ओलीको दूत बनेर 'सुकुम्बासी बस्ती' पुगिन् शान्ता चौधरी

नेकपा (एमाले)की केन्द्रीय सदस्य शान्ता चौधरी एकाबिहानै थापाथलीस्थित सुकुम्बासी बस्ती पुगेकी छन्।

उनी पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको दूत बनेर त्यहाँ गएकी हुन्।

‘अहिले थापाथलीस्थित सुकुम्बासी बस्तीमा आएको छु। धेरैसँग अन्तरक्रिया गरेँ,’ चौधरीले भनिन्। उनका अनुसार थापाथलीका सुकुम्बासीहरूले आफ्नो व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।

उनीहरू भन्छन्, ‘हामीहरू यो बस्ती छाड्न तयार छौं। विकल्पबिना हामीलाई नहटाइयोस्। हुकुम्बासीको नाममा हामी सुकुम्बासीलाई जोडेर सधैँ हाम्रो अपमान गर्ने काम नहोस्। कोही पनि सुकुम्बासी हुकुम्बासीको पक्षमा छैनौं।’

काठमाडाैँ महानगरपालिकाले थापाथलीकाे सुकुम्बासी बस्ती खाली गर्न भन्दै सूचना जारी गरेकाे थियाे। त्यहाँबाट स्थानीयहरू नहट्ने देखिएपछि साेमबार महानगरले प्रहरी परिचालन गरेकाे थियाे।

डाेजरसहित पुगेकाे महानगरकाे टाेली र स्थानीयबीच झडपसमेत भएकाे थियाे। उनीहरूले महानगरका मेयर बालेन शाह र गृहमन्त्रीविरुद्ध चर्को नारावाजी गरेका थिए। त्यसयता थापाथलीका सुकुम्बासीहरू आन्दाेलित छन्।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्बासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका थिए। 

सुकुम्बासीहरूले भने आफूहरूलाई व्यवस्थित बनाएर राख्नु पर्ने बताएका छन्। ‘हामीलाई यो ठाउँबाट हटाउने हो भने हाम्रो लागि व्यवस्थित स्थान खोज्नुपर्छ’, उनीहरू भन्छन्।

प्रकाशित मिति: : 2022-12-02 10:51:00

प्रतिकृया दिनुहोस्