देवराज घिमिरे सभामुखमा निर्वाचित, काे हुन् उनी ?

सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए।

सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए। तर, घिमिरेले १६७ मत पाएर निर्वाचित हुँदा न्यौपानले १०० मात्र मत पाइन्। साथै मत दिन्न भन्नेमा १ मत परेको छ।

१७६ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको ज्येष्ठ सदस्य राणाले जानकारी दिए।

घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो। 

काे हुन् उनी ?

वि.सं. २०१३ साल जेठ १३ गते ताप्लेजुङ सिकैचा– ३ मा जन्मिएका घिमिरेले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। स्कुले विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्ने घिमिरेले ०३१ सालमा भएको झापा विद्रोहबाट राजनीतिक थालेका हुन्। २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (कोके) गठनपछि विद्यार्थी संगठनमार्फत पार्टीको काममा लागे। ०३३ मा बर्जुवा शिक्षा बहिष्कार गर्दै गाउँगाउँ जनचेतना पुर्‍याउन हिँडेका घिमिरेले राजनीतिमा लागेको तीन वर्षपछि मात्र पार्टी सदस्य पाए।

२०३५ सालमा नेकपा (माले) बनेपछि उनले पूर्वी पहाडी जिल्ला तेह्रथुम र पाँचथरमा संगठकका रुपमा काम गरे। सक्रिय राजनीति थालेको करिब ६ वर्षपछि उनी भूमिगत जीवन बिताउन बाध्य भए। २०३६ सालदेखि २०४६ सालसम्म देवराज घिमिरे भूमिगत रहे। भूमिगत जीवन बिताए पनि उनी पार्टी निर्माणको काममा लागिरहे।

पार्टी राजनीतिमा इमान्दार नेताको छवी बनाएका घिमिरे २०४९ मा भएको पाँचौ महाधिवेशनबाट केन्द्रीय कमिटीमा आए। उनलाई तत्कालीन महासचिव मदन भण्डारीले केन्द्रीय कमिटीमा ल्याएका थिए। उनी त्यसबेला समकालिन राजनीतिमा निष्ठावान र जननेता मदन भण्डारीले पत्याएका नेताका रुपमा परिचत थिए। २०४८ सालमा भएको निर्वाचनमा समावेशीताको आवज उठाउँदै आफूले पाएको टिकट जनजाति नेतालाई दिलाएपछि पार्टीमा उनको छवी उच्च मात्र बनाएनन् मनद भण्डारी प्रभावित भएर पाचौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा ल्याए।

०५० सालमा मेची अञ्चल इन्चार्जको जिम्मेवारी पाए। २०५६ सालमा राष्ट्रिय सभाको सदस्य बनेका घिमिरेले पार्टीभित्रका विभिन्न विभाग प्रमुख भएर पनि काम गरेका छन्। उनले स्वास्थ्य विभाग, इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल प्रध्यापक संघको प्रमुख भएर काम गरिसकेका छन्। मदन भण्डारीको निधनपछि बनेको मदन भण्डारी फाउण्डेसनको कार्यालय प्रमुखको भूमिकासमेत घिमिरेले निर्वाह गरिसकेका छन्।

२०७५ सालमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट (नेकपा)को उनी प्रदेश १ अध्यक्ष थिए। ०७८ मा भएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका घिमिरे प्रदेश १ को इन्चार्ज पनि हुन्।

०५६ सालमा राष्ट्रियसभा सदस्य भएयता उनले कुनै संसदीय जिम्मेवारी पाउन सकेनन्। करिब २३ वर्षपछि गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले टिकट पाए। अन्ततः झापा क्षेत्र नम्बर २ बाट पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका घिमिरे पहिलो प्रयासमै सभामुख निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2023-01-19 15:14:00

प्रतिकृया दिनुहोस्