जुम्लामा गठबन्धन सम्पूर्ण रुपमा भत्किसकेकाे हुँदा  मेराे जित निश्चित भयाे: रतननाथ याेगी 

जुम्लामा नेकपा एमालेकाे तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका रतननाथ याेगीले केन्द्रका नेताले आफ्नाे स्वार्थकाे लागि गरेकाे गठबन्धन जनताले भत्काइदिएकाे बताएका छन्। सचेत जनताले गठबन्धनको कच्ची धागाे चुडाल्न सकेकै कारण एमालेले चुनाव जित्ने उनकाे दाबी छ।

'गठबन्धन जनस्तरबाट भएकाे थिएन। त्यसैले प्रतिस्पर्धामा एमाले, माओवादी र राप्रपा मात्रै छाैं,' उनले भने, 'अहिले राप्रपाका ज्ञानेन्द्र शाहीले कांग्रेसकाे प्रतिनिधित्व गरिरहनुभएकाे छ।' 

बाहिर गठबन्धन भनिएता पनि कांग्रेसकाे प्रतिनिधित्व राप्रपाकाे उम्मेदवारले गरिदिदा तीनवटा पार्टीहरुबीच हुने प्रतिस्पर्धाकाे लाभ नेकपा एमालेले लिने उनकाे दाबी छ।

माैन अवधि सुरु हुनुअघि बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले जुम्लामा प्रतिस्पर्धीकाे हिसाबले चारजना उम्मेदवार भएपनि तीनवटा पार्टीको मात्रै प्रतिस्पर्धा हुने प्रतिक्रिया दिएका हुन्।

'हेर्दा गठबन्धन जस्ताे देखिएपनि, जाेड्दा मत धेरै भएपनि तीनवटा पार्टी एक्लाएक्लै लडेकाे सिनारियाे छ। त्यसैले हामी जितकाे नजिक पुगेका छाैं,' उनले भने, 'नेकपा एकीकृत समाजवादी एमालेमा समाहित भएपछि हामी एक जबर्जस्त शक्ति बनेर आएकाे छाैं।'

चुनाव प्रचारप्रसारकाे क्रममा जिल्ला भ्रमण गरेका उनले जनताले एमालेकाे मुद्दा प्रष्ट बुझेकाे हुँदा निर्वाचनकाे मत परिणाम आफ्नाे पक्षमा हुने बताए। 

'जनताले नेकपा एमालेकाे राष्ट्रवादी अडान, जनमुखी कार्यक्रम, विकासप्रतिकाे प्रतिबद्धता, सबै बुझेकाे हुनाले मत हामीलाई नै दिनेमा दुईमत छैन,' उनले भने, 'अब जनता सचेत भइसकेका छन्। हामीले जे गर्दा पनि हुन्छ भन्ने केन्द्रकाे मानसिकतालाई जनता आफैले धुजाधुजा पारिदिएका छन्।'

प्रकाशित मिति: : 2022-11-17 21:36:00

प्रतिकृया दिनुहोस्