‘नगरप्रहरीमा भर्ना गरिदिन्छु भन्दै लाखौँ पैसा उठाउँछन् राजु पाण्डे’

सुहन श्रेष्ठ

काठमाडाैँ

प्रहरी प्रमुख पाण्डेको ‘अनियमितता र ज्यादती’ विरुद्ध महानगरकै प्रहरी


मेयर बालेन्द्र साहको आडमा काठमाडौं महानगरभित्र भइरहेको अनियमितता र अत्याचारको रहस्य एकपछि अर्को गर्दै खुल्दै गइरहेको छ।

आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् चर्चा बटुलिरहेका मेयर साह र ‘भाइरल’ नगरप्रहरी बलका प्रमुख एसपी राजु पाण्डले नगरप्रहरीमा भर्ना गरिदिने आश्वासन दिँदै लाखौँ रकम असुली गरेको खुलासा भएकाे हाे। 

एसपी पाण्डेले दर्जनौँ व्यक्तिलाई नगरप्रहरी बलमा सहजै भर्ना गरिदिन्छु भन्दै प्रलोभन देखाएर प्रतिव्यक्ति ५ हजारका दरले रकम उठाइरहेको नगरप्रहरी बलका एकजना अधिकारीले बिएल नेपाली सेवासँग बताएका छन्।

‘पाण्डेको अत्याचार महानगरमा धेरै नै भयो। उनी मैले जे गर्दापनि हुन्छ टाइपको कुरा गर्छन्। महानगर प्रहरीमा भर्ती गर्छु भनेर लाखौँ पैसा उठाएका छन्। तल्लो तहका कर्मचारीलाई गिरेर बोल्छन्। सिपाहीलाई हेप्छन्। मेयरसापको आडमा जे–जस्तो हर्कत गरेपनि हुन्छ भन्ठानेका छन्,’ ती अधिकारीले भने। 

नगरप्रहरी बलका ती एकजना अधिकारी मात्रै होइन पाण्डेले नगरप्रहरीमा भर्ना गदिदिन्छु भन्दै कैयौँ व्यक्तिहरूबाट लाखाैँ–लाख पैसा उठाएको नेपाल प्रहरीका पूर्वसई होम बहादुर बगालेले पनि काठमाडाैं महानगरकाे कालाे कर्तुत खाेलेका छन्। तर उनी मेयर बालेन्द्रको नियतमाथि शंका गर्दैनन्। ‘मेयर बालेनलाई असफल बनाउने राजु पाण्डेको ग्रान्ड डिजाइन हो। मेयरसापले यस्ता कुरा छिट्टै ध्यान पुर्‍याउनुपर्छ, नत्र यो मान्छेले महानगलाई बदनाम गराएरै छाड्छ।’

एसपी पाण्डेले मेयर बालेन्द्र र महानगर प्रशासनसँग सल्लाह नगरेर आफूखुसी निर्णय लिँदै आएका छन्। आर्थिक स्वार्थपूर्तीका लागि पटकपटक महानगरपालिकामा भाडाका प्रहरी ल्याएका छन्। बल्खुस्थित युनिक सेक्युरिटी सर्भिसेसका सञ्चालक जङ्गबहादुर मगरमार्फत् सुरक्षा गार्डहरूलाई भाडामा नगरप्रहरी बनाउने गरेकाे तथ्य फेला परेकाे छ।


'भ्रष्टाचार र दुर्व्यवहार'को आरोपबारे के भन्छन् राजु पाण्डे ?

गरिबलाई मारेर सहर रंग्याउँदै 'बालेन्द्र साप'

बालेन्द्रकाे ज्यादतीमा पिल्सिएका 'भीमसेन'हरू


स्रोतका अनुसार अघिल्लो महिना थापाथलीकाे सुकुम्बासी बस्तीमा उनै पाण्डेले ९० जनाभन्दा बढी भाडामा प्रहरी खटाएका थिए। पाण्डे र मगरले नगरप्रहरी बलमा प्रहरी आवश्यकताको झुटो तथ्याङ्क देखाउँदै तालिमका लागि युनिक सेक्युरिटी सर्भिसेसमा आएका सुरक्षा गार्डबाट अहिलेपनि रकम उठाइरहेका छन्। 

मेयर बालेन्द्रले नीति–विधिको अधिनमा रही योग्य व्यक्तिलाई छान्ने बताइरहँदा उता एसपी पाण्डे भने पैसा उठाएर नगरप्ररही भर्ना गर्नमा व्यस्त छन्। स्राेतका अनुसार उनी अनुभवपत्र नभएका उम्मेदवारहरूलाई झुटो प्रमाणपत्र पनि आफै बनाइदिन्छन्।

नगरप्रहरीमा भर्ना हुनका लागि पहिले–पहिले नेपाली सेना, प्रहरी वा म्यादी प्रहरीमा काम गरेको अनुभवपत्र अनिवार्य चाहिने मापदण्ड थियो। तर एसपी पाण्डेले आर्थिक लाभ लिएर भर्ना गर्ने गरेका छन्। 

‘झुटो प्रमाणपत्र बनाएर लिएर आऊ अनि महानगरभित्र जागिर दिन्छु भनेर २ सय व्यक्तिसँग ५–५ हजारका दरले राजु पाण्डेले लाखाैँ पैसा उठाएका थिए। तीमध्ये कतिले काम पाए तर एकसय बीस जना अझै बेरोजगार छन्,’ पूर्वसई बगालेले भने, ‘अनुभव नभएकालाई यसले झुटो प्रमाणपत्र ल्याउ भन्नुको उदेश्य के हो?’


बिएल नेपाली सेवाका लागि नेपाल प्रहरीका पूर्वसई होमबहादुर बगालेसँग गरिएको कुराकानी शुक्रबार प्रशारण गर्नेछौं।

प्रकाशित मिति: : 2022-12-22 22:01:00

प्रतिकृया दिनुहोस्