पुसकाे जाडाेमा फूलचाेकीमा न्यानाे यात्रा (फाेटाे फिचर)

मदन नेपाली

काठमाडौं
BreaknLinks
BreaknLinks

काठमाडौँको धुलो, धुवाँ र फोहोरबाट आक्रान्त मानिसहरु प्राय: नजिकैका पहाडहरुमा पुगेर अनन्दकाे सास फेर्न चाहन्छन्। त्यसमाथि काठमाडाैँ आसपासका पहाडहरु प्रकृतिमय मात्रै छैनन्, देशकाे उत्तरी भेगमा टल्किने हिमालहरु हेर्नकाे लागि पनि सहज छन्। त्यसैले राजधानीका मानिसहरु फुर्सदकाे समयमा एक्लै हाेस् या जाेडी बाँधेर पदयात्राकाे लागि त्यस्ता ठाउँहरुमा निस्कने गर्छन्।

पाइलट बाबा, सुन्दरीजल, गोदावरी, बज्रयोगीनी, त्रिभुवन पार्क, चन्द्रागिरी, नगरकाेट, फूलचाेकी, शिवपुरी आदि काठमाडाैँ नजिकका पदयात्राकाे लागि उत्कृष्टस्थल हुन्। यी मध्ये पछिल्लाे समय अधिकांश काठमाडाैँवासीहरुकाे राेजाइकाे केन्द्रमा छ, फूलचाेकी।

प्राकृतिक सुन्दरताले भरिपूर्ण फूलचाेकी गाेदावरीबाट करिब नाैं किलाेमिटरकाे दुरीमा पर्छ। यहाँ करिब ४ घण्टाकाे पैदल यात्रामा पुग्न सकिन्छ। हामी रत्न राज्यलक्ष्मी क्याम्पस स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु पनि गत शनिबार काठमाडाैँकाे भीडलाई छिचाेलेर त्यहाँ पुग्याैँ।

हामी राजधानीकाे भीडमा दाैडधूप गरिरहेका विद्यार्थीहरुकाे लागि पहाडकाे याे पैदल यात्रा यसै पनि पनि रमाइलाे त हुने नै भयाे। त्यसमाथि देशका विभिन्न ठाउँबाट आएर राजधानीमा कर्म गरिरहेका हामी परिचित हुनेदेखि आत्मियता बढाउनकाे लागि पनि याे यात्राले प्रेरित गर्‍याे।

हरियालीमा रमाउन पाउनु र विभिन्न वन्यजन्तुहरु नियाल्न पाउनु फूलचाेकीकाे प्रमुख विशेषता हाे। हिउँदमा हिउँ पर्ने भएकाेले याे क्षेत्र हिउँमा लडीबुडी गर्न रुचाउनेहरुकाे लागि पनि उपयुक्त हुन सक्छ।

यो क्षेत्रमा विभिन्न किसिमका पुतलीहरू, २ सय ५० भन्दा बढी प्रजातिका चराहरू तथा चितुवा र मृगहरूसमेत देख्न सकिन्छ। सेता, प्याजी (पिङ), राता रङ्गका गुराँसहरुले पर्यटकहरूको मन लोभ्याउँछ। यस प्रकारको रंगमय र सुगन्धीत वातावरण रहने यस फूलचोकीको अर्थ भनेकाे फूलपर्वत रहेछ। फूलचोकीको शिखरमा टेलिभिजन र रेडियोका प्रसारण रिपिटर टावरहरु, वायु सेटेलाइडहरु रहेका छन्। यहाँ फूलचोकी माइको सानो मन्दिर पनि रहेको छ।

यो ठाउँसम्म पुग्न जंगलै जंगलकाे पदयात्रा गर्नुपर्छ। विभिन्न प्रजातिका रुख, विरुवा, अनगिन्ती जडीबुटी, थरिथरिका फूल, चराचुरुङ्गी, बाँसघारी, स्वच्छ हावा, सफा वातावरण, मनै लोभ्याउने हिमालका दृश्यहरुले सबैको मन प्रभावित बनाउन सक्छ।

यहाँ जाने बाटाे फराकिलो छैन। बाटोमा पानी नपाइने भएकाेले यात्रामा पानीकाे अभाव हुन सक्छ। यद्यपि पदयात्रा केही हदसम्म कठिन त हुन्छ नै त्यसमा पनि छुट्टै मिठास पनि हुन्छ।

हामीले पनि याे यात्रामा अनेकाैँ अनुभवहरु संगाल्न पायाैँ, साथीहरुसँग रमाइला गफ गर्न पायाैँ। यात्रा त रहेछ, जिन्दगी। याे पुसकाे जाडाेमा न्यानाे यात्राकाे लागि साथ दिने सबै साथीहरुलाई धन्यावद।

प्रकाशित मिति: : 2023-01-11 21:55:00

प्रतिकृया दिनुहोस्