दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन्।
फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो। फिल्मले पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनीहरुको अभिनय रहने जानकारी गराइयो । अघिल्लो महिना फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए।
सौगात, नाजिर र मलिका पहिलो पटक एकअर्कासँग काम गर्न लागेका हुन्। तर, मलिका फिल्ममा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन। फिल्ममा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन्।
सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्मको कथा उनी स्वयंको हो। उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन्। फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने जानकारी प्राप्त छ। राजेश श्रेष्ठको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ।
फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए। फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ। चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ। आगामी वैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो।