डिएनए मिले पनि निहारिकाकाे बच्चा मेराे हाेइन, न्यायाधीशकाे खुट्टा ढाेग्छु, फेरि टेष्ट गर्छु : शिवराज

‘कुमारी आमा’ भनेर चिनिने निहारिका राजपूत अर्थात् सोनालीकुमारी सिंहले आफूमाथि भएको बलात्कार र त्यसपश्चात जन्मिएकाे बच्चाको डिएनए टेष्ट तथा आरोपीलाई कारबाहीकाे माग गर्दै वसन्तपुरदेखि सर्वोच्च अदालत, राष्ट्रपति भवनसम्म बिद्राेह गरिन्।

आफूलाई शिवराज श्रेष्ठले जबरजस्तीकरणी गरी गर्भवती बनाएर बिचल्ली पारेको आरोप लगाउँदै निहारिकाले दिएको जाहेरीका आधारमा जिल्ला अदालत धनुषामा दर्ता भएको मुद्दामा अदालतले जबरजस्तीकरणी होइन भनेर फैसला गरेको  थियो। अदालतले राजी/खुसीमा नै शिवराजसँग सम्बन्ध स्थापित भएको र उनलाई पति भनेकै कारण जबरजस्तीकरणी नभएको फैसला गरेको थियो।

तर, अदालतको उक्त फैसला निहारिकालाई चित्त नबुझेपछि जनकपुर उच्च अदालतमा पुनरावेदन दिएकी थिइन्। उच्च अदालतमा पुनरावेदन गरेसँगै निहारिकाले बच्चाको डिएनए टेष्टको माग गर्दै अनशन बसिन् र ठाउँ–ठाउँमा प्रर्दशनसमेत गरिन्। तर, धनुषा अदालत जिल्ला अदालतमा माग दाबी दिँदा भने डिएनएको माग गरिएको थिएन।

यसक्रममा शिवराजले गत भदौ २६ गते धनुषाबाट काठमाडौं आएर डिएनए टेष्टकाे लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा रगतको नमुना पनि दिएका थिए।

०७६ माघमा ‘नारी अस्मिताको रक्षा गरी पाऊँ’ र उक्त वर्षकौ फागुन ११ गते ‘हक अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यलय धनुषामा निहारिकाको नामबाट निवेदन परेको थियो। तर, डिएनए रिपोर्ट नआएकाले निहारिकाको मुद्दामा पेसी चढ्न सकेको थिएन।

गत शुक्रबार निहारिकाले प्रधानमन्त्री निवास बालुवाटारअघि आफ्नाे सल (बर्काे) फ्याँक्दै प्रर्दशन गरेको केही घण्टाभित्रै विधि विज्ञान प्रयोगशालाले जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९ प्रतिशत मिलेको निहारिकाकी वकील रिंकु यादवले बताएकी थिइन्। यससँगै उच्च अदालत जनकपुरका रजिष्टार खड्कराज अधिकारीले पनि डिएनए मिलेको पुष्टि गरेका थिए।

जिल्ला प्रहरी, सरकारी वकील हुँदै उच्चअदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको थियो। हाल शिवराज साधारण तारिखमा छन्। उनको कात्तिक २५ गते तारिख रहेको छ।

शिवराजले भने उक्त बच्चा आफ्नाे मान्ने पक्षमा छैनन्। आफूहरुको सम्बन्ध रहे पनि निहारिकाको साथमा भएको बच्चा आफ्नाे नभएको उनको अडान रहेको छ। शिवराज निहारिकाको साथमा भएको बच्चा कुनै पनि हालतमा स्वीकार नगर्ने बताए।

‘डिएनए रिपोर्ट म्याच भयो भन्दा म नै छक्क परेको छु। निहारिकाको मसँग मात्र होइन अरुसँग पनि सम्बन्ध थियो,’ उनले भने,‘हामीबीच झगडा भएको एक महिना भएको थियो। निहारिका काठमाडौँ गइसमेकी थिइन्। एक्कासी उनले म प्रेगनेन्ट छु भनेर कल गरिन्। त्यतिबेला म जनकपुरमै थिएँ। म आफैँ काठमाडौँको अस्पतालमा गएर चेक गराएँ तर उसको नौ हप्ता गर्भ थियो। हामीबीच सम्बन्ध भएको एक महिना भएको थियो। त्यसकारण डिएनए टेष्टको लागि तयार भएको थिएँ तर रिपोर्ट ९९.९९ प्रतिशत म्याच (मिल्याे) भएको भन्दा छक्क परेको छुँ।’

शिवराज अदालतले डिएन टेष्टकै आधारमा आफूलाई बलात्कारी तथा बच्चाको बाबु हो भनेर ठहर गरेमा पुन: डिएनए टेष्ट माग गर्ने बताउँछन्।

‘म शतप्रतिशत विश्वस्त छु, बच्चा मेरो होइन भनेर,’ उनी भन्छन्, ‘म अझै मान्दिनँ बच्चा मेरो हो भनेर तर म पनि न्यायाधीशलाई हात जोडेर हुन्छ कि खुट्टा ढोगेर भए पनि पुन: डिएनए टेष्टको लागि माग गर्छु। बरु आफैँ खर्च गर्न तयार छु।’

यस्तै निहारिकाले वकील र अदालतले पुष्टी नगर्दै फेसबुक लाइभमा आएर डिएनए टेष्ट रिपोर्ट पोजेटिभ आएको भनेर भ्रम फैलाएकाे बताए। ‘निहारिकाले अक्टोबर २९ तारिखका दिन फेसबुककमा लाइभ आएर डिएनए टेष्टको रिपोर्ट पोजेटिभ आएको बताएकी थिइन् तर उसलाई कसरी थाहा भयो ? जबकी यसबारे उसको वकीलले पनि शुक्रबार मात्र रिपोर्ट ९९.९९ प्रतिशत म्याच गरेको भनेको छ। उसले चाहिँ कसरी पहिला नै थाहा पाएर भारतसम्म मिडिया गुर्हान पुगेको छ ?,’ शिवराजले प्रश्न गरे।

निहारिकाले भनेजस्तो बलात्कार ठहर्‍याउनका लागि अदालतलाई डिएनए रिपोर्ट मात्रै पर्याप्त हुँदैन। अन्य प्रमाणहरुले सपोर्ट गर्नुपर्छ। अदालतले बलात्कार नठहर्‍याएर डिएनए रिपोर्टको आधारमा नाता प्रमाणित गरिदिँन सक्छ। नेपालको कानुनअनुसार यदि कुनै पनि महिला र पुरुषले सहमतिमा राखेको सम्बन्धबाट बच्चा जन्मिएमा स्वतः उनीहरू श्रीमान्-श्रीमती हुन्छन्। र, यदि जिल्ला अदालतको फैसलालाई नै सदर गरेर उच्च अदालतले फैसला सुनायो भने शिवराजले सजायबाट उन्मुक्ति पाउनेछन्।

प्रकाशित मिति: : 2022-11-06 17:24:00

प्रतिकृया दिनुहोस्