डोल्पा प्रदेश ‘क’ : गठबन्धन र एमालेमा को बलियो ?

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन केही दिन मात्रै बाँकी हुँदा उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। अन्य जिल्लाहरुमा दैनिकजसो चुनावी आमसभा, भेला, सम्मेलन गरेर मत माग्ने गरेपनि डोल्पामा भने उम्मेदवारहरु जनताको घरदैलोमै पुगेर मत माग्ने गरेका छन्।

निर्वाचन आयोगले राजनीतिक दललाई निश्चित समयावधि तोकेर आमसभा भेला गर्न खुला गरेको एकसाता बितिसक्दा पनि डोल्पामा अहिलेसम्म कुनै पनि पार्टीले आमसभा गरेका छैनन्।

एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको डोल्पामा बाह्र जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रदेशका दुईवटा निर्वाचन क्षेत्रमा मात्रै सात जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। जसमा प्रदेश ‘क’ मा गठबन्धनबाट नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर शाही, नेकपा एमालेबाट जिल्ला कमिटी अध्यक्ष शेरबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नारान बुढा, नेकपा मार्क्सवादी (पुष्पलाल)बाट नन्दबहादुर रोकायबीच प्रतिस्पर्धा हुँदैछ।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बीरबहादुर शाही, नेकपा एमालेबाट धनचन्द्र बैजी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बौद्धसिंह कठायतबीच प्रतिस्पर्धा हुँदैछ।

यस्तो छ प्रदेश ‘क’ मा स्थानीय तहको मतभार

प्रदेश क मा चारवटा स्थानीय तह छन्। जसअन्तर्गत ठुलिभेरी नगरपालिकामा प्रमुख उप-प्रमुख नै काँग्रेसले जितेको छ।काँग्रेसबाट निर्वाचित नगर प्रमुख सुर्वण कुमार बुढाले १ हजार २ सय ८६ मत ल्याएका थिए।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकायले ९४५ मत प्राप्त गरेर पराजित भएका थिए। त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार बिरेन्द्र डाँगीले ७ सय ३३  मत ल्याएका थिए भने एमालेका पूर्णबहादुर डाँगीले ४ सय ९३ मत ल्याएका थिए।

काइके गाउँपालिकामा पनि समाजवादीको नेतृत्व छ। गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीबाट अंगतकुमार राना निर्विरोध निर्वाचित भएका थिए। छार्काताङ्सोङ् गाउँपालिकाको नेतृत्व पनि समाजवादीले गरेको छ।

गाउँपालिकाको प्रमुखमा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका थिए। डोल्पोबुद्ध गाउँपालिकाको प्रमुखमा कार्माछोइवेल गुरुङ स्वतन्त्रबाट ५ सय ३५ मत ल्याएर निर्वाचित भएका थिए भने एकीकृत समाजवादीबाट पेम्मा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भएका थिए। प्रमुख धोर्चे स्वतन्त्रबाट निर्वाचित भएपनि समाजवादी समर्थक हुन्। माओवादी केन्द्रबाट उम्मेदवार बनेका तेम्बा गुरुङले ३ सय २ मत प्राप्त गरेका थिए।

प्रदेश ‘क’ मा को बलियो ?

प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा स्थानीय तहको मतपरिमाणलाई हेर्ने हो भने गठबन्धनका साझा उम्मेदवार दिपेन्द्र बहादुर शाही बलियो देखिन्छन्। उनलाई नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा उम्मेदवार बनेका धनबहादुर बुढाले जिताउने बाचासमेत गरेका छन्।

उपल्लो डोल्पाका तीन स्थानीय तहबाट बुढालाई आउने मत शाहीलाई आयो भने निर्वाचित हुने सम्भावना देखिन्छ। ठुलिभेरी नगरपालिकाबाट साठी प्रतिशत मत पाउने काँग्रेसको दाबी छ। तीन प्रमुख पार्टीको गठबन्धन छ, त्यसैमा पनि स्थानीय तहको मतभार र संघका उम्मेदवारा धनबहादुर बुढाको बाचालाई हेर्ने हो भने आफ्नो जित सुनिश्चित रहेको शाहीले दाबी गरे।

आफू जिल्ला सभापति भइसकेपछि जिल्लाभरी नै संगठन विस्तार गरेकाले मतभार पनि बढ्ने उनको भनाइ छ। त्यसैगरी एमालेका उम्मेदवार शेरबहादुर बुढा पनि बलिया उम्मेदवार मानिन्छन्। जनतामाझ राम्रो छवि बनाएका बुढाले नै प्रदेश ‘क’ मा जित्ने आँकलन गरिन्छ।

बुढालाई गृह क्षेत्र काइके गाउँपालिकाबाट एकलौटी मत आउने एमालेको दाबी छ। काइकेमा मात्रै २ हजार ३ सय ६३ मतदाता छन्। ठुलोभेरीमा गठबन्धन भएपनि ५० प्रतिशत मत एमाललेलाई आउने बताइन्छ। उपल्लो डोल्पाका दुईवटा स्थानीय तहबाट आधा मत ल्याए मात्रै पनि सहजै जितिने एमालले दाबी गरेको छ। जस्तोसुकै गठबन्धन भएपनि एमालेको जित सुनिश्चि भएको उम्मेदवार बुढाले दाबी गरे।

यस निर्वाचन क्षेत्रमा एमाले सैद्धान्तिक हिसाबमा मात्र बलियो नभइ धार्मिक सहिष्णुताको हिसाबले पनि उपल्लो डोल्पाबाट एमालेलाई धेरै मत आउने उनको आँकलन छ। यो क्षेत्रमा बौद्ध धर्मावलम्बीहरुको समेत बाहुल्यता छ। यस निर्वाचन क्षेत्रमा ९ हजार ५ सय ६७ मतदाता छन्।

प्रदेश ‘ख’ मा कडा प्रतिस्पर्धा

प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा पनि चारवटा स्थानीय तह छन्। स्थानीय तहको चुनावलाई हेर्ने हो भने एमाले र माओवादीले दुई दुईवटा स्थानीय तह जितेका छन्। त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख उपप्रमुख नै एमालले जितेको छ। एमालेका जनचन्द्र रोकायले २ हजार १ सय ४ मत ल्याएका थिए भने निकटम प्रतिद्वन्द्वी काँग्रेसका चन्द्रलाल धरालाले १ हजार ५ सय ९६ मत ल्याएका थिए।

काँग्रेसलाई प्राप्त मतलाई आधार मान्ने हो भने त्रिपुरासुन्दरीमा काँग्रेस, एमालेपछि दोस्रो शक्तिको रुपमा रहेको छ। उता माओवादीका उम्मेदवार दिलबहादुर बिष्टले १ हजार ४ सय २२ मत ल्याएका थिए। त्रिपुरासुन्दरीमा माओवादीले पाँच वटा वडासमेत जितेको छ।

शे-फोक्सुण्डो गाउँपालिकामा प्रमुख भने एमालेले जितेको छ। एमालेबाट उम्मेदवार बनेका धावा सुम्डुक निर्विरोध अध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यक्ष पेम्वावाङ्छेन गुरुङले १ हजार १ सय मत ल्याएर स्वतन्त्रबाट निर्वाचित भएका थिए। उनी एमाले समर्थक हुन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पेम्मा डोल्पा गुरुङले २ सय ७६ मत ल्याएका थिए।

त्यसैगरी मुड्केचुला गाउँपालिकामा प्रमुख र उपप्रमुख नै माओवादी केन्द्रले जितेको थियाे। प्रमुखमा दत्तबहादुर शाहीले १ हजार ४ सय चार मत ल्याएका थिए भने। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लंकबहादुर रोकायले १ हजार ३ सय ६७ मत ल्याएका थिए।

मुड्केचुलामा काँग्रेसको संगठन कमजोर छ। संगठन कमजोर भएकाले काँग्रेसले स्थानीय निर्वाचनमा उम्मेदवार उठाएन।त्यसैगरी जगदुल्ला गाउँपालिकामा पनि प्रमुख उप प्रमुखनै माओवादी केन्द्रले जितेको छ। प्रमुखमा नारासिंह रोकायले ७ सय ७० मत ल्याए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत ल्याएका थिए। यहाँ पनि काँग्रेसको संगठन कमजोर छ। यस कारण काँग्रेसले उम्मेदवार नै उठाएन।

स्थानीय तहको मत परिमाणलाई आधार मान्ने हो भने एमाले-माओवादी बराबरी हैसियतामा छन्। तर तीन दलीय गठबन्धन भएकाले उम्मेदवार बीरबहादुर शाहीलाई काँग्रेस र समाजवादीकाे समेत मत आउने भएकाले यस क्षेत्रमा बलियो उम्मेदवार मानिन्छन्।

यसै पनि माओवादी बलियो रहेको यस क्षेत्रमा बलियो पकड भएको काँग्रेस र समाजवादीको मत पाउने भएकाले झण्डै चार/पाँच सय मतान्तरले आफूले जित्ने शाहीको दाबी छ। अहिले गाउँघरमा गठबन्धनको पक्षमा जनलहर उर्लिरहेको उनले बताए।

त्यसैगरी एमालेका उम्मेदवार धनचन्द्र बैजी पनि बलिया उम्मेदवार हुन्। भर्खरैमात्रै राजनीतिमा डेब्यु गरेका उम्मेदवार बैजी आर्थिक हिसाबले पनि मजबुद छन्। स्थानीय तहको निर्वाचनमा माओवादीले जितेको तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकामा झिनो मतले मात्र एमाले पराजित भएको थियो।

त्रिपुरासुन्दरी नगरपालिकामा त एमालेकै नेतृत्व छ। यी सबै आधारलाई हेर्ने हो भने गठनबन्धनलाई एमालेले टक्कर दिने निश्चित भएको छ। गठबन्धनका उम्मेदवार शाहीलाई काँग्रेस र नेकपा एकीकृत समाजवार्दीको समर्थन भएकाले पनि जित्ने सम्भावना प्रवल रहेको माओवादी नेतृत्व बताउँछन्। तर, गठबन्धनबाट धोका भए सैद्धान्तिक हिसाबमा बलियो रहेको एमालेले यस क्षेत्रमा बाजी मार्न सक्ने एमालेका जिल्ला नेतृत्वहरु बताउँछन्।

प्रकाशित मिति: : 2022-11-14 17:22:00

प्रतिकृया दिनुहोस्