को हुन् प्रदेश १ का नवनियुत्त मुख्यमन्त्री हिक्मत कार्की ?

प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नियुक्त गरेका छन्।

प्रदेशसभाको पहिलो कार्यकालमा तीन मुख्यमन्त्री पाएको प्रदेश १ मा कार्कीले चौथो मुख्यमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका हुन्।

आइतबार दिउँसो प्रदेशसभाका बहुमत सांसदको समर्थनसहित उनले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए। उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) का सांसदको समर्थन रहेको छ।

झापाको गौरदहमा वि.स. २०२१ साल असोज ११ गते जन्मिएका कार्कीले एसएलसीसम्मको अध्ययन गौरदहबाटै गरे। विद्यालयमा पढ्दादेखि नै अनेरास्ववियुमा संगठित हुँदै विद्यार्थी राजनीतिमा होमिएका उनले २०३६ सालदेखि नै पार्टीको सम्पर्कमा रहेर विभिन्न आन्दोलनलाई साथ दिएका थिए।

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातकोत्तर (एलएलएम) सम्मको अध्ययन पूरा गरेका उनले अनेरास्ववियुमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै गए। नेपाल ल क्याम्पसमा पढ्का उनले स्ववियु सभापतिमा चुनाव जिते। अनेरास्ववियुको विभिन्न कमिटीमा रहेर काम गरेका कार्की २०५५ मा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने।

अनेरास्ववियुको अध्यक्ष बनेपछि पार्टी राजनीतिमा सक्रिय भएर उनले काम गरे। कार्की विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्यको जिम्मेवारीमा रहेका थिए। उनले २०७१ सालमा सम्पन्न एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा प्रवेश गर्ने मौका पाएका थिए।

पार्टी स्वयंसेवकको केन्द्रीय कमान्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी प्रदीप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसँगै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका नेता हुन्।

त्यसपछि हिक्मत कार्कीले २०७१ देखि २०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज भएर काम गरे। देशमा संघीयता कार्यान्वयन भएसँगै प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा उनले प्रदेश संगठन कमिटी, प्रदेश १ को प्रचार विभाग प्रमुखको भूमिका निर्वाह गरिसकेका छन्।

२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन बाम गठबन्धनबाट उम्मेदवार बनेका कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश १ बाट निर्वाचित भए।  निर्वाचित भएसँगै उनले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका थिए।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका कार्की हाल स्थायी कमिटी सदस्य तथा प्रदेश १ को सहइन्चार्ज छन्।

प्रकाशित मिति: : 2023-01-08 21:50:00

प्रतिकृया दिनुहोस्