सैनिक पक्राउ प्रकरणमा अदालतलाई सेनाको झुटो जवाफ

अनलाइनखबर

गौरव पोखरेल

सैनिक विद्रोहको कसूर गरेको अभियोगमा पक्राउ परेका सैनिक अधिकृतलाई ३ दिनभित्र उपस्थित गराउन भन्दै सर्वोच्च अदालतले दिएको आदेशमा नेपाली सेनाले झुटो जवाफ पेश गरेको छ ।

अदालतमा नेपाली सेनाका तर्फबाट प्राड विवाकका सहायक रथी जीवनप्रसाद दाहालले पेश गरेको जवाफमा प्रमुख सेनानी कुलदीप तिमसिना र महासेनानी महेन्द्रजंग शाहलाई थुनामै नराखिएको दाबी गरिएको छ ।

जबकि, १० फागुनमा तत्कालीन सैनिक सचिव गौरवकुमार केसीले शाह कार्यरत मानव अधिकार निर्देशनालय र तिमसिना कार्यरत पूर्व पृतनाको प्राड शाखालाई उनीहरुलाई उपस्थित गराउन भन्दै पत्राचार गरेको अदालतमै पेश कागजातमा देखिन्छ । र, कागजातहरुमा उपरथी प्रेम शाही समेत संलग्न सैनिक कसूर विद्रोहको कसूरमा दुवै अभियुक्त भएको उल्लेख छ ।

कार्यालय पोशाकमा १४ फागुन बिहान ११ बजे उनीहरुलाई जंगीअड्डाको पशुपति कक्षमा उपस्थित गराउन पत्रमा भनिएको छ । उपरथी प्रेम शाही समेत भएको ‘सैनिक विद्रोहको कसूर गरेको’ भन्ने मुद्दामा पुर्पक्ष गर्न भन्दै बोलाइएका उनीहरुलाई त्यसदिन सैनिक प्रहरी गणले नियन्त्रणमा राखेको तिमसिना निकट स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रकाशित मिति: : 2023-03-13 19:34:00

प्रतिकृया दिनुहोस्