राप्रपा र जनमोर्चाको राजनीतिक स्खलन

राप्रपा र जनमोर्चाले संघीयता चाहिँदैन भने पनि प्रदेश सभा छिर्ने हाेडमा छन्

सुदिप बराल

काठमाडौं

कुनै पनि दलको मार्गचित्र उसले अवलम्बन गर्ने नीति, विचार र सिद्धान्तमा आधारित हुन्छ। यदि दलहरु आफ्नो नीति, विचार र सिद्धान्तमा चलेका छन् र बाटो बिराएका छैनन् भने उनीहरुलाई निष्ठावान र आदर्शवादी दल भन्न सकिन्छ।

तर, यदि कुनै दल आफ्नो नीति र सिद्धान्तबाट स्खलित हुन्छ, पथ भ्रष्ट हुन्छ भने त्यसलाई के भन्ने ?

हो, नेपालका अधिकांश दलहरु पथ भ्रष्ट भएका छन्। विचार सिद्धान्तबाट स्खलित हुँदै गएका छन्। तिनीहरुकै प्रतिनिधि हुन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय जनमोर्चा।

संघीयता चाहिँदैन भन्दै राजसंस्था र हिन्दू राष्ट्रको मुद्दा बोकेर हिँडेको राप्रपाले हाल गणतन्त्र र संघीयताको पक्षधर नेकपा (एमाले)सँग साँठगाँठ बढाउँदै छ। अप्राकृतिक गठबन्धन गर्दैछ। आफ्नो घोषणापत्रमा संघीयता चाहिँदैन भन्दै संघीयता खारेजीको मुद्दा बोकेर हिँडेको राप्रपाले प्रदेस सभा सदश्यका लागि समेत उम्मेदवारहरु पठाएको छ। संघीयताको पक्षधर भएको छ।

जनताले केही आशाकाे नजरले हेरेका राप्रपाको नयाँ नेतृत्व पनि पार्टीकाे सिद्धान्त कुल्चेर बाटो छाेडेर हिँडेकाे छ। राप्रपाकाे मुकुण्डाे उत्रिएकाे छ। राप्रपा पहिला पनि अवसरकाे लागि राजनीति गर्ने पार्टी थियाे। अहिले पनि छ। अब जनताको घैटोमा घाम लाग्न जरुरी छ। सत्ता, शक्ति र अवसरका लागि यस्ताे दाेहाेराे चरित्र प्रदर्शन गर्ने पार्टीहरु देशकै लागि घातक हुन। होइन भने आफैंले नचाहेको संघीयताको विरोध गर्दै फेरि त्यही संघीयताको तर् मार्न खाेज्नु राप्रपालाई कुन नैतिकताले दिन्छ ?

बडो आदर्शका कुरा गर्ने राप्रपाको नयाँ नेतृत्व पनि चुनाव जित्नकै लागि विपरीत विचारधारा भएको दलसँग गठजोड गर्नुले पुगेको छ।

तर पनि अध्यक्ष लिङदेन अझै बडो आदर्शका कुरा गर्दैछन्। भन्दैछन सत्ताकाे राजनीति गर्दैनाैँ। सत्ताका लागि अनैतिक साँठगाठ गर्दैनाै‌ँ। तर, हिजो आफैंले ‘चोर’ भनेकासँग चुनावी गठजोड गर्नु चाहिँ अनैतिक साँठगाँठ होइन ? के दुई/चार जना अमुक मान्छेले चुनाव जित्नु नै राप्रपाको नीति हो ?

सत्ताको मह चाट्नका लागि जे पनि गर्ने कुनै बेलाका राजावादी राप्रपा अध्यक्ष कमल थापा सबैतिर बाट हार खाएर उत्तानाे परेपछि अहिले सबै सिद्धान्त सुली चढाएर एमालेबाट चुनाव लड्ने अवस्थामा पुगेका छन्। के अहिलेको राप्रपा नेतृत्वले पनि कमल थापाकै बाटो पछ्याउन लागेको हो ? होइन भने जित्नकै लागि अप्राकृतिक गठबन्धन किन ?

आफ्नो नीति र सिद्धान्तबाट स्खलित हुनेमा राप्रपा मात्र एक्लाे होइन, आफूलाई आदर्शवादी दल मान्ने राष्ट्रिय जनमोर्चा पनि सिद्धान्तबाट स्खलित हुनेमा अग्रपंतिमा छ। सङ्घीयता चाहिँदैन, देश टुक्राउन पाइदैन, संघीयताले देशलाई खोक्रो बनाउँछ भन्ने जनमोर्चाले संघीयताको कट्टर पक्षधर नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस लगायतका दलसँग चुनावी तालमेल गरेको छ। जम्मा दुई सिटको टिकटका लागि जनमोर्चाले आफ्नो पार्टीको सिद्धान्तलाई बली चढाएको छ। त्यो पनि जित्ने हो कि होइन अनिश्चित छ।

सिद्धान्तमा जे भए पनि जनमोर्चा व्यवहारत संघीयताकाे पक्षधर हाे। संघीयता चाहिँदैन भन्दै प्रदेस सभा सदस्यका लागि समेत उम्मेदवारहरु उठाएको छ। जनमोर्चाको संघीयता मोह अहिले मात्र होइन। ०७४ सालको निर्वाचनमा गण्डकी प्रदेशबाट प्रदेश सभामा ३ सिट जितेको थियाे।

संघीयताले नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा अखण्डतामा चोट पुग्ने बताउने जनमोर्चा आफैं अस्थिरता मचाउने कारक बन्यो। जनमोर्चाले नेकपा (एमाले)को सरकार ढालेर काँग्रेसलाई समर्थन गर्याे। आफू सत्तामा नरहे पनि सत्ता र संघीयताकाे स्वाद चाखिरहेकाे छ।

वर्तमान राजनीतिक दलहरुमा नैतिक आदर्श हराउँदै गएको छ। विचारधारामा विपरीत भएता पनि व्यवहारमा सबै दलहरु एकै हुन्। यहाँ कोही लोकतान्त्रिक र कोही वामपन्थी छैनन्। सबैको सिद्धान्त उद्देश्य सत्ता र शक्ति मात्रै हो। सत्ता र शक्तिका लागि गरिने अस्वभाविक गठजोडले वैचारिक संकट निम्त्याएको छ।

राप्रपा र जनमोर्चा मात्र होइन, यहाँ अधिकांश दलहरुले जित्नै पर्ने मनसायले अप्राकृतिक गठबन्धन र तालमेल गरेका छन्। उनीहरुको नीति र सिद्धान्त भनेकै चुनाव जित्नु हो। जनताका मुद्धाले जित्ने भन्दा पनि तालमेल गरेर भोटर बढाउने ध्याउन्नमा छन्।

प्रकाशित मिति: : 2022-11-17 08:15:00

प्रतिकृया दिनुहोस्