गरिबलाई मारेर सहर रंग्याउँदै 'बालेन्द्र साप'

सुहन श्रेष्ठ

काठमाडाैँ
फाेटाेहरू,  बिएल नेपाली सेवाका लागि  : सुहन श्रेष्ठ
फाेटाेहरू, बिएल नेपाली सेवाका लागि : सुहन श्रेष्ठ

काठमाडौं महानगरले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा 'दुर्लभ ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक' सहरकाे महत्वकांक्षी अभियानलाई समेटेकाे छ।

महानगरले 'नगर सौन्दर्यीकरण'को एजेन्डालाई जाेडताेडले उठाएकाे छ। मेयर बालेन्द्र साहले न्यूरोडदेखि जोरपाटीसम्म एकखालकाे आतंक मच्चाएका छन्। नगर प्रहरीले सडक व्यापारीका 'ठेलागाडा–साइकल' र खुद्रा सामान उठाउँदै हिँडिरहेका छन्।

प्रहरीको हाउभाउ र बोलिचाली हेर्दा ती 'बर्दीधारी मानिस'हरू कुनै साउथ इन्डियन सिनेमाको दृश्यजस्तै लाग्छन्। महानगरकाे प्रतिनिधि बताउँदै उनीहरू टाेले गुण्डाकाे शैलीमा प्रस्तुत हुन्छन्। आम नागरिकलाई हप्काइ–दप्काइ गर्दै ठेलागाडा खुद्रा सामान आफ्नाे ट्रकभित्र हाल्छन्। अनि बागदरबारतिर लाग्छन्।

नगर प्रहरीकाे आचरण देखेर काठमाडाैंका खुद्रा व्यापारीहरू आजित छन्। महानगरसामु काठमाडाैंबासीका कैयाैँ गुनासा छन्।

'हामीहरू गरिखाने मान्छे हाैँ। दिनभरि काम गरेर बेलुकी चुलाे बाल्छाैँ। तर अहिले सकस छ। राम्राेसित सामान बेच्न पनि पाउँदैनाैँ। महानगरले सुन्दर बनाउने नाउमा हाम्राे पेटमा हात हानेकाे छ।हामीहरू दिक्क छाैँ,' नयाँ बानेश्वरमा कपडा व्यापार गर्दैआएकी ३६ वर्षीया महिलाले भनिन्, 'नगर प्रहरी हामीकहाँ आएर यसाे गर, त्यसाे नगर भन्दै धम्क्याउँछन्। एकछिन पनि ग्राहकलाई सामान किन्न दिँदैनन्।' 

खुद्रा व्यापारी मात्रै हाेइन महानगरकाे हर्कत देखेर फरक क्षमता भएका व्यक्तिहरू पनि आजित छन्। उनीहरूले आफू हिँड्ने बाटाे समेत भेटाउँदैनन्। सडकका फुटपाथ अपांगमैत्री नहुँदा हिँड्डुलमा समस्या भएकाे उनीहरू बताउँछन्।

सरकारी जग्गा अतिक्रमण गरेर व्यवसाय सञ्चालन गर्नु 'अवैध–अनैतिक' कार्य हो। तर नगर प्रहरीले गुण्डागर्दी शैलीमा जथाभावी बाेल्दै व्यापारीलाई यातना दिनु अनैतिकताको चरम सीमा पार गर्नु ठान्छन्, सामाजिक अभियन्ता।

काठमाडाैंका सडक व्यापारीमार्फत् महानगरले करोडौं रकम बराबरकाे सामान मुख्यालयमा कुम्ल्याएकाे छ। तर कहाँ राख्छ त्याे भने पत्ताे छैन। 

डोजर र प्रहरीको आडमा सडक व्यापारीको सामान उठाउँदै हिँड्ने ती महानगरका कर्मचारी र प्रहरीहरू चुपचाप छन्। नयाँ बानेश्वरस्थित यातायात कार्यालयकाे बाहिरी पर्खालमा चित्र कोर्दै गरेकाे देख्दा पनि वास्तै नगरी ठेलागाडा र होर्डिंग बोर्ड खाेज्दै हिँड्छन्।

'नगर सौन्दर्यीकरण'काे महाअभियान चलाइरहेका मेयर साहको आदेशमा यतिबेला सार्वजनिक–स्थलमा रंग पोत्ने काम भव्य रुपमा चलिरहेकाे स्थानीयहरू बताउँछन्। यातायात कार्यालय परिसर घेर्ने पर्खालमा रंग दलिएकाे छ।

महानगरकाे रंग पाेत्ने कर्मले उल्टै प्राकृतिक सौन्दर्य घटाएको स्थानीयहरूकाे गुनासाे छ। नयाँ बानेश्वर उपत्यकाकाे सबैभन्दा धेरै चहलपहल भइरहने ठाउँ हाे।

सडक यात्रीहरू धकेलाधकेर गरेर हिँड्छन्। त्यही सडकमा चित्र काेर्न थालेपछि भीडभाड थप बढ्दैछ। मानिसहरू सेल्फि खिच्नका लागि युवा–युवतीहरू जम्मा भइरहेका छन्। टिकटक 'क्रेज'काे उस्तै तमासा छ। सर्वसाधारणहरू फुटपाथ छाडेर मेन राेडबाट हिँड्न बाध्य छन्।

'हामीहरूले बुझ्नै सकेका छैनाैँ। यहाँ के भइरहेकाे छ। गरिब मारेर पर्खाल रंग्याउँदै छ, महानगरपालिका। हिजाेआज मानिसहरू मूल राेडबाट हिँडिरहेका छन्। रोडमा दुर्घटना हुने सम्भावना झन् बढेको छ,' नयाँ बानेश्वर चाेकछेउका एक व्यापारले भने।

काठमाडाैं महानगर र यातायात कार्यालयकाे अनुमति लिएर रंगराेगनकाे काममा जुटेकाे कार्यालय बाहिर रंग पोतिरहेका चित्रकारहरू बताउँछन्। आर्टूडियो र अमेरिकी दूतावाससँग मिलेर भित्ता रंग्याइरहेकाे चित्र कार्ने परियोजनाका क्यूरेटर र आर्टूडियोका संस्थापक कैलाश श्रेष्ठले बताएका छन्।

'हामीले यो परियोजना आर्टूडियो र अमेरिकी दूतावाससँग मिलेर गरेका हौँ। यो परियोजनामा लागेको खर्च सबै दूतावासले बेहोरेको हो र यसकाे स्वीकृति चाहिँ हामीले महानगरसँग लिएका हौँ,' उनले भने।

अमेरिकी दूतावासका एक अधिकारीका अनुसार उक्त परियोजनाका लागि अमेरिकाबाट चर्चित भित्तेचित्र कलाकार 'म्यान वान'लाई नेपाल ल्याइएकाे थियाे।

सन् २०७६ मा कोरोना महामारीको समयमा रत्नपार्कको आकाशे पुलको भित्तामा कोरोनाविरुद्ध लड्ने अग्रपंक्तिका पेशेवरहरूलाई सम्मान गर्दै बनाएको चित्र काठमाडौं महानगरका तत्कालीन मेयर विद्या सुन्दर शाक्यले मेटाएका थिए। त्याे चित्रमा सन्देश र भावना जोडिएको भएपनि मेयर शाक्यले मेटाइ छाडेका थिए। तर मेयर बालेन्द्र उहीँ कार्य दाेहाेर्याउँदै छन्।

मेयर बालेन्द्रकाे पछिल्लाे चर्तिकला देखेर आफू पनि दिक्क भएकाे काठमाडाैं महानगरका एक वडाध्यक्षले बताएका छन्। 

'काठमाडौं मेयरसापको खेल मैदान हो? मन लाग्याे भित्ता काेर्ने, मन लाग्याे डाेजर चलाउँदै सडक फाेर्ने? यी कस्ता खालका मेयर हुन्? त्यो बेला सम्मानका लागि बनाइएको चित्र मेटाउन लगाएको नेपाल सरकारले किन सरकारी सम्पतिको पर्खालमा खुलेआम रंग पोत्न दिइरहेको छ,' ती वडाध्यक्षले भने।

यातायात कार्यालयबाट केही मिटर परकाे एउटा कुनामा शुक्रबार दिउँसाे नगर प्रहरीले सडकछेउका पसलमाथि झुन्ड्याइएका होर्डिंग बोर्ड एक–एक गरी निकाल्दै थियाे। 'नगर सौन्दर्यीकरण' अन्तर्गत पर्ने त्याे महानगरको होर्डिंग बोर्ड जफत गरिरहेकाे ५० फिट उतापट्टी रंग पोत्दै गरेकाे दृश्यले मेयरकाे अभियानलाई उल्टै खिल्ली उडाएकाे छ। 

'बालेन साहको दादागिरीले हद नाघिसक्याे। उसका प्रहरीले पसलको होर्डिंग बोर्ड उठाइरहेका छन्। तर त्यही बालेनका सेनाले सरकारी कार्यालयको भित्तामा खुलेआम फाेहाेर गरिरहेका छन्,' नयाँ बानेश्वर चोकमा पसल थापेर बसेकी अन्जु माया कार्की भन्छिन्, 'मध्य सहरमा रंग पाेत्न थालिएपछि भीडभाड बढेकाे छ। मान्छे हिँड्ने फुटपाथमा तमासा भइरहेकाे छ। यात्रूहरू सडकबाट हिँड्न बाध्य छन्। याे कस्ताे खालकाे मेयर हाे।'

यातायात कार्यालयका सूचना अधिकारी ईश्वर दत्त पनेरुका अनुसार काठमाडाैं महानगर र यातायत कार्यालयबीच समझदारीको विषयमा आफू अनभिज्ञ रहेको बिएल नेपाली सेवालाई बताएका छन्।

'यसबारे मलाई पत्ताे नै भएन। अस्ति (बुधबार) म अफिस आउँदा रंग लगाइरहेको देखेँ। मलाई पनि अचम्म लागेकाे छ। कसले कहाँबाट किन यस्ताे काम गरिरहेकाे छ,' उनले भने।

प्रकाशित मिति: : 2022-12-09 22:10:00

प्रतिकृया दिनुहोस्