दलको नेता बन्न कांग्रेसमा दौडधुप, मोरङबाटै तीन जना आकांक्षी

प्रदेश १ मा नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ भएको छ। शनिबार निर्वाचन आयोगले प्रदेश प्रमुखसमक्ष प्रदेशसभा निर्वाचनको प्रतिवेदन पेश गरेसँगै सरकार गठनको बाटो खुल्ला भएको हो।

प्रदेशमा दोस्रो ठुलो दल बनेको नेपाली कांग्रेसबाट दलको नेता बन्न रस्साकस्सी सुरु भएको छ। कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ जना सांसद प्राप्त गरेको छ।

कांग्रेसका नेताहरुले आफू निकट सांसदहरुसँग भेटवार्ता सुरु गरेका छन्। २९ सांसदमध्ये कांग्रेसमा संस्थापन पक्षका १२, संस्थापनइतर कोइराला पक्षका ८ र सिटौला पक्षका ९ जना प्रदेश सांसद छन्।

संसदीय दलको नेता बन्ने दौडमा कांग्रेसको संस्थापन पक्षधरबाट तीन र कोइराला पक्षका एक सांसद देखिएका छन्। देउवा सिटौला समूहबाट मोरङका अमृत अर्याल, भीम पराजुली र झापाका उद्धप थापा दलको नेताका आकांक्षी छन्।

कोइराला समूहबाट प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका केदार कार्की दलको नेताको दाबेदार छन्। उनी मोरङ ६(२) बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

कोइराला समूहमा केदार कार्कीसहित रामकुमार खत्री, शमशेर राई, गयानन्द मण्डल, मानबहादुर लिम्बू, इन्दिरा थापा, विनोद राई र गोविन्द गिरी गरी ८ जना संसद रहेका छन्।

यस्तै मोरङ ५(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित अमृत अर्याल देउवा समूहबाट दलको नेता बन्ने दौडमा छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका अर्याल यसपटक पनि प्रतिनिधिसभा सदस्यकै आकांक्षी थिए। तर, उनलाई मुख्यमन्त्री बनाउने शर्तसहित प्रदेशमा ल्याइएको कांग्रेस स्रोतको दाबी छ।

देउवा समूहमा अर्यालसहित हिमाल कार्की, प्रदिपकुमार सुनुवार, सुनिताकुमारी गुरुङ, सदानन्द मण्डल, खगेनसिंह हाङ्गाम, इसाइल मन्सुरी, गोल्मा तामाङ, लीलाकुमारी राई, मैया श्रेष्ठ, सुनिता गच्छदार, र ममता मगर तामाङ गरी १२ सांसद छन्।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली पनि दलको नेता बन्ने दौडमा छन्। मोरङ ४(२)बाट निर्वाचित भएका उनी विराटनगर महानगरपालिकाका पूर्वमेयर हुन्। उनी कृष्णप्रसाद सिटौला समूहका नेता हुन्। आफू दलको नेता बनेर सरकार गठन गर्नु परे राप्रपा पनि सरकारमा सहभागी हुने पराजुलीले दाबी गर्दै आएका छन्।

सिटौला पक्षकै अर्का नेता उद्धव थापा पनि दलको नेता र मुख्यमन्त्रीका दाबेदार मानिएका छन्। नेपाली कांग्रेस प्रदेश–१ का सभापति रहेका थापा समानुपातिक सांसद हुन्। आफू दलको नेता बने सरकारको नेतृत्वसमेत गर्न सक्ने थापाको दाबी छ। सिटौला समूहमा पराजुली र थापासहित भूमिप्रसाद राजवंशी, भूपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्वा, लेखीकुमारी गणेश र गोपाल तामाङ गरी ९ सांसद छन्।

प्रकाशित मिति: : 2022-12-18 14:00:00

प्रतिकृया दिनुहोस्