सामाजिक सञ्जालमा भ्रामक समाचारको आतङ्क, ‘एक्सन’मा साइबर ब्युरो

तस्बिर: सामाजिक सञ्जालमा फैलाइएका भ्रमपूर्ण सामाग्री।
तस्बिर: सामाजिक सञ्जालमा फैलाइएका भ्रमपूर्ण सामाग्री।

निर्वाचन बिथाल्ने गरी सामाजिक सञ्जालमा भ्रामक समाचारहरु फैलाइएकाे पाइएकाे छ।

विभिन्न सञ्चार माध्यमहरुको वाल प्रयोग गरी विभिन्न दलका शीर्ष नेताहरुको नाम र फोटो जोडेर बनाइएका भ्रामक समाचारहरु सामाजिक सञ्जालमा भेटिन थालेका हुन्।

सामाजिक सञ्जालमा भाइरल त्यस्ता सामाग्रीमा दलका शीर्ष नेताले नै आफ्नै दलको उम्मेदवारलाई मतदान नगर्न सर्कुलर जारी गरेको, पार्टी अध्ययक्षले नै विपक्षी दलकाे उम्मेदवारलाई जिताउन गाेप्य निर्देशन दिएकाेलगायत शीर्षक राखेर बनाइएका सामाग्रीहरू भाइरल बनाइएकाे पाइएकाे छ।

मिडियाकाे वाल प्रयाेग गरी फाेटाेसपमार्फत गलत सूचना राखेर मतदातालाई प्रभावित पार्न खाेजिएकाे पाइएकाे छ। त्यस्ता सामाग्रीबाट मतदाता प्रभावित पार्नुका साथै उम्मेदवारविरुद्ध गलत प्रचारप्रसार गरिएपछि नेताहरू नै हैरानीमा परेकाे छन्। त्यस्ता सामाग्रीहरू अहिले सामाजिक सञ्जालमा तिब्र गतिमा फैलिएका छन्।

त्यस्ता सामाग्रीहरु आफ्नाे मिडियाकाे वाल तथा लाेगाे प्रयाेग गरी सामाजिक सञ्जालमा अपवाह फैलाएकाेप्रति सञ्चार गृहहरूले विज्ञप्ति जारी गरी त्यस्ता सामाग्रीकाे पछि नलाग्ने आग्रहसमेत गरेका छन्।

उम्मेदवारकै चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा प्रचार गरिएका त्यस्ता सामाग्रीविरुद्ध नेपाल प्रहरीकाे साइबर ब्युराे र निर्वाचन आयाेगसमेत उजुरी पर्न थालेका छन्।

निर्वाचनकाे माैन अवधिमा फैलाइएका भ्रमक समाचार तथा उम्मेदवारकाे चरित्र हत्या गर्ने गरी फैलाइएकाे सामाग्रीविरुद्ध ठुलाे संख्यामा उजुरीहरू परेकाे नेपाल प्रहरीकाे साइबर ब्युराेका प्रहरी निरीक्षक राजकुमार खड्कीले बताए।

‘माैन अवधिकाे समयमा सामाजिक सञ्जालमा गलत प्रचार गरिएकाे भन्दै ब्युराेमा दुई दर्जन बढी प्रत्यक्ष उजुरीहरू परेका छन्,’ उनले भने,‘हामीले त्यस्ता सामाग्री राखेर सामाजिक सञ्जालमा भ्रम फैलाउनेलाई कारबाही गर्छाैँ, अहिले त्यस्ता सामाग्रहरू कहाँबाट र कसरी फैलिरहेका छन भनेर निगरानी गरिरहेका छाैँ।’

प्रहरी निरीक्षक खड्कीले सामाजिक सञ्जालमा भ्रम फैलाउनेलाई कारबाही गर्नकाे लागि निर्वाचन आयाेग र साेसियल मिडिया कम्पनीहरूसँग समन्वय गरिरहेकाे बताए। यसरी भ्रामक समाचार फैलाउनेलाई विद्युतीय काराेबार ऐनअन्तर्गत कारबाही गरिने उनले बताए।

त्यस्तै राजनीतिक दलनिकट पत्रकार संगठनहरूले त्यस्ता भ्रमात्मक समाचारबाट सचेत रहन आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-11-19 15:05:00

प्रतिकृया दिनुहोस्