प्रेम शाहीसहित ३ सैनिकको रिहाइसँगै उठेका प्रश्नहरु

अनलाइनखबर

गौरव पोखरेल

नेपाली सेनाले दिएको अवकाश पत्रविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर जंगीअड्डा पुगेका उपरथी प्रेम शाहीलाई ५९ दिन थुनेर बिहीबार साँझ छाड्यो । उनलाई दुई महिनासम्म किन थुनियो ? अनि सर्वोच्चले तत्काल काम गर्न दिनू भनेका शाहीलाई किन निष्कासन गरियो भन्ने जंगीअड्डाले स्पष्ट जवाफ दिएको छैन ।

सुरुमा आर्थिक अनुशासनको कसुरमा अनुसन्धान थालेको बताएको सेनाले पछि उनलाई सैनिक बिद्रोह, सैनिक अनुशासन उल्लंघनको कसूरमा मुद्दा चलाएको छ । तर, सैनिक बिद्रोह जस्तो गम्भीर कसुर लगाएको सेनाले उनलाई निष्कासन गरेर कारबाही टुंग्याएको छ । ‘सैनिक बिद्रोह जन्मकैदसम्म कारबाही हुनसक्ने कसुर हो, बिद्रोह नै गरेको भए निष्कासन मात्रै पर्याप्त हुन्थ्यो र ?’, एक उच्च पूर्व सैनिक अधिकृत प्रश्न गर्छन् ।

जानकारहरुका अनुसार बिहीबार पनि यो प्रकरणमा आदेश सुनाउने समरी सैनिक अदालतको तयारी थिएन । तर, शाहीलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका मानव अधिकार निर्देशनालयका महासेनानी महेन्द्रजंग शाह (पीएचडी) र पूर्वी पृतना प्राड शाखा कार्यालयका प्रमुख सेनानी कुलदिप तिमसिनालाई सर्वोच्च अदालत उपस्थित गराउन आदेश दिएपछि सैनिक अदालतको निर्णय बाहिर आएको हो ।

 

प्रकाशित मिति: : 2023-03-03 18:24:00

प्रतिकृया दिनुहोस्