विजय यात्राः विद्यार्थी राजनीतिदेखि संसदीय निर्वाचनसम्म

विद्यार्थी राजनीतिमा विजयकुमार राई परिचित नाम हो। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा २०६० सालमा स्ववियु सभापति जितेपछि एकाएक उनको परिचय फेरिँदै गयो। नेविसंघको दबदबाको बीचमा पनि उनी स्ववियु सभापति बनेरै छाडे।

स्ववियु सभापति जित्नु विजय र अनेरास्ववियुको निम्ति चानचुने कुरो थिएन। उनले विद्यार्थीको हकहितका लागि थुप्रै काम गरे। क्याम्पसबाट पासआउट भइसकेका विद्यार्थीहरुले पहुँचका भरमा क्याम्पसको होस्टेलका कोठाहरु कब्जा जमाएर बस्ने परिपाटीको अन्त्य विजयले गरिदिए।

उनले पासआउट भएका विद्यार्थीबाट कब्जा गरिएका होस्टेलका कोठाहरू खोसेर अध्ययन गर्दै गरेका विद्यार्थीलाई राख्ने काम गरे। यो कामको सुरुवात गर्दा उनी विपक्षीको आँखाको तारो बने। उनीमाथि पटक-पटक आक्रमणको प्रयास भए। तर, उनले यस्ता गलत प्रवृत्तिको जरैदेखि अन्त्य गरेरै छाडे।

उनको यो कामले वर्षौंदेखि पीडित बन्दै आएका विद्यार्थीहरुलाई ठुलै राहत मिल्यो। यही कामबाट क्याम्पसमा विजयको चर्चा चुलिँदै गयो। उनी पार्टीका शीर्षस्थ नेताहरुको नजरमा पर्न सफल भए। विद्यार्थी राजनीतिमा विजयलाई नचिन्ने सायदै कमै होलान्।

विजयको राजनीतिक यात्रा

२०४० सालदेखि विद्यार्थी राजनीतिमा होमिएका विजय विद्यार्थी राजनीतिमा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य हुँदै शैक्षिक विभाग प्रमुखसमेत बने। यतिमा मात्र उनको यात्रा रोकिएन। उनी नेपाल खेलकुद महासंघका संस्थापक उपाध्यक्षसमेत बने।

एकपछि अर्को राजनीतिक छलाङ मार्दै हिंडेका विजय त्रिविको सिनेटर बने। स्ववियु काउन्सिल संयोजक, विद्यार्थी विशेष जिल्ला कमिटी सदस्यको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरेका छन्। उनले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिवको जिम्मेवारीसमेत निर्वाह गरे।

जेल जीवन

२०६२/०६३ सालको जनआन्दोलनमा विजयकुमार राईले विद्यार्थीको मोर्चा सम्हालेका थिए। आन्दोलनको रापमा होमिएका उनी पटकपटक प्रहरीको गिरफ्तारीमा परे। उनी ३ पटक प्रहरीको गिरफ्तारीमा परेका छन्। ४ महिना त जेल जीवन नै बिताउनु पर्यो।

त्रिवि स्ववियु सभापति हुँदा विद्यार्थीको हकहितका लागि थुप्रै प्रशंसनीय काम गरेका विजयले टियु एकेडेमी क्यालेण्डरको निर्माण गरेका थिए। बुबा दानबहादुर राई र आमा तारादेवी राईको कान्छो छोराका रुपमा २०२७ साल असोज २४ गते विजया दशमीको दिन भोजपुरको टेम्केमैयुङ गाउँपालिका दिल्पामा विजयको जन्म भएको हो।

लाहुरे परिवारमा जन्मिएका विजय हाल धरान–११ स्थित सिर्जना मार्गमा परिवारसहित बस्छन्। उनले भारत, माल्दिभ्स, थाइल्याण्ड, हङकङलगायतको देशको भ्रमणसमेत गरे।

शैक्षिक योग्यता

२०४६ सालमा धरानको महेन्द्र क्याम्पसबाट व्यावस्थापनमा स्नातक गरे। कीर्तिपुर क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र व्यवस्थापनमा एमबिएसम्मको अध्ययन पूरा गरेका छन्। उनले धरान–११ स्थित ज्ञानोदय माविमा केही वर्ष अध्यापनसमेत गरे।

सुनसरीलाई केन्द्रसँग जोड्ने नेता

धरानलाई कम्युनिष्टको उद्गम थलोको रुपमा लिने गरिन्छ। कम्युनिष्ट आन्दोलनको केन्द्रको रुपमा परिचय बनाएको धरानले केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने नेता अहिलेसम्म पाएको छैन।

केन्द्रमा प्रभाव पार्न सक्ने नेता नभएकै कारण धरान विकासमा पछि परेको बेलाबेलामा चर्चा चल्ने गरेको छ। तर, केन्द्रमा प्रभाव जमाउन सक्ने नेताको रुपमा विजयलाई लिने गरिएको छ। उनी लामो समय राजधानीमा बसेर सक्रीय राजनीति गरेका कारण उनीमाथि जनताको भरोसा छ।

धरान कर्मथलो

लामो समय राजधानीमा बसेर राजनीति गरेका विजय करिब ७ वर्ष यता निरन्तर धरानलाई भूगोल मानेर सक्रीय राजनीतिक जीवन बिताइरहेका छन्। अहिले नेकपा एमालेका १ नं. प्रदेश सचिवालय सदस्य छन् भने सुनसरी निर्वाचन क्षेत्र नं. १ (ख) का इञ्चार्ज समेत छन्।

हक्की अनि निडर स्वभावका उनै विजय मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ (ख) मा प्रत्यक्षतर्फका सूर्यध्वजावाहक उम्मेदवार छन्। आसन्न निर्वाचनमा आफू विजयी हुनेमा विजय ढुक्क छन्।

प्रकाशित मिति: : 2022-11-08 19:06:00

प्रतिकृया दिनुहोस्