प्रदेश १ : सभामुखको निर्वाचन पुस २८ मा गर्ने निर्णय

प्रदेश १ मा सभामुख र उपसभामुखको निर्वाचनको मिति तय भएको छ।

आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले सभामुखको पुस २८ गते र उपुसभामुखको निर्वाचन पुस ३० गते गर्ने निर्णय गरेको नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुने छ।

यस्तै सोमबारका लागि बोलाइएको प्रदेशसभाको बैठक २६ गते मंगलबारलाई सारिएको छ। आज एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेश गर्ने र भोलि शपथ ग्रहण हुने भएकाले २६ गते प्रदेशसभाको बैठक बस्ने निर्णय भएको भण्डारीले बताए।

सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीको टुंगो लागे पनि सभामुख कसले लिने भन्ने विषयमा टुंगो लागिनसकेको उनले जानकारी दिए। उनका अनुसार सभामुखका विषयमा भोलि दलहरुबीच छलफल हुने छ।

प्रकाशित मिति: : 2023-01-08 15:10:00

प्रतिकृया दिनुहोस्