सुकुम्बासी पेल्ने मानसिकतामा बालेन, अन्य निकायसँग गर्दैनन् समन्वय

गत मंसिर १२ गते काठमाडौँ महानगरपालिकाले अप्रत्याशित रूपमा थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउँदा दर्जनौँ नगर प्रहरीसहित सुकुम्बासीहरु घाइते भएका थिए। कुनै निकायसँग समन्वय नगरी आफूखुसी मेयर बालेन्द्र साहले चालेकाे साे कदमकाे तत्काल चाैतर्फी आलोचना भयाे। तर, मेयर साह पछि हटेनन्, ३५ दिनभित्र बस्ती खाली गर्न सुकुम्बासीहरुलाई आदेश दिए।

मेयर साहले लाेकरिझ्याइँका नाउमा महानगरलाई खेल मैदान बनाउन थालेपछि राजनीतिक दलहरू दबाबमा छन्। सार्वजनिक आलोचना खप्न नसकेर उनी राष्ट्रिय भूमि आयोग र गृह मन्त्रालयकाे सहयोग खाेज्दै हिँडिहरेका छन्। तर, भूमि आयोगका काठमाडाैं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले मेयर साहमाथि आक्रोशित बनेका छन्। भदौ २९ गते विभागले देशभरि ‘अव्यवस्थित बसाेबासीले दिने निवेदन फारम’ वितरण गर्दा काठमाडौँ महानगरले बेवास्ता गरेको उनी बताउँछन्।

फारम वितरण गरेको दिनदेखि हालसम्म कुल ७ लाखभन्दा धेरै सुकुम्बासीले उक्त निवेदन फारम भरेको आयोगको तथ्यांकले बताएको छ। तीमध्ये ५२ हजार ९ सय ७२ भूमिहीन दलित, १ लाख १२ हजार ८ सय २१ भूमिहीन सुकुम्बासी र ५ लाख ५२ हजार ४८२ अव्यवस्थित रूपमा बसेका सुकुम्बासीले फारम भरेको श्यामकृष्ण प्रजापतिले बताएका छन्।

आयोगको पहललाई उपत्यकाभित्रका काठमाडौँ महानगरसहित टोखा, संखारापुर र कीर्तिपुर नगरपालिकाले सहकार्य लत्याएका छन्। स्राेतकाअनुसार मेयर बालेन्द्रकै आदेशमा माथि उल्लेखित सबै नगरपालिकाहरूले सहकार्य नगरेको बताइएकाे छ।

फारमको म्याद सकिन जम्मा १४ दिन बाँकी रहँदा महानगरको असहयोगी कदमले सुकुम्बासीहरू चिन्तित छन्। ‘आयोगले हामीहरूलाई उपलब्ध गराएकाे एउटा फाराम भरेका थियाैँ। तर, बालेन साहले कुनै पहल गरेनन्, त्यसपछि हामीहरू अन्योलमा परेका छौँ। मेयरले हामीलाई मार्न खोजेको जस्तै लाग्याे। राष्ट्रिय भूमि आयोगले पहल गर्दा पनि मेयरजस्तो मान्छेले त्यो पहल रोक्ने हो कि झन् सहकार्य गरेर अघि बढ्ने हो,’ थापाथली बस्तीका एक स्थानीयले बिएल नेपाली सेवासँग भने।

सुकुम्बासी व्यवस्थापनाका लागि कुनै ठाेस याेजना नबनाएका मेयर बालेन्द्रप्रति सुकुम्बासी र जनमानस आक्रोशित छन्। उनीहरूले आयाेगकाे मापदण्ड पालना गर्न आग्रहसमेत गरेका छन्। तर, मेयर बालेन्द्रले सुकुम्बासीहरूकाे समस्या सुन्ने पक्षमा छैनन्। उनी सुकुम्बासीहरू देख्दा भाग्छन्।



दाेस्राे अनुच्छेदमा राष्ट्रिय भूमि आयोगका काठमाडाैं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिकाे पद सच्याइएकाे छ। 

प्रकाशित मिति: : 2023-01-02 22:15:00

प्रतिकृया दिनुहोस्