प्रदेश १ मा सभामुख बन्दै माओवादीका बाबुराम गौतम

केन्द्रीय भागबण्डाअनुसार प्रदेश १ मा सभामुख नेकपा माओवादी केन्द्रलाई दिने सहमति छ। केन्द्रको निर्णयअनुसार नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुत्त भइसकेका छन्। सोही सहमति अनुसार सभामुखमा एमालेले माओवादीलाई समर्थन गर्नेछ।

प्रदेशमा सभामुख चयनका लागि आज कार्यतालिका सार्वजनिक हुँदैछ। प्रदेशसभामा सभामुख चयनका लागि आजै उम्मेदवारको मनोनयन हुने एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

२४ पुसमा बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन पुस २८ गते तोकेको छ।

प्रदेश १ को सभामुख माओवादीले पाएसँगै कसलाई उम्मेदवार बनाउला भन्ने चासो सुरु भएको छ। माओवादी स्रोतका अनुसार ओखलढुंगाको प्रदेश (२) बाट निर्वाचित भएका बाबुराम गौतमलाई सभामुख बनाउने तयारी छ।

सभामुखका लागि पार्टी र संसदीय दलमा बाबुराम गौतमको नाममा सहमति भइसकेको माओवादीका एक सांसदले बताए। उनले भने, ‘परिस्थिति परिवर्तन नभए उहाँ नै हाम्रो उम्मेदवार हो।’

९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४७ सांसद आवश्यक पर्छ। हाल कायम रहेको गठबन्धनमा ६० सांसद छन्। एमाले ४०, माओवादी केन्द्र १३, राप्रपा ६ र जसपाका १ गरी ६० जना प्रदेशसभा सदस्यको समर्थन पाए उनै गौतम प्रदेश १ को दोस्रो सभामुख बन्नेछन्। यसअघि नेकपा एमालेका प्रदीपकुमार भण्डारी प्रदेशसभाको पहिलो सभामुख थिए।

प्रकाशित मिति: : 2023-01-10 11:40:00

प्रतिकृया दिनुहोस्