परिवारले प्रेम अस्वीकार गर्दा एउटै पासोमा झुन्डिए राजेश र पवित्रा

BreaknLinks
BreaknLinks

झापाको कचनकवल गाउँपालिका– ४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। उनीहरुले विवाहका लागि परिवारमा प्रस्ताव राखे। तर, उनीहरुको निर्णय परिवारले मानेन।

परिवारले विवाहको प्रस्ताव अस्वीकार गरिदिएपछि २०७८ साउन ११ गते उनीहरुले भागी विवाह गरे। विवाहपछि राजेशले पवित्रालाई आफ्नो घर लगे। विषेशगरी केटी पक्षका परिवारलाई यो सम्बन्ध मन परेको थिएन्। भागी विवाहपछि केही महिना पवित्रा राजेशकै घरमा बसेकी थिइन्।

तर, आफ्नी छोरी नाबालिग भएको भन्दै पवित्राका बुबाले उनलाई घर लगे। घर ल्याएपछि पवित्रालाई उनको परिवारले केटाविरुद्ध मुद्धा मामिला गर्न दवाव दिए। पवित्राले मुद्धा हाल्न अस्वीकार गरेपछि बुबा भुवनलाल राजवंशीले आफैंले छोरीलाई राजेशले जबर्जस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिए।

राजेशविरुद्ध प्रहरीमा जाहेरी परेपछि उनी पक्राउ परे। राजेश र पवित्राको घर करिब एक किलोमिटरको दुरीमा छ। एउटै गाउँका छिमेकी भएका कारण दुवै परिवारलाई मिल्नका लागि सामाजिक दवाव आयो। दुई परिवारबीच पटक पटक छलफल पनि भयो। तर, घटनाले कानुनी रुप लिइसकेकाले केटी पक्षले अदालतमा बयान फेर्नुपर्ने भयो।

केटाको परिवारले केटीको परिवारलाई ६ लाख रुपैयाँ दिने शर्तमा अदालतमा बयान फेरियो। बयान फेरिएपछि दुई महिला जिल्ला कारागारमा रहेका राजेश जेलमुक्त भए।

पवित्रालाई परिवारले घर फर्काए। राजेश पनि दुई परिवारबीचमा भएको सहमति मान्दै घर लागे। राजेश गाउँकै एक कृषि फार्ममा काम गर्थे। फार्ममा काम गरेको केही समयपछि उनले आफ्नै कुखुरा फार्म पनि खोलेका थिए। पवित्राको घरदेखि राजेशको कुखुरा फार्मको दुरी करिब ५०० मिटरको छ।

पवित्राको परिवारका अनुसार उनीसँग मोवाइल फोन पनि थिएन्। परिवार, समाज र कानुनबाट टाढिएका उनीहरुले यो समयसम्म पनि भेट गरेका थिएनन्। तर, सोमबार राति उनीहरूले भेटे। फार्ममा राजेशसँगै सुतेका उनका भाइका अनुसार राजेश करिब बिहान ३ बजे उठेर बाहिर निस्किएका थिए।

सँगै सुतेको दाइलाई ओछ्यानमा नदेखेपछि दिनेश आत्तिए उठे। उठेर चारैतिर खोजे तर कतै देखेनन्। त्यसपछि टर्चलाइट बालेर पोखरीको दक्षिणपट्टी रहेको चिया बगानतिर गए। चिया बगानको एउटा रुखमा कोही झुण्डिएकोजस्तो देखेपछि चिच्याउँदै गुहार मागे। कोही झुण्डिएको देखेपछि बगानमा पुगेका दिनेशले दाजु राजेशसँगै पवित्रालाई पनि एउटै पासोमा झुण्डिएको अवस्थामा भेटे।

उनीहरुले अझै पनि परिवारले आफूहरुलाई एक हुन नदिने भएपछि माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरे।

परिवारका अनुसार दुवैको केही महिनायता अवस्था सामान्य भइसकेको थियो। परिवारका मानिसले दुई जनालाई अलग नगरिदिएको भए यस्तो अवस्था नआउने कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी बताउँछन्।

प्रहरीले पनि उनीहरूको आत्महत्याको कारण प्रेम असफल हुनु नै रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: : 2023-01-25 11:00:00

प्रतिकृया दिनुहोस्