अब कुरा मिल्नेहरुलाई सरकारमा सहभागी गराउँछौँ: देव गुरुङ

BreaknLinks
BreaknLinks

गएको पुस १० गते नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भयो। सरकार गठन भएको दुई महिनामा नै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार धरमराएको छ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दलहरुबीच विवाद हुँदा प्रचण्ड नेतृत्वको सरकार धरमराएको हो। फागुन १२ गते सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले प्रतिपक्ष दल काँग्रेसबाट उम्मेदवार भएका रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सघाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरियो।

त्यसको तीन दिनपछि फागुन १५ गते एमालेले पनि सरकार छाड्यो। र, यी दुई दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियाे। यसअघि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माघ २२ गते सरकारलाई दिएको समर्थन कामय राख्दै सरकार छाडेको थियो।

फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। राष्ट्रपतिका लागि आठ दलको समर्थनमा काँग्रेसबाट पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। एमालेले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई माओवादीले नसघाएको भन्दै सरकार छाडेपछि प्रचण्ड नेतृत्वको सरकारको आयु पनि धेरै दिन नरहेको बताउन थालेको छ।

के २५ गतेपछि प्रचण्ड नेतृत्वको सरकार रहँदैन? के भन्छ माओवादी? बिएल नेपाली सेवाले माओवादी केन्द्रका महासचिव देव गुरुङसँग छोटो संवाद गरेको छ।

नयाँ सरकार गठन भएको दुई महिनामा नै प्रचण्ड नेतृत्वको सरकार धरमराएको छ। प्रचण्डलाई काँग्रेसलगायत दलले साथ दिनेमा कति विश्वस्त हुनुहुन्छ?

सरकार राजनीतिक कोर्सका आधारमा चल्ने हो। विश्वास र नविश्वास भन्ने कुरा होइन। राजनीतिक कोर्स कता जान्छ भन्ने हिसाबले सरकार चल्छ। प्रचण्ड नेतृत्वको सरकार ढल्ने र नढल्ने भन्नेमा व्यक्तिगत कुरा भएन।

तत्कालको विषयमा कुरा मिल्नबीचमा समीकरण हुन्छ। नमिल्नेसँग समितिकरण हुँदैन। सरकार ढल्ने र नढल्ने भन्ने विषय इस्यू (विषय)हरु मिल्नेहरुबीचमा समीकरण हुन्छ र सरकार बन्छ। विषयहरु नमिल्नेहरुबीचमा समीकरण मिल्दैन।

त्यसकारण विषय, एजेण्डाका हिसाबले मिल्ने र नमिल्ने हुन्छ। एजेण्डाहरु कहाँ मिल्छ वा मिल्दैन भन्ने कुराहरु तपाईंहरु पनि हेर्दै जानुस् न। यो व्यक्तिगत मामिला होइन।

राष्ट्रपति निर्वाचनका लागि आठ राजनीतिक दलहरुबीचमा राजनीतिक समीकरण बनेको छ। प्रचण्ड नेतृत्वकै सरकार टिकाइराख्न पनि केही सहमति भएको छ?

सरकारका बारेमा अहिलेसम्म कुनै सहमति भएको छैन। केही दिनअघिसम्म राप्रपा, एमाले अहिलेकै सरकारमा भएकाले राष्ट्रपति मात्र काँग्रेसबाट उठाएका उम्मेदवारलाई बनाउने भन्ने कुरा थियो। यो राष्ट्रिय सहमतिका लागि थियो।

राष्ट्रपति काँग्रेसलाई बनाए हामीले सरकार छाडिदिन्छौँ भनेर उहाँहरुले सरकार छाड्नुभयो। उहाँहरुले सरकार छाडेपछि सरकारलाई बेवारिसे छाड्ने कुरा भएन, अब कुरा मिल्नेहरुलाई सरकारमा सहभागी गराउन कोशिस त गर्नुपर्यो। प्रकृया यही हो।

दुई दलले सरकारले छाडेपछि मिल्नेहरुबीच सरकार बनाउने कोशिस गनुपर्छ। अब राष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता लागू भएपछि तत्काल सरकार गठन गर्ने भन्ने कुरा भएन। अब सरकार बनाउँदा कुरा मिल्नेहरु सरकारमा रहन्छन्। नमिल्नेहरु बाहिरिन्छन्। हामीले सरकार रहिरहनुपर्छ भनेर पनि हुँदैन।

सरकारबाट माओवादी पनि बारिहनुपर्छ भन्ने गरी तपाईंहरु तयारी अवस्थामा हुनुहुन्छ?

सरकारमा बस्ने, बाहिरिने भन्ने कुरा स्थायी हो र? होइन नि। सरकार बन्ने त विचार, नीतिका आधारमा हो। सरकार फेरबदल त भइरहन्छ। राजनीति भनेको विचार, लाइनको कुरा हो। लाइनका आधारमा सरकार फेरबेदल भइरहन्छ।

अहिलेको लाइन भनेको संविधानको कोर्स पूरा गर्नुपर्ने, संघीयता पक्षधरहरुबीच सहकार्य गर्नुपर्ने, गणतन्त्र, धर्म निरपेक्षतालगायत मुद्दाहरुलाई कार्यन्वयन गर्नुपर्ने यो लाइन हुुञ्जेल लाइन मिल्ने–मिल्नेबीच कुरा मिल्छ। नमिल्नेहरु साइडमा पर्दै जान्छ। यो लाइनका आधारमा सरकार अदलबदल भइरहन्छ। मान्छेका विचारहरु एकै लाइनको भइरहन्छ भन्ने होइन। कहिले कुन लाइन त कहिले कुन लाइनमा सहमति हुन्छ।

काँग्रेस र एमाले मिलेर सरकार बनाए भने के गर्नुहुन्छ? 

राजनीतिक कोर्षमा यो चलिरहेको कुरा भयो। उहाँ मिल्नुहुन्छ हुँदैन भन्ने कुरा हेर्ने कुरा भयो।

प्रकाशित मिति: : 2023-03-02 20:30:00

प्रतिकृया दिनुहोस्