कैयौँ युद्ध जितेकी ‘कमरेड’ रेजिना क्यान्सरसँग लड्दै

सुगम सरोवर

राेल्पा
BreaknLinks
BreaknLinks

बिहानैपख हामी रोल्पाको सदरमुकाम लिवाङ पुग्दा मौसम निकै चिसो थियो। भर्खरै उदायकाे सूर्यका न्यानो किरणहरूले लिवाङलाई स्पर्श गर्दै थिए। प्राय: मगर खाम भाषाहरू बोलेको सुन्न पाइने यो ठाउँ आफैँमा सुन्दर पनि छ। वरिपरि डाडाँपाखाहरूले घेरिएको लिवाङ बजारभित्र व्यापारिक चहलपहल पनि उत्तिकै रहेछ।

लिवाङ पुगेको केही समयमै हामीले 'रेजिना' लाई भेट्न पुग्यौँ। रेजिना अर्थात् तत्कालीन माओवादी जनयुद्धका एक जिउँदो शहीद सुनकुमारी रोका मगर। जसले कैयौँ युद्धहरू जितेर त फर्किनुभयो तर आज क्यान्सर जस्तो प्राणघातक रोगका कारण जीवन र मृत्युसँग लडिरहनुभएको छ।

भूमिगत नहुँदै बारम्बार प्रहरीको गिरफ्तारीमा

रोल्पाको धवाङ्गमा जन्मिएकी रेजिनाको बाल्यकाल निकै कष्टपूर्ण रह्यो। गरिबी र अशिक्षाले गाँजिएको उनको परिवार माओवादी जनयुद्धबाट अछुतो रहन सकेन। गाउँमा हुने माओवादीका कार्यक्रमहरूमा सहभागी हुनै पर्थ्यो। टोलछिमेकमा पनि धेरै जना भूमिगत भइसकेका थिए। माओवादीका कलाकारहरूले आयोजना गर्ने नाचगान कार्यक्रममा रेजिना पनि प्राय: पुग्ने गर्थिन्।

जोसिला क्रान्तिकारी गीतहरूले रेजिनाको मानसिकतामा पनि राज्यको दमनविरूद्व लड्नुपर्छ भन्ने छाप बस्दै थियो। कृषि पेशामा निर्भर रहेको उनको परिवारले छोरी पढेर जागिरे बनोस् भन्ने इच्छा राखेका थिए। रेजिनाले जब गाउँको स्कुलबाट ५ कक्षा पास गरिन्, त्यसपछि बाँकी अध्ययनको लागि सदरमुकाम जानैपर्ने बाध्यता भयो।

आफ्नो र परिवारको सुनौला सपनाहरू बोकेर सदरमुकाम पढ्न निस्केकी रेजिनाको त्यसपछिको समय भने सहज रहेन। तत्कालीन प्रहरीद्वारा रेजिना ३ पटकसम्म गिरफ्तारीमा परिन्। पटक–पटक उनलाई पक्राउ गर्दै जिप्रकाको हिरासतमा राखियो। माओवादीको कलाकार होस् भन्दै रेजिनालाई शारिरीक र मानसिक यातनाहरू दिन सुरू गरियो। बल्लबल्ल उनी प्रहरीको हिरासतबाट बाँचेर गाउँ फर्किइन् तर गाउँमा पनि  उनले शान्तिको श्वास फेर्न पाउने वातावरण भने पटक्कै थिएन।

परिवार र साथीभाइले‌ ‘तँलाई अब सेना, प्रहरीले मारिहाल्छ’ भन्ने कुरा सुनाउँथे। कुनबेला फेरि गिरफ्तारीमा परिने हो भन्ने चिन्ताले रेजिनाले पढाइ पनि छाडिन्। त्यसपछि रातदिनको त्रासपूर्ण जिन्दगी बाँच्नुभन्दा बरू युद्धमै गोली खाएर मर्छु भन्ने निर्णयका साथ रेजिनाले ६ कक्षामा पढ्न किनिएको कलम र कापीहरू जलाउँदै १५ वर्षकै कलिलो उमेरमा माओवादीमा भूमिगत बन्न पुगिन्।

‘कि मुक्ति कि मृत्यु’का ती आधिमय दिनहरू

घरमा रूँदै गरेका बाआमाको अंगालोबाट आँशु झार्दै युद्धमा निस्केकी रेजिनालाई भूमिगत भएका कैयौँ दिनहरू गाउँघर र परिवारको यादले खुब सतायो। पार्टीमा जोडिएका केही महिनाहरू, उनले सांस्कृतिक सँगठनमै बिताइन्। रोल्पा रूकुमका अति दुर्गम बस्तीहरूमा पुगेर नाचगानमार्फत जनताहरूलाई माओवादी जनयुद्धका विचारहरू सम्प्रेषण गर्नु कलाकारहरूको ठुलो भूमिका थियो।

धेरै पटक रेजिना कार्यक्रम लिएर गाउँमा जाँदै गर्दा गाउँका बुढापाकाहरूले ‘माओवादी छाड, बरू म पढाउँछु तिमीलाई’ भनेर निकै सम्झाउँथे। जुनबेला महिनौँ भेट्न नपाएको बाआमालाई भेटेको जस्तै महसुस गर्थिन् रेजिनाले पनि। कैयौँ छाकहरू भोकभोकै हुँदा पनि क्रान्तिकारी गीतहरू गाइन्, कैयौँ पटक खाली खुट्टा नाचिन्। दुरदराजका बस्तीहरूमा पुगेर तर पनि व्यवस्था बदल्ने माओवादीभित्रको सपनाहरूले कहिल्यै बिचलित हुन दिएन रेजिनालाई।

केही महिनाको सांस्कृतिक यात्रापछि उनी सैन्य क्षेत्रमा जोडिने अठोट गरिन्। त्यसपछि उनलाई सँगठनले जनमुक्ति सेनामा सिफारिस गरिदियो। अब झन् सुरू भयो युद्धभित्रका आधिमय दिनहरू। कलम समाउँदै गरेका कलिला‌ हातहरूले बन्दुक समाउनु सहज कहाँ हुन्थ्यो र। कहिले राज्यका सेनाहरूको घेराबन्दीहरू तोड्दै बाँचिन्, कहिले ढल्दै गरेका सहयोद्धाहरूलाई अँगालोमा बेरेर रूँदै बिदाइ गरिन्। बन्दुकको हरेक गोलीभित्र मुलुक परिवर्तनको‌ सपना देखेकी रेजिनाको सैन्य यात्रा‌ एकपछि अर्को भिषण बन्दै गयो।

निकै साहस र चलाखिपन थियो युद्धमोर्चामा

तत्कालीन माओवादी जनयुद्धको आधारक्षेत्र ठानिएको रोल्ला रूकुमबाट जनमुक्ति सेनाहरू एक कम्पनी (करिब १५० जना) पूर्वी कमाण्डमा जानुपर्ने सैन्य हेडक्वाटरको निर्देशन आयो। जुन कम्पनीभित्र रेजिना पनि परिन्, आफ्नो डिभिजनबाट बिदाइ हुँदै पूर्वसम्मको लामो पैदलयात्राका कैयौँ अविस्मरणीय पलहरू छन् रेजिनासँग।

रोल्पा रूकुमको जनमुक्ति सेनाहरू पूर्व पुग्ने बित्तिकै पार्टीले ठुला फौजी आक्रमणको योजना बनायो त्यस क्षेत्रमा। अर्घाखाँचीको सन्धिखर्क, जुम्लालगायतका योजनाबद्ध सैन्य मोर्चाहरूमा थुप्रै युद्धका अनुभवहरू सँगालेकी रेजिना युद्ध मैदानमा निकै साहस र चलाखिपन प्रस्तुत गर्थिन्।प्राविधिक ज्ञान पनि उत्तिकै राख्न सक्ने उनले भोजपुरको सदरमुकाम आक्रमणमा आफ्नो टिमको कुशल नेतृत्व गरिन्।

भौगोलिक अनविज्ञताले आफ्नो आर्क कभर गर्न नसकेको टिमलाई रेजिनाको चलाखी र आटले खरानी हुनबाट जोगाएको थियो। पूर्वेली जनताहरूको माया र जनसेनाहरूप्रतिको साथ सम्झिँदा रेजिनाको आज पनि गहभरी आँशु भरिन्छ। जनयुद्ध चर्किँदै जाँदा पूर्वी कमाण्डले लाहान चौकी हमलाको योजना बनायो। यो सहरको लडाइँ थियो। लाहान चौकीमा पनि रेजिनाकै वटालियन प्रत्यक्ष सहभागी भयो। रातभरिको लडाइँमा वरिपरि ढलेका सहयोद्धाहरूको चित्कारले अझै झस्काइरहन्छ उनलाई।

पश्चिम गेटको आर्क सम्हालेकी रेजिनाको एसल्टले ११ बजेतिर गेट तोडेरभित्र प्रवेश गर्यो। चारैतिरको बमको गर्जनहरूले लाहान थर्किरहेको थियो, अँध्यारो समय भएकाले गोलीका राता‌ निशानीहरू मात्रै छेउछाउबाट क्रस हुन्थ्यो। उनले प्रतिक्षालयको एक कुनालाई कभर लिँदै टिमलाई सपोर्ट फायर गर्दै थिइन्, त्यसैबेला एक्कासी उनलाई गोली लाग्यो। थ्रिनटथी राइफल‌ भुइँमा फाल्दै रेजिना गर्लाम्म चौकीको आँगनमा ढल्न पुगिन्।

रेजिना बाँच्ने आश थिएन कसैलाई पनि

जब उनी होसमा आइपुगिन्, त्यतिन्जेलसम्म पनि लडाइँ रोकिएको थिएन। उनलाई युद्ध मैदानभन्दा करिब दुई किलोमिटर टाढा स्वास्थ्यकर्मीहरूको टिममा ल्याएको थियो। अलिअलि होशमा आएपछि रेजिनाले मुख खोल्ने प्रयास गरिन् तर सम्भव भएन। चौकीभित्रबाट प्रहार गरेको एसएल आरको गोलीले उनको गाला, चिउँडाे हुँदै घाँटी छेडेको रहेछ। सबै शरीर रगतले‌ निथ्रूक्क भिजेको थियो। बोल्न खोज्दा श्वास नै बन्द होला जस्तो भयो। स्वास्थ्यकर्मीहरूले निरन्तर स्लाइन पानी चढाउँदै थिए। घाउहरूमा व्यान्डेज गर्दैगर्दा स्वास्थ्यकर्मीहरूको खासखुस भने रेजिनाले सुन्न सक्थिन्। सायद बाँच्नुहुन्न होला भन्ने त्यहाँको कुराकानीले रेजिनाभित्र पनि लगभग बाँच्ने आश मरिसकेको थियो।

प्राथमिक उपचारपश्चात सिकिस्तहरूलाई थप उपचारको लागि भारत‌ लैजाने पार्टीको योजनाअनुसार त्यहाँबाट रेजिनालगायतलाई कहिले सहयोद्धाहरूले बोकेर, कहिले ट्याक्टरमा राखेर भारततर्फ लगियो। भारतसम्म उपचार गर्न जानु पनि कम‌ चुनौतीपूर्ण थिएन। लाहान चौकी हमलापछि तराई क्षेत्रमा राज्यले सैनिक अपरेसनहरू गुणात्मक तरिकाले बढायो। प्रहरीका कैयौँ चौकी र सैनिकका व्यारेकहरूबाट घाइतेलाई सकुशल पार गराउनु पनि युद्ध लडे जत्तिकै कठिन‌ थियो।

बाटोमा बिरामीका घाउहरूबाट व्यान्डेज निस्केर रगत बगिरहेका थिए, केही खान पनि मिल्दैन थियो। भारत र नेपालको सिमानामा पुगेपछि एकघरमा उनीहरूले सेल्टर लिए, जहाँ रेजिनाले एकजना बुढीआमासँग पुरानो कपडा मागेर आफैँले घाउलाई छोपिनेगरी बाँधिन्‌। निकै चुनौतीका साथ रेजिनालगायतलाई भारतको एक अस्पतालमा पुर्याइयो। भारतमा पनि सुराकीका कारण बारम्बार अस्पताल चेन्ज गर्नुपर्थ्यो‌। केही महिनाको पार्टीको अथक प्रयासपछि रेजिना उपचार गरेर नेपाल फर्किन्। अनि फेरि युद्धमै लामबद्ध बनिन्, क्रान्तिको एक इमान्दार सिपाही बनेर।

युद्धबाट फर्किएपछि सहाराविहीन हुन पुगिन्

करिब दश वर्षसम्म सशस्त्र युद्ध गरेको तत्कालीन माओवादीले २०६२/०६३ को जनआन्दोलनसँगै पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गर्यो।बन्दुकको नालबाट सत्ता परिवर्तनको सपना देखेका रेजिनालगायतका जनमुक्ति सेनाहरूले बन्दुक बिसाउँदै मुलुकमा राजनीतिक स्थायित्वको सपना देख्न थाले। पूर्वको चुलाचुलीदेखि पश्चिमको टिकापुरसम्म सात डिभिजन जनसेनाहरूको अस्थायी क्यान्टोमेन्ट निर्माण गरियो। रेजिना पाँचौँ डिभिजनमा‌ कार्यरत थिइन्।

केही महिना क्यान्टोमेन्टको बसाइपश्चात उनी श्रीमानको सल्लाहमा घरमा बस्न थालिन्। युएनको प्रमाणिकरण प्रक्रियामा श्रीमानले छोरीको स्याहार हुँदैन भन्दै नजान सल्लाह दिएपछि रेजिना प्रमाणिकरणको सूचीमा अटाउन सकिनन्। ०६८ सालतिर सँगै युद्ध लडेका सहयोद्धाहरू धेरैजसो‌ आर्थिक प्याकेजमा घर फर्किए। कोही साथीहरू समायोजन प्रक्रियाअन्तर्गत नेपाली सेनामा जागिर खान जाँदै गर्दा रेजिना भने घरमा खाली हात हुन पुगिन्।

केही वर्ष राम्रै चलेको रेजिनाको पारिवारिक सम्बन्धमा पनि दरार उत्पन्न हुन थाल्यो। युद्धभित्र एक थोपा सिन्दुरमा‌ गाँसिएको जनवादी विवाहको सम्बन्ध टिकाउन नसकिने परिस्थितिहरू सिर्जना हुँदै गयो। सानैमा पढाइ त्यागेर मुलुक बदल्ने सपना बोकेकी रेजिनाको जिन्दगीमा पढाइको योग्यता र पैसाको महत्व बढ्दै गयो। अन्तत:युद्धको संघर्षभित्र जोडिएको सम्बन्धमा पूर्णविराम लगाउनुपर्यो। आज छोराछोरीहरू पनि श्रीमानसँगै रहेपछि एक्लै बनेकी रेजिना सदरमुकाम लिबाङमा कोठा भाडामा लिएर बस्दै छिन्।

क्यान्सरले जीवन र मृत्युको दोसाँधमा

लामो समय युद्धमा खटेर घाइते शरीरसहित घर फर्केकी रेजिनाको जिन्दगीमा फेरि अर्को बज्रपात परेको छ। युद्धको बेला लागेको गोली अझै घाँटीमा अड्किरहेको छ, जुन झिक्नै नमिल्ने डाक्टरको सल्लाह छ। जसको कारण घाँटीमा निरन्तर समस्या आइरहन्छ। त्यसैमाथि उनलाई फेरि स्तन क्यान्सर भएको छ। कैयौँ युद्धमा गोलीले नढलेकी रेजिना आज क्यान्सर जस्तो प्राणघातक रोगसँग जीवन र मृत्युको दोसाँधमा लडिरहेकी छिन्।

साँझबिहान मजदुरी गरेर जिविका चलाउँदै गरेकी उनलाई उपचार गर्न निकै कठिन परेको छ। भरतपुर अस्पताल चितवनमा उपचार गराउँदा गराउँदै उनको अलिअलि भएको धनसम्पति पनि सकिसक्यो। साँझ बिहानको छाक टार्नसमेत मुस्किलको अवस्थामा बाँचिरहेकी रेजिनाले गहभरि आँशु लिँदै भनिन्, 'बरू युद्धमै मरेको भए हुन्थ्यो होला। त्यसरी घाइते हुँदा पनि बाँचेँ, आज दुख पाउनको लागि पो रहेछ।' युद्धपछि कुनैपनि नेता, कमाण्डरसँग सम्पर्क नरहेको भन्दै आफ्नो उपचारको लागि पहल गरिदिन समेत पार्टी संगठनलाई आह्वान गरेकी छिन्।

हिजो कलिलो उमेरमा रेजिनाहरूले राज्यसत्ताविरूद्व बन्दुक नबोकेको भए के मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्थ्यो? घरपरिवार र व्यक्तिगत इच्छाहरू त्यागेर रेजिनाहरू मुक्तियुद्धमा लामबद्ध नभएका भए माओवादी जनयुद्धले त्यो उचाइ चुम्थ्यो? अनि आज क्रान्तिका तिनै सिपाहीहरू ढलिरहँदा उनीहरूको जीवनरक्षा गर्ने जिम्मा राज्यको होइन? रोल्पा–रूकुमको जंगलबाट रेजिनाहरूले बचाएर सिंहदरबार छिराएका माओवादी नेतृत्व यतिबेला प्रधानमन्त्रीसहित सरकारमा छ। जनयुद्धका यी घाइतेहरू आज जीवन र मृत्युको दोसाँधमा छटपटिँदै गर्दा टुलुटुलु हेरेर बसिरहने हो सरकार?

प्रकाशित मिति: : 2023-01-20 22:10:00

प्रतिकृया दिनुहोस्

    जसको बलिदानले आजको लोकतंत्र आयो जसको रगतले आजको दिन आयो ती योद्दाहरू बेसाहारा भएर मर्नु हुँदैन । ती योद्दाहरू ऋण तिर्नको लागि म हर तरह लाग्न चाहन्छु साथै सबैलाई लाग्न अनुरोध गर्दछु । त्यस्ता योद्दाहरू उपचारको लागि पार्टीले फन्ट बनाउन पर्छ ।

    • एक बर्ष अगाडि
    • Krishna