प्रदेश १ मा माओवादी बिनाको मन्त्रीमण्डल विस्तार गर्ने एमालेको तयारी

नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ सरकारमा नजाने घोषणा गरेसँगै एमालेले माओवादी बिनाको सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी गरेको छ।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो २ बजे शपथ लिएसँगै एमाले र अन्य सत्ता साझेदार दललाई समेटेर सरकार बनाउने तयारी गरेका हो।

नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले माओवादी सरकारमा सहभागी नभएपनि आजै सानो आकारको मन्त्रीमण्डल विस्तार हुने बताए।

आज बिहान अचानक नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा नजाने घोषणा गरेका छन्। माओवादी सरकारमा सहभागी नहुने भएसँगै प्रदेश १ मा नयाँ राजनीतिक घटनाक्रम विकास भएको हो।

सचेतक भण्डारीले राप्रपा र जसपालाई समेटेर मन्त्रीमण्डल विस्तार गरेर अघि बढ्ने जानकारी दिए। नेकपा एमालेले पहिलो चरणमा दुई जना र अन्य पार्टीबाट १–१ जना मन्त्री बनाउने तयारी गरेको छ। तर, को को मन्त्री बनाउने भन्ने सार्वजनिक भएको छैन।

प्रकाशित मिति: : 2023-01-09 11:45:00

प्रतिकृया दिनुहोस्