२ अर्ब ४२ करोडको लागतमा विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

विराटनगर विमानस्थलमा सुविधा सम्पन्न नयाँ टर्मिनल भवन बन्ने भएको छ। भ्याटबाहेक २ अर्ब ४२ करोड ८ लाख ५६ हजार लागतमा उक्त टर्मिनल भवन निर्माण हुने भएको हो।

१६ हजार २७७ वर्ग मिटरमा बन्न लागेको टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शिलान्यास गरेका छन्। शिलान्यास गर्दै मन्त्री किराँतीले समयमै काम सक्न र गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उडान अवतरणको पिक आवर ट्राफिकमा १ हजार ८०० यात्रु धान्न सक्ने गरी टर्मिनल भवनको डिजाइन गरिएको छ।

यो टर्मिनल भवन भैरहवा र पोखरा विमानस्थलमा निर्माण भएका टर्मिनल भवनभन्दा ठूलो हो। पोखरा विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटर र गौतमबुद्ध विमानस्थल भैरहवाको टर्मिनल भवन १४ हजार वर्ग मिटर रहेको छ।

विमानस्थलमा बन्ने टर्मिनलको ठेक्का निर्माण कम्पनी केसी–डाँफे जेभीले पाएको छ। तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने सम्झौता भएको छ।

तीनै तहका सरकारको संयुक्त लगानीमा बन्न लागेको टर्मिनल भवन १७ टिकट घर, तीनवटा भीआईपी रुमसहित अन्य पसल, रेष्टुरेन्टहरु रहने बताइएको छ।

नेपाल सरकारको ५० प्रतिशत लगानीमा बन्न लागेको भवनमा प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत तिर्ने सम्झौता भएको छ। हाल विराटनगर विमानस्थलमा रहेको टर्मिनल भवन २०२५ सालमा निर्माण भएको थियो।

यस्तै विमानस्थलको धावन मार्ग पनि विस्तार गरिने भएको छ। विमानस्थलमा अहिले एक हजार ५ सय मिटरको धावन मार्ग छ। त्यसमा २७० मिटर बढाउने तयारी भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: : 2023-02-13 14:27:00

प्रतिकृया दिनुहोस्