५ वर्ष अगाडिका बाचाहरु पूरा गर्न पनि मैले जित्नुपर्छ: गणेश दुलाल (भिडियोसहित)

उमेश थापा

काठमाडौं

नेकपा एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ 'ख' बाट प्रदेशसभा सांसदका उम्मेदवार हुन्, गणेश दुलाल।

विगत लामो समयदेखि नेकपा एमालेको राजनीति गरेका उनी यसै निर्वाचन क्षेत्रका  प्रदेशसभा सांसद हुन् ।

उनले समाजमा हुने हरेक गतिविधिलाई आफैं नियालेर आफ्नो क्षेत्रको विकासका कामहरू पनि गरेका छन्। शिक्षा, स्वास्थ्य, खेलकुद सँगसँगै बुढाबुढीहरुको लागि पनि पार्क र युवाहरुलाई खेलकुद एकेडेमी बनाउने सोच लिएर अगाडि बढेका छन्।

यिनै विषयवस्तुमा रहेर काठमाडौं क्षेत्र नं. १ 'ख'का उम्मेदवार गणेश दुलालसँग बिएल नेपाली सेवाका उमेश थापाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः

फेरि तपाईंकै उम्मेदवारी किन?

म यो दोस्रो कार्यकालका लागि काठमाडौँ क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट उम्मेदवारी दिइरहेको छु। जनताले फेरि पनि गणेश दुलाललाई किन मत हाल्नुपर्छ भने मैले जनताहरुसँग ५ वर्ष अगाडि गरेका केही बाचाहरु अझै पूरा गर्न बाँकी छ। दीर्घकालीन वा अल्पकालीन योजनाहरु लिएर जनतासमक्ष गएको र जनताले पनि विश्वास गरेर अमूल्य मत दिएर विजय गराएका थिए। मैले पनि त्यो विश्वास घात नगरेको कुरा मैले मात्र नभइ यहाँकै मतदाताहरु बताउँछन्।

मैले अल्पकालीनन योजना जुन बनाएको थिएँ, त्यो सबै ५ वर्षको कार्यकालमा पूरा गरेको छु। दीर्घकालीन केही योजनाहरु बाँकी छन्, केही कामहरु अघि बढेको छ। ती सबै कामलाई सम्पन्न गराउनु छ, यो क्षेत्रलाई समृद्ध बनाउनु छ। काठमाडौँको पनि राजधानी मानिने बानेश्वरलाई काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १ मात्र नभइ देशकै निर्वाचन क्षेत्र १ बनाउनु छ।

यहाँ ७७ वटै जिल्लाका मानिसहरुको बसोबास रहेको छ। यहाँँ पुर्खौँदेखिका लोकल बासिन्दाहरुको पनि बसोबास रहेकाले समग्र जनताहरुको भावनाको प्रतिबिन्दु हुन, समग्र जनताको साझा प्रतिनिधि हुन, जनताहरुको विश्वासलाई घात हुन नदिन र यस्ता पनि जनप्रतिनिधि हुन्छन् भनेर स्पष्ट पार्न मैले फेरि पनि उम्मेदवारी दिएकाे हो।

तपाईंले चुनाव जित्ने आधार के के हुन्?

यो क्षेत्रमा विभिन्न व्यक्तित्वहरुको जमघट हुने गर्दछ। देशभरका विभिन्न जातजातिहरु यहाँ बसोबास गर्छन्। सबै धर्मावलम्बी, मिश्रित बसोबास भएको र यसलाई पहिचान गर्ने आधार, सिंहदरबार, सर्वोच्च अदालतलगायतका ठुल्ठुला सरकारी निकायहरु भएकाे क्षेत्र पनि हाे। यहाँको धर्मको व्यापकता, सम्पदाको व्यपकता रहेकाले यो एउटा महत्तवपूर्ण क्षेत्र हाे। यहाँका जनताहरुले जुन मलाई माया गर्नुभएको छ, त्यो मेरो जितको आधार हो।

तपाईंलाई यहाँका जनताले भोट हाल्छन् भन्ने विश्वास छ?

एकदमै विश्वास छ। किनभने गणेशश दुलाल भनेको याे क्षेत्रको समस्याको समाधान हो, यो क्षेत्रको अप्ठ्यारोको समाधान हो। यो क्षेत्रमा दुःख हुँदा जनतामा मलमपट्टी लगाउने मान्छे हो, सुःखमा हामीसँगै ताली बजाएर नाच्ने पात्र हो र यहाँ भएको व्यापक युवाहरुले गणेश दुलाल ६० वर्षको भएपनि हामी युवाहरुको प्रतिनिधित्व गर्न सक्छ भन्ने छाप मैले छोडेको छु। यहाँका महिलाहरुले मलाई एउटा भाइ वा माइती ठानेको र सबै अभिभावकहरुको प्रतिनिधि म भएकाेले पनि यस क्षेत्रमा मेरो जित सुनिश्चित रहेको छ।

५ वर्षको कार्यकालमा तपाईंले आफ्नो क्षेत्रका लागि के कस्ता कामहरु गर्नुभयो र अब पूरा गर्न के काम बाँकी छन्?

मैले अघि पनि भनेँ, अल्पकालीनन र दीर्घकालीन योजना बनाएको थिएँ, त्याे दीर्घकालीनमा केही महत्वपूर्ण योजना रहेका छन्। यहाँ सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने छ। भूमाफिया वा व्यक्तिहरुले सयौँ सार्वजनिक जग्गाहरु कब्जा गरेर ठुल्ठुल्ला भवन बनाएका छन,  यो रोक्न आवश्यक छ। साथै यहाँका जनताहरुले पनि त्यो रोक्न माग गरिरहेका छन्।

मैले आफ्नो कार्यकालमा स्थानीय तहको समन्वयमा ३१ रोपनीभन्दा बढी सार्वजनिक जग्गाहरु संरक्षण गरेर पार्क निर्माण, ओपन जिम, जेष्ठ नागरिक विश्राम चौतरीलगायतका ठाउँहरु निर्माण गरेको र अब  मैले यो ठाउँमा एउटा स्पोर्ट एकेडेमी स्थापना गर्न खोजेको हुँ। युवा, खेलाडी जो खेल जगतमा अनुशासित रुपमा खेल्न चाहन्छन्, तिनीहरु स्पोर्ट एकेडेमीमार्फत तालिममा जाने मेरो लक्ष्य छ।

यहाँ धेरै रिटायर मानिसहरु बसोबास रहेको छ। ती मानिसहरुलाई लागि हेल्थ क्लबहरुको विकास गर्ने याेजना छ, जसले गर्दा उनीहरु शारीरिक व्यायामहरु र ब्याडमिन्टन कोर्ट निर्माण गर्न सहयाेग पुग्छ। सम्पदाको यो धनी रहेकाे याे क्षेत्रमा सबै सम्पदाको संरक्षण गर्ने, बौद्ध, हिन्दु, क्रिश्चियन धर्म आदिको संरक्षण गर्नेलगायत केही महत्वपूर्ण योजना रहेका छन्। जुन बाग्मती सम्पदामा हामीले करिडोरलाई सम्पन्न गर्न सकेका छैनाैँ, त्यो सम्पन्न गर्ने लक्ष्य छ।

अहिले त विभिन्न दलहरूकाे गठबन्धन पनि छ, तपाईंलाई गठबन्धनसँग लड्न कति डर छ?

मलाई गठबन्धनसँग केही डर छैन। किनभने यस क्षेत्रका जनतासँग मेरो गठबन्धन रहेको छ। त्यसैले त्यो मलाई पराजित गर्ने यहाँ कुनै गठबन्धन रहेको छैन। मेरो प्रतिस्पर्धी पार्टी भनेकै नेपाली काँग्रेस हो। काँग्रेसले यहाँ आफ्नै अस्तित्व जोगाउन नसक्ने पार्टीसँग गठबन्धन गरेको छ, तर त्यो गठबन्धनभन्दा बलियो गठबन्धन मेरो यस क्षेत्रका जनतासँग रहेको छ।

त्यसो भए तपाईं यहाँका जनतासँग निकै घनिष्ठ हुनुहुन्छ?

त्यो तपाईंले मलाई मात्र नभइ यहाँकै जनतालाई सोध्नुस्, किनभने गणेश दुलाल भनेको हाम्रो समस्याको समाधान हो भन्ने मैले छाप छोडेको छु। यहाँका युवा, रिटायर कर्मचारी, पुर्खौंदेखि बसोबास गरेका स्थानीयहरुले मलाई समर्थन गर्नुभएको छ।

यहाँका ५१ प्रतिशत मतदातामा नाम भएका महिलाहरुको पनि व्यापक समर्थन मलाई नै छ। मैले एउटा तिज कार्यक्रममा दिदीबहिनीहरुलाई नमस्ते गर्न बोलाएँ भने हजारौँ दिदीबहिनीहरू सामेल हुनुहुन्छ। यहाँँ थुप्रै तराईबासीहरुको बसोबास छ र छठ पर्वमा गणेश दुलाल समस्याको समाधान भएर निस्किछन् भन्ने उनीहरुमा छ।

के तपाईंका अपूरा कामहरु पूरा हुन पाउँछन्?

अवश्य पूरा हुन पाउँछ, म यहाँका जनताहरुलाई आश्वस्त पार्न चाहान्छु। तपाईंहरुले अब मलाई ५ वर्षका लागि प्रदेश सांसदको हैसियतमा मलाई निर्वाचित गर्नुभयाे भने सबै सम्भव हुन्छ। यहाँ सुकुम्बासीहरुको बसोबास रहेको छ। यो ५ वर्षमा एउटा भूमि ऐन निर्माण गरेर यिनीहरुको उचित व्यवस्थापन गर्ने, स्थायी समाधान गर्ने हामीसँग स्पष्ट मार्गचित्र छ। ती मतदाताहरुले मलाई सपोर्ट गरिरहनुभएको छ।

नेपालका अन्य ठाउँबाट मानिसहरु आउँदा कम्तिमा बाग्मती कोरिडोरमा जाऊँ जाऊँ हुने बनाउनेछाैँ। त्यो धार्मिक वा पर्यटक स्थल हो भन्ने आभास गराउनुछु। स्वास्थ्य, शिक्षाका बारेमा यहाँ निजामती कर्मचारी अस्पताल वा निजी अस्पतालहरु छन् तर निजामती अस्पतालमा यहाँका स्थानीय मतदाता, बासिन्दाहरुलाई निजामती सरह सुविधा दिनुपर्छ भन्ने मेरो माग छ। यहाँका प्रशासनले पनि हामीलाई कम्तिमा पनि केही छुट दिने भनेर प्रतिबद्धता दिइसकेको छ। म जनताहरुलाई पनि त्यसमा संलग्न गराउन चाहान्छु।

साथै यहाँ एउटा लाइन्स क्लबद्वारा सञ्चालित एउटा आँखा अस्पताल छ। यो क्षेत्रका जनताहरुलाई आँखा उपचारमा सहुलियत दिने र त्यहाँको भौतिक संरचना निर्माण गर्दै जाँदा त्यहाँ चाहिने प्राविधिक उपकरण्हरु, अन्य उपकरण्हरु खरिद गर्दै आर्थिक सहयोग गरेको अवस्थामा मेरो सम्झौता चरणमा पुगेको छ।

यहाँका जनताहरुलाई आँखाको उपचारमा सहुलियत प्रदान गर्ने र हामीले काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित एउटा स्वास्थ्य क्लिनिक छ, त्यो क्लिनिक अझै सुविधासम्पनन बनाउने याेजना छ। यहाँ रहेका सार्वजनिक जग्गाहरुमा पार्क बनाउने, ओपन जिम बनाउने, जेष्ठनागरिकहरुलाई विश्राम चौतरी बनाउने र जेष्ठनागरिकका नागरिकलाई दिव्य सेवाकेन्द्र बनाउने, दिनभरि भोजन योगहरु गराउने र समस्या परेमा संरक्षण गर्ने, महिला उद्यमशीलता बढाउने लक्ष्य पनि छ। त्यसैगरी सानो व्यवसाय गर्नेलाई बिनाधितो ३ प्रतिशत ब्याजमा बैंकमार्फत कर्जा दिएर महिला उद्यमशीलता बढाउने याेजना छ।

तपाईंले शिक्षा क्षेत्रको लागि के कस्ता काम गर्नुभयाे र गर्न बाँकी के छन्?

यहाँ २ ओटा सामुदायिक विघालय रहेका छन्। अहिले क्लासमै प्राविधिक साधनहरुबाट पढाउने वा कम्युटरको व्यवस्थापन गर्ने, आधुनिक कुराहरु व्यवस्थापन गर्याैँ तर त्यहाँ गुणस्तरीय शिक्षा रहेको छैन। ती विद्यालयहरुमा गरीबका छोराछोरीहरु पढाउने र विषयगत शिक्षकहरुको अभाव रहेको छ। यी विद्यालयहरुले केही शुल्क लिइरहेका छन् तर अब त्यो शुल्क पनि नलिने वा निःशुल्क पढाउने भन्ने वातावरण निर्माण गराउने लक्ष्य छ।

यहाँ ४१ वटाभन्दा बढी विद्यालय वा कलेज छन् तर यी विद्यालयहरूमा गरीब  परिवारका छोराछोरी पढाउन सक्दैनन्। एउटा कलेज पढ्न झन्डै वार्षिक २ लाखभन्दा बढी पर्छ तर यो रकम यहाँका जनताले बेर्होन सक्दैनन्। त्यहाँ एउटा जेहेन्दार वा गरीब बालबालिकाका लागि राज्यले पनि १० प्रतिशत छात्रावृत्ति बढाउनुपर्छ भन्ने छ तर अहिले पहुँचको आधारमा पढाइरहेको हामी देख्छौँ। तर यसका लागि हामीले एउटा समिति बनाएर गरीबका छोराछोरीलाई उच्च शिक्षा हासिल गराउने वातावरण र्सिजना गराउने छाैँ।

त्यसो भए तपाईंले जितेपछि अब यहाँका स्थानीयहरुले निःशुल्क रुपमा पढ्न पाउने छन्?

सबैले होइन। जो आर्थिक रुपमा कमजोर र उच्च शिक्षा हासिल गर्न चाहन्छन्,उनीहरूका लागि हाे। खासगरी हामी केही कोटाहरु स्थापना गर्ने याेजनामा छाैँ। अहिलेपनि हामीले त्यस्तालाई यस क्षेत्रका निजी कलेजहरुमा केही राहत दिएको छाैँ, तर हामीले त्यसलाई सिस्टमअनुसार लैजान्छाैँ।

सामुदायिक विद्यालयलाई नै माथि पुर्याउँदा राम्रो होला नि?

यहाँ रहेका सामुदायिक विद्यालयहरुको भौतिक संरचना हामीले चाहिने जति बनाएका छौँ। अझै बनाउन केही बाँकी रहेका छन्, त्यो सम्पन्न गराउँछौँ। बोर्डिङमा जसरी पढ्न पाएमा किन बोर्डिङमा जानुपर्याे? त्यसकारण गुणस्तरीय शिक्षा निर्माण गराउन, शिक्षकहरुलाई तालिम दिन, विद्यार्थीहरुलाई उत्साहित गराउन, विषय विज्ञहरुबाट जानकारी गराएर अघि बढाउने तयारी छ।

त्यसैले गुणस्तरीय शिक्षामै अब हामीले बढी ध्यान दिनुपर्छ। काठमाडौँ महानगरपालिकाभित्र गरीब परिवारले 'फि'मा एफोट गर्न सक्दैनन्, उनीहरूका लागि सामुदायिक विद्यालयमाफर्त गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य हो।

तपाईंको क्षेत्रमा केही स्वास्थ्य चौकी छन्, त्यसमा कहिले सुधार आउँछ?

यो स्वास्थ्य चौकीभन्दा मेरो निर्वाचन क्षेत्रमा एउटा सामुदायिक वाचनालय, त्यसको भौतिक संरचनामा हामीले प्रशस्त सहयोग गरेका छौँ। अझै पनि बाँकी छ, तर स्वास्थ्य चौकीमा धेरै नै सुधार र राम्रो छ।

अन्त्यमा तपाईंको क्षेत्रका स्थानीय बासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ?

मेलै भनिसकेँ, म जनतको शासक होइन, म सेवक हो। त्यसलै मलाई फेरि एकपटक यहाँका मतदाताहरुले जिताएर अपूरा कामहरु पूरा गर्न दिनुहुन्छ भन्नेमा विश्वस्त छु।

प्रकाशित मिति: : 2022-10-31 22:10:00

प्रतिकृया दिनुहोस्