाट उम्मेदवारको आश्वासन पाएका मण्डल एमालेले सो क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गर्दा उम्मेदवार बन्नबाट बञ्चित भएका थिए। मोरङ ५ का प्रतिनिधि र प्रदेशका सबै क्षेत्र जसपाको भागमा परेको छ।

एमाले मोरङका अध्यक्ष पोखरेलकाअनुसार उनीहरुलाई पार्टी विधानको दफा ८० बमोजिम निष्काशन गरिएको हो।

बैठकले जिल्ला सचिव रुपेश खतिवडालाई भने कारबाही नगर्नुपर्ने कारणसहितको जवाफ दिन १५ दिने अल्टिमेटम दिएको पोखरेलले बताए। खतिवडाले दिएको राजीनामा स्वीकृत गर्दै पार्टी विधानको दफा ८० को उपदफा १,२,३,४ बमोजिम अनुशासनको कारबाही गर्नु नपर्ने कारणसहित जवाफ दिन समय दिएको छ।

१५ दिनभित्र चित्तबुझ्दो जवाफ नदिएमा पार्टी विधानअनुसार स्वतः निष्काशन गर्ने बताइएको छ। टिकट वितरणमा असन्तुष्ट हुँदै खतिवडाले गत असोज २२ गते पदबाट राजीनामा दिएका थिए। असोज ३१ गते एमाले मोरङको विस्तारित पदाधिकारी बैठकले खतिवडाको राजीनामा स्वीकृत गरेको थियो। राजीनामा स्वीकृत भएसँगै उनले साधारण सदस्यसमते त्यागेको घोषणा गरेका थिए।

यस्तै टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टीबाट राजीनामा दिएका एमालेका प्रदेश कमिटीका सदस्यहरु रामकुमार बस्नेत र राजकुमार बस्नेतलाई आवश्यक कारबाहीका लागि माथिल्लो कमिटीलाई सिफारिस गरिएको छ। पार्टीविरुद्ध गतिविधि गर्दै राजीनामा दिएकाले आवश्यक कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको एमाले मोरङ जनाएको छ।

प्रकाशित मिति: : 2022-10-24 10:22:00

प्रतिकृया दिनुहोस्