डोल्पा : गठबन्धन ढुक्क, एमाले विरासत तोड्ने दाउमा, राप्रपा भोट मात्र बढाउने

हिमाली जिल्ला डोल्पामा पनि यतिबेला आम निर्वाचनले माहाेल तताइरहेकाे छ। मंसिर ४ नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन्। हिउँदको कड्याङ्ग्रिदो चिसो दिन प्रतिदिन उकालो लाग्दै गर्दा उम्मेदवारहरुलाई आ-आफ्नो पक्षमा मत माग्न भ्याइनभ्याइ छ।

पुरानै एजेण्डासहित गाउँ-बस्तीमा पुगेका राजनीतिक दलका उम्मेदवारहरुलाई नागरिकहरूले फूलमाला, खादा र अविरले रंग्याएका छन्। भव्य स्वागत गरेको देख्दा लाग्छ, यो चुनाव प्रचारप्रचार नभइ विजय र्‍याली हो।

डोल्पामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छ। प्रतिनिधिसभाका लागि पाँच उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अंगतकुमार बुढा, नेकपा (एकीकृत समाजवादी) बाट धनबहादुर बुढा, नेकपा एमालेबाट गणेश बहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) बाट हर्कबहादुर ठकुल्ला र स्वतन्त्रबाट बीरबहादुर रोकाय चुनावी मैदानमा छन्।

डोल्पामा तीन दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता बुढा तेस्रो जितका लागि चुनावी मैदानमा उत्रिएका छन्। उनलाई डोल्पामा नेकपा एमालेपछि दोस्रो शक्तिमा रहेको काँग्रेस र तेस्रो शक्तिको रुपमा रहेको माओवादी केन्द्रको समर्थन छ। यसकारण पनि बुढालाई आसन्न निर्वाचनका लागि बलियो उम्मेदवार मानिन्छ।

बुढा यसअघि २०७० र २०७४ मा नेकपा एमालेबाट निर्वाचित भएका थिए। २०७४ मा ११ हजार ७ सय ६१ मत ल्याएर विजय भएका थिए। उनका प्रतिद्वन्द्वी काँग्रेसबाट उम्मेदवार बनेका अंगतकुमार बुढाले ३ हजार १ सय ६७ मतमात्र ल्याएका थिए भने कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) बाट हर्कबहादुर ठकुल्लाले २ सय ९९ मत ल्याएका थिए।

बुढाको पूर्ववत राननीति राप्रपाबाट सुरु भएको हो। त्यसपछि नेकपा एमाले हुँदै अहिले एकीकृत समाजवादीमा छन्। उनलाई डोल्पाको राजनीतिमा चतुर खेलाडीको रुपमा चिनिन्छ। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पर्यटन राज्यमन्त्रीसमेत भइसकेका बुढालाई नेकपा एमालेकै नेता-कार्यकर्ताको समर्थन रहेको नेकपा एकीकृत समाजवादीका युवा नेता युवराज थकालीले बताए।

सरल स्वभाव, सहयोगी भावना भएकै कारण डोल्पामा लोकप्रिय नेताको छवि बनाएको उनको भनाइ छ। डोल्पामा कुल २२ हजार ७ सय ७४ जना मतदाता रहेका छन्। आफूलाई नेकपा एमालेबाटै टिकट लिएर लड्न अफरसमेत आएको प्रतिनिधिसभा उम्मेदवार बुढाले बताए।

गठबन्धनबाट लडे जितको ग्यारेन्टी भएकै कारण आफू साझा उम्मेदवार बनेको उनले बताए। गाउँघरमा आफ्नो पक्षमा जनलहर भएकाले कलममा भोट हाल्न जनता आतुर रहेको समेत उनले दाबी गरे। आफूले दुई कार्यकालमा डोल्पाली जनताका लागि थुप्रै काम गरेकाले अबको जितपछि भेरी करिडोरलाई नेपाल-चीन सिमानामा पर्ने मोरिम्ला नेपाल हुँदै भारतको रुपैडिया जोड्ने सडक पहिलो एजेण्डा रहेको समेत बताए।

डोल्पामा काइके, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जितेको छ। यस कारण पनि उपल्लो डोल्पाका यी पालिकाबाट बुढालाई एकलौटी मत खस्ने देखिन्छ। बुढालाई पुरानै विरासत फर्काउन बाधकको रुपमा भने नेकपा एमाले रहेको छ।

जिल्लामा सैद्धान्तिक हिसाबमा अन्य पार्टीभन्दा बलियो रहेको एमालेबाट गणेश बहादुर शाही मैदानमा छन्। शाही ठुलिभेरी नगरपालिकामा एमालेबाट निर्वाचित पूर्वनगर प्रमुखसमेत हुन्। एकीकृत समाजवादी त्यागेर पुनः एमालेमै फर्किएका शाहीलाई प्रवेश गर्ने बित्तिकै एमालेले प्रतिनिधिसभाको टिकट दिएको थियो।

धनबहादुर बुढाले फ्लोर क्रस गरेर गठबन्धनलाई सघाएको भन्दै उनका विरुद्ध लड्न एमाले रोजेको खोजेको उम्मेदवार हुन्, शाही। स्थानीय तह निर्वाचनमा जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमालेले जितेको छ। उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा प्रमुख एमालले जितेको छ। उपल्लो डोल्पाका आठमध्ये पाँचवटा स्थानीय तहमा एमालेको सैद्धान्तिक हिसाबले बलियो भएकै कारणे बुढाको पुरानो विरासत भत्काउने दाउमा छ।

भेगीय राजनीतिलाई मुल एजेण्डा बनाएको एमालेले मध्य र तल्लो डोल्पाका कतिपय जनताको समर्थनसमेत पाएको छ। डोल्पाको राजनीतिक नेतृत्व पञ्चायतदेखि नै प्रायः काइके गाउँपालिकाले नेतृत्व गरिरहेकोको भन्दै अब राजनीति तल्लो भेगमा ल्याउनुपर्ने एमालेका नेता-कार्यकर्ताको अठोट छ।

बुढाको दुई कार्यकालको स्वाद जनताले चाखिसकेकाले अबको नेतृत्व एमालेले गर्ने उम्मेदवार शाहीको दाबी छ। अहिले एमालेको पक्षमा आम डोल्पाली जनता भएको उनको भनाइ छ। आफूले जितेपछि शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, सञ्चारलगायत आधारभूत कुरामा ध्यान दिने उनको भनाइ छ। त्यतिमात्र नभइ यसअघि निवर्तमान सांसद बुढाले एकपटक पनि डोल्पाली जनताको आवाज सदनमा नबोलेकाले अब आफू निर्वाचित भइसकेपछि डोल्पाका हरेक विषय संसदमा गुञ्जिने समेत उनले बताए।

यता राप्रपाबाट अंगतकुमार बुढा पनि चुनावी मैदानमा छन्। डोल्पाली युवा पंतिमा असल नेताको छवि बनाएका बुढाको पनि पूर्ववत राजनीति राप्रपा नै हो। अहिलेसम्म बुढाले चारवटा पार्टी बदलिसकेका छन्। सुरुमा राप्रपा, एमाले हुँदै काँग्रेस प्रवेश गरे। त्यसपछि पुनः राप्रपातिरै लागे। बुढा राप्रपाका केन्द्रीय सदस्य पनि हुन्।

जिल्लामा भष्टाचारविरुद्धका अभियान र जनताको हरेक समस्यालाई एजेण्डा बनाएर आवाज उठाउने नेताको रुपमा समेत चिनिन्छन्। देशका मुख्य पार्टीको रुपमा रहेकाे काँग्रेस, एमाले र माओवादी ठेकेदार र माफियाको कब्जामा रहेको समेत आरोप लगाए। यस कारण जिल्लामा पार्टी पनि भ्रष्टाचारी, असक्षम र ठेकेदारको हातमा परेपछि पार्टी परिवर्तन गर्दै हिँड्न बाध्य भएको प्रष्ट पारे।

जिल्लामा भलै राप्रपाको संगठन कमजोर भएपनि समृद्ध डोल्पाको एजेण्डा भने बलियो रहेको उम्मेदवार बुढाले बताए। आफूले जिते पाँच वर्षभित्र डोल्पाली जनताका आधारभूत समस्या अहोरात्र खटिएर पूरा गर्ने उनको भनाइ छ।

सधैँ ठेकेदारले जितेको डोल्पामा एक पटक गैह्र-ठेकेदार डोल्पा र डोल्पालीको विकासका लागि अहोरात्र खट्ने हुटहुटी भएको आफूलाई जिताउनसमेत आग्रह गरे। यदि नजिते पनि सम्मानजनक जनमत पाए राष्ट्रियसभामा लैजाने आश्वासनसमेत पाएको उनले बताए।

‘डोल्पामा अहिलेसम्म कसैले केही गरेनन्, अब म गरेर देखाउनेछु, भष्टाचार गरेर आर्जेको पैसाले भोट किन्न बाँडिएका पैसा खानुस् तर भोट मलाई दिनुस्’, उम्मेदवार बुढाले अपिल गरे, ‘सधैँ डोल्पाको समग्र विकासका लागि चिन्तन गर्ने व्यक्ति पाइँदैनन्, यसपटक मलाई जिताएर पठाउनुस्, म जनताका हरेक सुख, दुखमा साथ दिनेछु’, उनले भने।

प्रकाशित मिति: : 2022-11-14 15:13:00

प्रतिकृया दिनुहोस्