सुन लुट्न हनुमानढोकाको प्रहरी टोली नै एकाएक कारखानामा छिरेपछि...(भिडियाेसहित)

शनि शाक्य

काठमाडौं

काठमाडौंको नरदेवीमा भारतीय नागरिकले सञ्चालन गरेको सुन बनाउने कारखानामा कार्तिक २९ गते सादा पोसाकका एक हुल प्रहरी पस्यो।

सादा पोसाकको प्रहरी टोलीकाे कमाण्डरको हातमा पेस्तोल थियो। प्रहरीको टोली त्यहाँ जाँदा २ जना भारतीय नागरिक ग्राहकको सुन पगाल्दै थिए। सुन बनाइरहेको ठाउँमा एक्कासी प्रहरी टोली पुग्दा उनीहरु तर्सिए।

हातमा पेस्तोल बोकेका प्रहरीले उनीहरुलाई झपार्दै भने, ‘यो सुनको बिल खै?’ त्यसपछि पेस्तोल बोकेका प्रहरीले अर्कोलाई आदेश दिए, ‘यो सुन बोक।’ ग्राहकले पगाल्न दिएको सबै सुन प्रहरी आफूले बोकेर बिल लिएर हनुमानढोका आउनु भन्दै त्यहाँबाट निस्किए।

प्रहरीले सुन बोकेर हिँडेपछि कारखानामा काम गर्नेहरुले सुन पगाल्न दिएका पसलेलाई खबर गरे, ‘हुनमानढोकाको प्रहरीले सुन लिएर गयो, बिल लिएर प्रहरी कार्यालयमा सुन लिन आउनु भनेको छ।’

कारखानामा काम गर्ने मान्छेलाई छाडेर सुन मात्र लिनुमा पक्कै पनि केही हुनुपर्छ भन्दै पसलेले उक्त कुरा महानगरीय प्रहरी वृत्त जनसेवालाई खबर गरे। त्यसपछि बल्ल थाहा भयो, सुन लुट्ने प्रहरी नभएर नक्कली प्रहरी रहेछन् भनेर।

त्यसपछि सबैतिर खैलाबैला मच्चियो। प्रहरी परिसर काठमाडौं र जनसेवाको टोलीले उनीहरुको खोजी गर्न थाल्यो। परिसरको टोलीले उनीहरुलाई बुधबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गर्यो।

पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका-७ का २६ वर्षीय सुमन राई, २८ वर्षीय देवीराज राई, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-६ का कुमार विश्वकर्मा, बेगबहादुर विक र धादिङ खनियापानी-४ की मनिला तामाङ रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तो, त्यसमा लाग्ने म्याग्जिन, ६.६२ एमएमको ४ थान गोली, लुटिएको सुन, प्रहरी पोसाक र उनीहरुले प्रयोग गर्ने २ ओटा मोटरसाइकल बरामद गरेको छ।

त्यसैगरी उनीहरुको कोठाबाट प्रहरीले लागुऔषधसमेत बरामद गरेको छ। पक्राउ परेका ५ जनालाई थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बहादुर बोहोराले जानकारी दिए।

लुटेरा समूहले काठमाडौंका अन्य स्थानमा समेत यसरी नै लुट्ने गरेको हुनसक्ने भन्दै एसएसपी बोहोराले उनीहरुबाट कोही पीडित भएको खण्डमा सम्पर्कमा आउन र प्रहरीलाई खबर गर्न समेत आग्रह गरेका छन्। यसरी नक्कली प्रहरी बनेर काठमाडौंमा लुटपाट हुने गरेको घटना पहिलो भने हाेइन।

केही समय यो सिलसिला रोकिएको थियो तर पुरानै शैलीमा फेरि उस्तै घटना दोहोरिन थालेको भन्दै प्रहरीले विगतका घटनालाई हेरेर प्रहरी परिचालन थालेको छ। यद्यपि, पछिल्लो समय काठमाडौंमा हुने अपराधका घटनामा भने कमी आएको प्रहरीले बताएकाे छ।

प्रकाशित मिति: : 2022-11-24 17:11:00

प्रतिकृया दिनुहोस्