महानगर प्रहरी प्रमुखले बालेनलाई सिध्याउने काम गरेका छन्: लाेकनाथ चुडाल (भिडियाे)

उमेश थापा

काठमाडौं

काठमाडाैँ महागरपालिका प्रमुखमा बालेन्द्र साह निर्वाचित भएपछि धेरै कुरामा परिवर्तन भयाे। जसमध्ये सबैभन्दा चर्चामा छ, फुटपाथ व्यवस्थापन। यही फुटपाथ व्यवस्थापनकाे अग्रपङ्तिमा छन्, महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डे।

फुटपाथ व्यवस्थापनमा मेयर बालेन्द्र साहकाे दाहिने हात बनेर काम गरिरहेका यिनै एसपी पाण्डेमाथि अहिले गम्भीर आराेप लागेकाे छ। एसपी पाण्डेले महिला सहकर्मीलाई दुर्व्यवहार गरेकाे, आफूभन्दा तल्लाे तहका प्रहरीलाई गालीगालाैज गरेकाे, महानगरका स्थानीयसँग पैसा खाएर गम्भीर घटना पनि लुकाउन खाेजेकाे एसपी पाण्डेमाथि आराेप छ। यसरी एसपी पाण्डेले कर्मचारीमाथि गरेका अभद्र व्यवहारकाे खुलासा गरेका महानगरका पूर्व सई लाेकनाथ चुडालसँग बिएल नेपाली सेवाकाे लागि उमेश थापाले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत:


तपाईंले राजीनामा दिनुपर्ने कारण के हाे ?

सुरुमा म काम गर्ने मान्छे, म लगनका साथ काम गर्ने मान्छे हुँ। महानगर भनेको जनप्रतिनिधिको नेतृत्वमा चल्ने संस्था हो। हामी सामान्य पोशाक लगाएर काम गर्ने मान्छे हो। हामी ड्युटीमा खट्ने बेला एउटा लौरा पनि हुँदैन। हामी महानगर प्रहरी घामपानी नभनी १२ देखि १४ घण्टा खट्छौं। मैले हरेक रुटमा १० पटकसम्म माइकिङ गरेर हिँडे।

राजीनामापत्र बोकेर तपाईं जागिरमा त गइराख्नु भएको छ नि ?

मैले आज १० बजेसम्म ड्यिुटी गरेँ। अनि मैले राजीनामापत्र विभागमा बुझाएँ। त्यसपछि म विभागबाट प्रमुख प्रशासकीय अधिकृतकोमा गएँ। मलाई प्रमुख प्रशासकीय अधिकृतले पहिला मलाई भन्नु पर्दैन ? भन्नुभयो। मलाई उहाँकाेमा जाने वा भेट्ने अवस्था थिएन। एसपी राजु पाण्डे मलाई ओभरटेक गरेर माथिल्लो निकायको कोही कसैसँग नभेट्नु भन्नु भएको छ। उहाँले बिफ्रिङ नै गर्नुभएको छ।

महानगर प्रहरीमा एसपी पाण्डेमाथि कोही छैन ?

मेरो संगठनको प्रमुखले मभन्दा माथि कोही पनि जानु हुँदैन र मलाई बोलाएर नै कोही कसैसँग भेट्न गएको मलाई मनपर्दैन भन्नु भयो। जो आउँछ म हल गर्छु भन्नु हुन्थ्यो। अहिले अलिकति कन्ट्रोल भएको छ। समय मिलाऔं, लगातार काम गर्न उमेरले पनि साथ दिँदैन भन्दा नसक्नेले राजीनामा दिनुपर्छ भन्नुहुन्छ सिधैं। उहाँलाई जस्तो सेवा सुविधा त छैन नि हामीलाई।

महानगरले तपाईंहरु खट्दा भत्ताको पनि व्यवस्था गरेको छ नि ?

यो सरासर गलत हो। मुखले व्यवस्था छ भनेर हुन्छ ? खै कसैलाई भत्ता दिएको त थाहा भएन। मैले त अहिलेसम्म लिएको छैन। म सँगै खट्ने प्रहरीहरुले पनि भत्ता पाएको छैनन्। धेरै साथीहरुको हेल्थ बिग्रिएको छ। औषधि खाएर धेरै साथीहरुले ड्युटी गरिराखेका छन। औषधि खाँदै ड्युटी गर्दा महानगरले बुझ्नु पर्‍याे नि। अहिले महानगरमा नयाँ नेतृत्व आएपछि काम भएको नै हो। उहाँहरुलाई सलाम छ।

...भनेपछि योभन्दा अगाडि यस्तो राम्रो काम भएको थिएन हो ?

हो, यो भन्दा अगाडि यसरी काम भएको थिएन। विगतमा नगर प्रहरी कसरी खटेको थियो भन्ने जनताहरुले नाङग्गै आँखाले हेरेका छन। मेयर साप यहाँ नगर प्रहरी पनि बलवान हुन्थ्यो भने एसपी पाण्डे सापले पनि जागिर खाएको ३० वर्ष भयो। यो भन्दा अगाडि हामीले महनगर र नगर प्रहरीको सारा उभद्रहरु नदेखेको होइन। रत्नकार पनि बाल्मिकी भएको हो नि। त्यसैले सबैलाई एक चोटी सुधार गर्न दिनुपर्छ। पहिला महानगर कस्तो थियो र अहिले कस्तो छ सबै जनताहरुले देखेका छन। जब राजुसाप आउनुभयो अलि एग्रसिर्फ भएर काम भयो। फिल्डमा त हामी जुधेको नै हो। म महानगरको गतिशील कमान्डर थिएँ।

महानगर प्रहरीहरु एसपी पाण्डेको दबदबा छ हो ?

राजुजीलाई मन नपर्ने मान्छेलाई अति खेद्नु हुन्छ। सक्नुभएन भने निकै लोएल हुनुहुन्छ। मैले यी कुरा भनिरहँदा मैले मेरो आफ्नाे कमान्डरको खेदो गरेको जस्तो हुन्छ। मैले भनेको समयलाई व्यवस्था गरौं भनेको मान्नु हुँदैन। मैले भनेका सुन्न चाहनु भएन। एकजना इन्सपेक्टर साप हुनुहुन्छ जर्नादन शर्मा उहाँ बिरामी हुँदा पनि रेस्ट नदिँदैन र एसपी राजु पाण्डेलाई मनपर्ने मान्छेलाई रेस्ट हुने। जो हिँड्न मिल्दैन उहाँलाई खटाएर हुन्छ। ९ महिना काम नै नगरी तलब बुझ्ने सई पनि हुनुहुन्छ कारण हो उहाँहरुको आर्शिवाद छ। काम नै नगरे पनि त महानगर नै तलब दिइराखेको छ। मैले राजु पाण्डेलाई सोध्दा मलाई थाहा छैन माथि गएर सोध भन्नुहुन्छ। पहिला एसपी राजु पाण्डेले पनि डिएसपीको फुली लगाएर हाजिर गर्दै घर जानु भएको थियो। उहाँलाई सुत्ने छुट थियो। उहाँलाई महानगरले काम दिएन रे। पहिला नै उहाँहरुले काम गर्नुभएको भयो, अहिले यस्तो लोड हुँदैन थियो।

महानगरका कर्मचारीहरुले अब तपाईं नेता भन्नुहुन्छ भन्छन नि ?

यो सबैभन्दा बेइमानी कुरा हो। यहीँ हो यतना। म कहाँको नेता भन्ने। मसँग नेता भन्ने औकात थियो भने म एउटा प्रहरी संगठनमा किन ३० वर्ष जागिर खान्थ्ये र। जसले भनेको थियो त्यही नै हो पूर्वाग्राह। मलाई जसले नेता भनेको हो उहाँहरु पनि हिजो नेताकोमा नै हुनुहुन्थ्यो होला नि। भोलि म फेरि त्यहीँ सेवामा फर्किने झिनो आशा पनि छ। सबै कुरा गर्नु तर मैले अहिलेसम्म संस्था विरोध बोल्नु हुँदैन। मेरो संस्थामा मैसँग काम गर्ने साथीहरुले पनि सहयोग गरेनन्। एसपी राजु पाण्डेले केही कर्मचारी मलाई सिध्याउन साइलेन्ट ढंगले खटाउनुभयो र नेता बन्न २/४ अर्ब पैसा चाहिन्छ। म सँग कहाँ छ, यत्रो पैसा।

पहिला त महानगरभित्र भ्रष्टचार हुन्थ्यो नि, हालसाल मात्रै कपडामा भ्रष्टचार भयो भन्ने खबर आएको थियो नि ?

नयाँ नेतृत्व आउनुभएको छ। पहिला के–के भएको थियो, त्यस बारेमा उहाँहरुले खोज्नु हुनुहुन्छ। मलाई महानगरभित्र कहाँ के भइराखेको त्यति थाहा छैन।

काम नै नगरी तलब खानु पनि त भ्रष्टचार त हो नि ?

त्यो त कार्यालयले देखेको छ नि। त्यो त एसपी सापले हेर्नु पर्‍याे नि। सेवा सुविधाको हकमा पनि साधन हुने मात्र सेवा सुविधा पाउने नहुने के पाउने त। यसले गर्दा विरोध त भयो नि। तर, यो मेरो माग पनि होइन। अस्ति एकजना असई साप प्रकाश सिलवाललाई कुट्न खोज्नुभयो एसपी पाण्डेले। उसले काम गर्ने सकेन कि नराम्रो काम केही गर्नुभयो थियो भने पनि कार्यालयमा बोलाएर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ। कोही कसैले त्यस्तो गर्‍याे भने सेटमा नै कुट्दै लिएर आइजा भन्नुहुन्छ। एसपी पाण्डेलाई मैले भने सेटमा यस्तो नभन्नु। उनी ठगहरुलाई सुरक्षा दिने भनेर झरकिन्नु हुन्छ। हामी तीनजना असई चन्द्रमान भुजाल, असई इन्द्रकुमार राई र सई लोकनाथ चुडाल सार्वजनिक बिदाको दिनमा पनि ड्युटीमा जाँदा पनि हाम्रो बारेमा नराम्रो भन्छन। त्यही हाम्रो बारेमा बजारमा छानबिन गर्नुस भनेका छौँ। मैले मेरो उपर छानबिन गर्नुस् भनेर निवेदन दिएको छु। यसको विरोधमा २०५४ साल लड्नेमै हो।

व्यापारीको सामान उठाँउदा मन कतिको दुःख छ ?

त्यस्तो मन दुःख्ने हुँदैन थियाे। नगर प्रहरीमा बस्ने कोही पनि भावनामा हुँदैन। तपाईंले त्यही काम गर्नुपर्छ भन्ने हुन्छ र नगरेको खण्डमा जो कोही पनि महानगरबाट लखेटिनुपर्छ। सबै महानगर प्रहरीहरु तगडा साथ खट्नुपर्छ। हामी सडकमा महनगर प्रहरीको पोशाक लगाएर खट्दा त्यो महानगरको फेस पनि हो।

फुटपाथ व्यापारीहरु कति प्रतिशत बजारबाट उठाउन सफल हुनुभयो ?

अहिलेसम्म लगभग ९० प्रतिशत हामीले कन्ट्रोल गरेका छाैँ। यो जिरो त हुँदै हुँदैन। यो विश्वमा भएको छैन। एसपी राजु पाण्डेको नेतृत्वमा फुटपाथ व्यपारी जिरो बनाउन सफल हुनुभयो भने म उहाँलाई आधा किलोको फूलको माला लगाइदिन्छु। गरेर त खाउनुपर्छ।

काम नगर्ने महानगर प्रहरी कति छन ?

यो भन्दा पनि एसपी राजु पाण्डे यो यसको मानिस हो भनेर लखेटनुहुन्छ। मलाई पनि यो एसपी धनपति सापकोटाको मान्छे हो भनेर लखेटियो। यो गलत हो। हामी सबै महानगरपालिकाको नगर प्रहरी हाैँ। मलाई सबैभन्दा पीडा भएको क्षण, एसपी धनपति सापकोटाको कार्यकालमा म यहाँ आएको हुँ। त्यति खेर एसपी राजु पाण्डे हाजिर गरेर घर जानुहुन्थ्यो। त्यतिखेर एसपी पाण्डेले कतिखेर ड्रेस लगाउनुभयो ? म त्यतिखेरदेखि नै सडकमा मज्जाले खटेको थिए अहिले एसपी धनपति सापकोटा महानगरलाई फर्केर हेर्नुहुन्न।

तपाईंले मिडियाबाजी गर्नुभयो भन्ने आरोप लागेको छ नि ?

मैले कहिले गरेँ, मडियाबाजी। मिडियाका साथीहरु काम गर्दा फिल्डमा आउनुहुन्छ र सोध्नुहुन्छ, त्यसको बारेमा मात्र जानकारी दिने काम गरेको छु। एसपी राजु पाण्डेले मलाई मिडियामा देख्नुभएको रे। हाम्रो कमाण्डरको आदेशमा हामी चल्छौं मात्र भनेको हो। प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मलाई बोलाएर अबदेखि मिडियामा नबोल्नु भनेको भए भइहाल्थ्यो नि। जहाँ काम गर्दा पनि मिडियाकर्मीहरु स्थानीय बासिन्दाहरु त आउनुहुन्छ त बोल्नु नै पर्‍याे नि। म मन नपरेपछि ममाथि आइलागेलागे।

एसपी राजु पाण्डे बाहिर ठिक भित्र बेठिक हो ?

यस्तो पनि होइन। फिल्डमा काम गर्ने नगर प्रहरीहरुको गुनासो सुन्नु पर्‍याे। हामीले भनेको नमान्ने र त्यसको धोका हामीले दुई/चार ठाँउमा भोगेका छौँ। कुनै समय उहाँसँग मेरो नराम्रो भएको थियो, त्यसको फल यही नै हो जस्तो पनि लाग्छ, मलाई। मैले हिजो नै राजीनामा पत्र बुझाएँ तर एसपी पाण्डेले थाहा छैन भनेर जानीजानी भनेको हो।

तपाईंलाई राजीनामा दिन बाध्य त कसैले पारेकाे हाेइन नि ?

दिनैपिच्छे एउटै कुराले घोची राख्ने। मैले काम गर्न सक्ने कि नसकने सडक व्यपारी र संस्थाका कर्मचारीहरुलाई थाहा छ। पहिला मैले काम गर्दा एसपी राजु पाण्डेले नै तारिफ गर्ने र अहिले मैसँग आइलाग्ने ? यो कस्तो प्रवृत्ति हो बुझ्नै गाह्राे छ। म काठमाडौँ महानगर आएको साडे तीन वर्ष काम गरेँ र मैले काम गर्न नसके मलाई त्यहाँ राख्थ्यो होला त।

फेरि पनि तपाईंलाई महानगरपालिको नगर प्रहरीको जिम्मेवारी दियो भने जानुहुन्छ ?

मैले ३० वर्षदेखि काम गरेको संस्था हो। मलाई फेरि सोच भन्यो भने म जान्छु। नेतृत्वमा उहाँ नै हो तर यसरी संङगठन चल्दा घाटा हुन्छ। संस्थालाई अलि फरक ढङ्गबाट अगाडि बढाउनुपर्छ। सायद भोलि दुई महिनापछि एसपी पाण्डेलाई मेरो आवश्यकता पर्न सक्ला। त्यतिखेरसम्म म त घर गई सकेको हुन्छु। एसपी सापहरुलाई संस्थाले एक ठाँउहरु राख्नुपर्छ। त्यसपछि हामीलाई एसपी सापहरुले खटाउनुपर्छ र अहिले नगर प्रहरी बलमा मानिसहरु पुग्दैन। ज्याकेट लगाइदिएर मात्र हुन्छ। यो पनि फेरि विरोध गरेको जस्तो देखिन्छ।

प्रकाशित मिति: : 2022-12-22 19:33:00

प्रतिकृया दिनुहोस्