सिरियल किलर आइलीन : जसले बलात्कारबाट बच्न ७ जनाकाे हत्या गरिन्

Photo: Agency
Photo: Agency

तपाईंहरूले सिरियल किलरकाे भन्ने त सुन्नुभएकै हाेला। अनि सिरियल किलर भन्ने बित्तिकै नेपालबाट भर्खरै जेलमुक्त भएका चार्ल्स साेभराजकाे बारेमा साेच्नु पनि हुन्छ हाेला! तर हामी महिला सिरियल किलरकाे कुरा गर्दैछाैँ।

के महिलाहरू पनि पुरूषजस्तै सिरियल किलर हुन्छन् भन्नेबारे थाहा छ? सिरियल किलर भनेको तीन वा सोभन्दा बढी व्यक्तिको हत्या गर्ने व्यक्ति हो। जसले कुनै एउटा घटनाबाट प्रभावित भइ छुट्टाछुट्टै समयमा मनोवैज्ञानिक कारणले हत्या गर्छ। उनीहरू हत्या गरेर मात्र शान्त हुने अथवा आन्दित हुने गर्छन्। अपराधकाे दुनियाँमा सिरियल किलिङ पुरुषले मात्र गर्दैनन्। यसमा महिलाहरू पनि संलग्न हुन्छन्। तर उनीहरू पुरुषको तुलनामा धेरै कम छन्।

यही अपराधकाे दुनियाँमा पहिलाे नम्बरमा छिन्–आइलीन वुर्नोस। नारीवादी आइकनकाे रूपमा परिचित आइलीन वुर्नोस महिला सिरियल किलरमध्ये एक हुन्। आइलीनको जन्म सन् १९५६ फेब्रुअरी २९ मा अमेरिकाकाे मिशिगन राज्यमा भएकाे थियाे।

अमेरिका जस्ताे ठाउँमा जन्मिए पनि आइलीनको बाल्यकाल निकै त्रासदीपूर्ण रह्याे। जुन उनकाे लागि किलर बन्ने वातावरण सावित भयाे। आइलीन सानैदेखि हजुरबुबा-हजुरआमासँग बस्ने गर्थिन्। किनकि, उनका बुबा बाल याैन दुर्व्यवहारको आराेपमा जेलमा थिए भने आमा अरूसँगै विवाह गरेर गइसकेकी थिइन्।


अमेरिकी सिरियल किलर : जाे मानिसकाे हत्या गरेर बर्गरमा मासु राखेर बेच्थे


आइलीन सानैदेखि महिलाहरूकाे विषयमा आवाज उठाउने गर्थिन्। उनले बाहिर जति महिलाहरूका लागि आवाज उठाए पनि उनी आफ्नै घरमा त्रासदीपूर्ण जीवन बिताइरहेकी थिइन्। हजुरबुबाले आइलीनलाई नियमित कुटपिट तथा यौन दुर्व्यवहार गर्ने गर्थे। जब उनले स्कुले शिक्षा पुरा गरिन्, तब उनी याैनकर्मी बन्न पुगिन्। उनले केटाहरूसँग पैसा, चुरोट तथा लागुपदार्थको लाेभमा यौन प्रस्ताव राख्ने गर्थिन्।

आइलीन १४ वर्षकी हुँदा सन् १९७० मा उनलाई हजुरबुवाका साथीले बलात्कार गरे, जसका कारण उनी गर्भवती बनिन्। बलात्कारपश्चात गर्भवती बनेकी उनले एक छाेरालाई जन्म पनि दिइन्। तर बच्चा जन्मिनासाथ अनाथ आश्रममा लगेर गोद लिनका लागि राखियो।

आमा बनेपछि उनका हजुरबुबा आइलीनप्रति अत्यधिक हिंस्रक भए र अन्ततः उनलाई घरबाट निकालिदिए। त्यसपछि उनी आफ्नो घर नजिकैको जङ्गलमा कठोर जीवन बिताउन थालिन्। अनि देहव्यापार तथा चोरीकाे सहारा लिन थालिन्।

१८ वर्षसम्म आइलीनको जीवन अत्यन्त अस्तव्यस्त बन्याे। उनले आजभन्दा भाेलि राम्राे हाेला भन्दै समय बिताउँदै गइन् तर उनकाे स्थिति झन् बिग्रँदै गयो। सन् १९७४ मा आइलीन बन्दुक चलाएकाे तथा लागुपदार्थ सेवन गरेकाे आराेपमा पहिलाे पटक पक्राउ परिन्। तर प्रर्याप्त प्रमाणहरूकाे अभावका कारण केही महिनामै उनी रिहा भइन्।

जेलबाट रिहाइ भइसकेपछि उनले लुइस फेल नाम गरेका एक सेवानिवृत्त व्यवसायीसँग विवाह गरिन्। लुइस उनीभन्दा ३२ वर्ष जेठाे थिए। तर उनीहरूकाे वैवाहिक जीवन राम्राे भएन। विवाहको केही हप्तामै फेलले आइलीनविरुद्ध चाेरीकाे आराेप लगाउँदै नियन्त्रणकाे आदेश निकाले र प्रकाउ गर्न लगाए। त्यसपछि उनीहरूले विवाह भएकाे नाै हप्तामै सम्बन्ध विच्छेद गरे।

आइलीन पहिलादेखि नै रक्सी, लागुपदार्थ र हिंसाबारे विज्ञ थिइन्। त्यसकारण उनी पुनः सन् १९७६ मा बारटेन्डरमाथि आक्रमण गरेकाे र शान्ति भंग गरेको आरोपमा पक्राउ परिन्। आइलीन पक्राउ परेकाे केही समयपछि भाइकाे घाँटीको क्यान्सरका कारण मृत्यु भएपछि उनले क्षतिपुर्तिबापत १० हजार अमेरिकी डलर प्राप्त गरिन्। त्याे पैसा उनले दुई महिनासम्म खर्च गरिरहिन्। तर, पैसा सकिँदै गएपछि आइलीनले पुनः देहव्यापार तथा चोरीको कामलाई निरन्तरता दिन थालिन्।


भूतसँग भेट्ने चाहनाले निम्तिएको घटना


उनले छाेटाे समयकाे अवधिमा धेरै पसलहरू लुटिसकेकी थिइन्। यसै क्रममा उनी सन् १९८२ मा एक स्थानीय पसलमा चाेरी गरेको अभियोगमा तेस्राे पटक पक्राउ परिन्। त्यसपछि १३ महिनाकाे जेल सजाय भुक्तान गरिन्। तर पनि उनले आफ्नाे पेसा छाडिनन्। आइलीन पुनः चाेरी तथा देहव्यापारमा लागिन्।

सामूहिक रूपमा लुटपाट गर्नु, हातहतियार लुकाएर राख्नु आइलीनलाई कुनै नाैलाे कुरा थिएन। चाेरी तथा डकैतीमा मात्र संलग्न हुने उनलाई हत्या गर्नु ठुलाे कुरा थियाे। सन् १९८९ मा रिचर्ड म्यालोरीकाे हत्या गरेपछि भने अन्य व्यक्तिकाे पनि हत्या गर्नु सामान्य ठान्न थालिन्।

उनले सबैभन्दा पहिला रिचर्ड म्यालोरीकाे हत्या गरिन्। किनकि, रिचर्डकै कारण उनी देहव्यापारमा लागेकी थिइन्। हत्याअघि जब आइलीन रिचर्डकाे अघि पुगिन्, रिचर्डले जबर्जस्ती गर्न लागे। आइलीनले आफूलाई मुक्त गर्न पर्सबाट पेस्तोल निकालिन् र रिचर्डलाई तीन पटक गोली हानी हत्या गरिन्। त्यसपछि रिचर्डकाे शवलाई नजिकैको जंगलमा लगेर फ्याँकिदिइन्।

यस घटनापछि भने आइलीनले अन्य मानिसकाे पनि हत्या गर्न थालिन्। जसले उनीमाथि आक्रमण र बलात्कारको प्रयास गरेका थिए। यसैगरी आइलीनले अन्य ६ जनाकाे हत्या गरिन्।


११ ‘अपराधी ग्याङ’, जोसँग अमेरिकादेखि जापान डराउँछ


प्रहरी उक्त हत्याहरूका बारेमा अनुसन्धान त गरिरहेकै थियाे तर कुनै प्रमाण पत्ता लागेकाे थिएन। जब सन् १९९० को नोभेम्बरमा आइलीन र उनकाे साथी आइलीनद्वारा हत्या गरेकाे मानिसकाे कारमा सँगै देखिए, तब प्रहरीले अनुसन्धानकाे दायरा बढाउँदै लग्याे।

आइलीन पहिलादेखि नै कुख्यात अपराधी भएकोले उनको फिंगरप्रिन्टहरू फाइलमा थिए। प्रहरीले कारमा भएकाे फिंगरप्रिन्टहरू तथा आफूहरूसँग भएकाे फिंगरप्रिन्टहरू जाँचे। फिंगरप्रिन्ट आइलीनकाे भन्ने पुष्टि भयाे। त्यसपछि भने प्रहरीले आइलीनलाई मस्ट वान्टेड अपराधीकाे सूचीमा राख्दै खाेजीकार्य थाल्याे। सूचना जारी भएकाे लगभग दुई महिनापछि ९ जनवरी १९९१ मा आइलीनलाई गिरफ्तार गर्याे।

अमेरिकी अदालतले आइलीनकाे मुद्दामा उनलाई छ वटा अभियोगमा दोषी ठहर गर्दै मानिसक सन्तुलन बिग्रेकाले हत्या गरेकाे र पुनः रिहा गरे अन्य व्यक्तिकाे समेत हत्या गर्ने बताउँदै मत्युदण्डकाे माग फैसला सुनायाे।

आइलीनले आत्मरक्षाको लागि उनीहरूकाे हत्या गरेकाे बताए पनि उनलाई मत्युदण्ड सुनाइयाे। त्यसपछि सन् २००२ अक्टाेबर ९ तारिखका दिन आइलीनलाई मृत्युदण्ड दिइयाे। 

प्रकाशित मिति: : 2023-01-07 21:50:00

प्रतिकृया दिनुहोस्