कर्णालीकाे इतिहासमा कान्छी सांसद बनेर सदनभित्र छिर्दै विनिता

राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसूचीमा परेकाे जुम्लाकी विनिता कठायत कर्णालीकाे इतिहासमा सबैभन्दा कान्छी सांसदकाे रुपमा सदनमा छिर्दै छिन्। उनी जम्मा २७ वर्षकी भइन्।

यसअघि कर्णाली क्षेत्रबाट यति कम उमेरमा काेही पनि सांसद भएकाे थिएनन्।

प्राय पाका उमेरका सांसद पठाउने कर्णालबाट यतिबेला भने धेरैजसाे युवा प्रतिनिधि चुनिएका छन्। जम्मा २७ वर्षकी विनितालाई राष्ट्रिय स्वतन्त्र पार्टीले पिछडिएको वर्गकाे महिला काेटाबाट सांसद बनाएकाे हाे।

चुनाव अगाडि थाेरै समय मात्रै प्रचारप्रसारमा लागेकी उनी उम्मेदवार भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका लागि जुम्लाबाट झण्डै आठ सय ९९ मत आएकाे थियाे।

आक्रमक चुनाव प्रचारप्रसार र चर्चित पूर्व पत्रकार रवि लामिछानेकाे पार्टीकाे छविका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत पायाे। निर्वाचन आयाेगले रास्वपाले समानुपातिकमा १३ सिट पाउने भएपछि पिछडिएको क्षेत्रबाट एक नम्बरमा नाम परेकी विनिता सांसद बनेकी हुन्।

युवाहरु राजनीतिमा आउँदा देश विकास हुने बताउने उनले बिएल नेपाली सेवासँगकाे कुराकानीमा पार्टीले युवाहरुलाई स्थान दिएर देशकाे राजनीतिमा सकारात्मक सन्देश दिएकाे बताउँछिन्।

'राजनीति समाजसेवा हाे। पुरातन साेच भएकाे नेतृत्वले सम्पत्ति कमाउनुलाई राजनीति सम्झ्याे। विकल्पकाे रुपमा हामी आएका छाैं,' उनले भनिन्, 'हामीले भने अनुसारको राजनीतिलाई स्थापित गर्नका लागि जनताले वैकल्पिक शक्तिलाई लाेकप्रिय मत दिएका छन्।'

उनी यसअघि ग्यालेक्सी फाेके टेलिभिजनकाे बहुचर्चित कार्यक्रम 'सिधा कुरा विथ रवि लामिछाने' टिमकी सदस्य थिइन्। त्यही बीचमा रवि लामिछानेले नयाँ पार्टी गठन गर्ने चर्चा भएपछि युवाहरु राजनीतिमा आउनुपर्ने ध्येयले उनी पार्टीमा लागेकी थिइन्।

समानुपातिक बन्दसूचीमा परेकी विनिताकाे नाम सिफारिस भएपछि समग्र देश विकासका लागि आफ्नाे प्रयत्न हुने बताइन्। उनले भनिन्, 'सबै तहकाे शिक्षा र स्वास्थ्य उपचारको बन्दाेबस्त राज्यको दायित्व बनाउन मेराे प्रयत्न हुनेछ।'

उनका अनुसार देशभर जनताका छाेराछाेरीले राम्राे शिक्षा पाएका छैनन्। कयाैं नागरिकले उपचार पाएका छैनन्। त्यसैले संविधानकाे माैलिक हककाे प्रावधानअनुरुप नि:शुल्क शिक्षा र स्वास्थ्य उपचार हुनुपर्छ।'

दैनिक वैदेशिक राेजगारीमा जाने युवाहरुकाे लहर राेक्न र देश बनाउन राज्यले युवाहरुलाई राेजगारी दिने नीति चाहिने उनकाे राय छ। अब संसदबाट यस्ता खालका नीति पारित गराउन संघर्ष गर्ने उनले बताइन्।

'राष्ट्रिय स्वतन्त्र पार्टी राज्यकाे स्राेत बढाउने नीतिसहित अगाडि आएकाे छ। याे सम्भव बनाएर युवाहरुलाई राेजगारी दिने हाे,' उनले भनिन्, 'राजनीतिमा संलग्न नेताहरु धनी हुने, उनीहरुकाे सात पुस्तासम्म पुग्ने हुने तर देश गरिब हुने नियतिकाे अन्त्य हुनुपर्छ।'

औद्याेगिक विकास, स्थानीय उत्पादन बढाउने प्रविधिबारे ध्यान दियाे भने अर्थतन्त्र आत्मनिर्भरतातिर जाने उनले बताइन्। 'यसले धेरै हदसम्म राेजगारी सृजना समेत हुन्छ। नेतृत्व जनता र देशप्रति इमान्दार भएकाे खण्डमा हामी सम्पन्न बन्न सक्छौं,' उनले भनिन्।

राष्ट्रिय स्वतन्त्र पार्टी देश विकासका लागि राज्यकाे भूमिका बढी हुनुपर्ने, नेपालमा संघीयता उपयुक्त नहुने लगायतका मुद्दा लिएर चुनावी मैदानमा उत्रिएकाे थियाे। साेहीअनुसार जनताले मत दिएपछि जनताका लागि काम गर्नु सबैभन्दा ठूलाे दायित्व भएकाे उनले बताइन्।

प्रकाशित मिति: : 2022-12-11 10:28:00

प्रतिकृया दिनुहोस्