यातायात प्रमुखलाई प्रश्न: कर्मचारी र बिचौलियाको साँठगाँठ कहिले अन्त्य हुन्छ ? (भिडियोसहित)

उमेश थापा

काठमाडौं

काठमाडाैँकाे गुर्जुधारा यातायात व्यवस्था कार्यालयमा बिचाैलियाहरुकाे बिगबिगी हुन्छ भन्दै सेवाग्राहीहरु गुनासाे गरिरहन्छन्। यहाँकाे लेखा/पढी त राजनीतिक आडमा नै हुन्छ भन्ने अधिकांशकाे आराेप छ।

गुर्जुधारा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीहरुले सहज रुपमा काम गर्ने वातावरण कहिलेबाट हुन्छ ? बिचौलिया र कर्मचारीबीचको सम्बन्ध कहिले तोडिन्छ ? यी र यिनै विषयमा रहेर गुर्जुधारा यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुख हरिहर पोखरेलसँग बिएल नेपाली सेवाका लागि उमेश थापाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः


तपाईं एकै जनालाई दुई वटा जिम्मेवारी वहन गर्न कत्तिकाे सहज छ ?

मलाई निकै कठिन छ। मैले यस विषयमा भनिरहेकाे छु कि मलाई दोहारो भूमिका निर्वाह गर्न गाह्राे छ। मलाई एउटा मात्रै जिम्मेवारी दिनुपर्‍याे भनिरहेकाे छु। अब मन्त्रालयमा चाँडै उपसचिवज्यू जानुहुन्छ होला। अहिलेसम्म त जसरी भएपनि भ्याइराखेको छु। तर, दुबै कार्यालयकाे कामले लाेड बढी भएकाे छ, समय मिलाउन धेरै गाह्राे र चुनाैतिपूर्ण छ।

गुर्जुधारा यातायात कार्यालय त धेरै बिचौलियाहरु हुने ठाँउ भनेर चिनिन्छ नि ?

बिचौलिया भनेर हामीले कोड गर्नुहुँदैन, बिचौलिया भन्नु भन्दा पनि तेस्रो पक्ष भन्दा हुन्छ। अब हामीले सेवाग्राहीहरुलाई मात्र कार्यालय प्रवेश गराएर काम गराउने वातावरण बनाइराखेका छौँ। त्यसको लागि मिटिङ भइसकेको छ। समस्या भएमा सेवाग्राहीहरु सिधैं मेरो रुममा आएर भन्दा पनि हुन्छ।

कर्मचारीकै जोडबलमा यहाँ बिचाैलियाहरु छिर्छन भन्ने सुनिन्छ त ?

अब छिर्न नदिने। त्यही रोक्न हाम्रो प्रयास जारी छ। म यस कार्यालयमा आएदेखि सबै तहका कर्मचारीहरुलाई बोलाएर तेस्रो पक्ष छिर्न रोक्न लगाउन र सेवाग्राहीहरुलाई मात्र छिराउन निर्देशन दिएको छु। सेवाग्राहीहरुलाई आफ्नाे काम आफैं गर्न सक्ने वातावरण बनाउँदैछौँ। यसले गर्दा तेस्रो पक्ष वा कोही कसैकोमा जानु पर्दैन।

माेटरसाइकल पास गर्दा, ब्लु बुक नवीकरण गर्दा निकै भीडभाड हुन्छ ? लाइनको अन्त्य कहिले हुन्छ ?

म आएदेखि लाइन हटाउन अरु काउण्टर थप गर्न खोजिराखेको छु। यस कार्यालयमा लेखाका कर्मचारीहरु कम हुनुहुन्छ। लेखाका कर्मचारीहरु पनि त यहाँ थप चाहिएको छ। बरु अरु कर्मचारीहरुलाई राखेर भए पनि सिकाइराखेको छु। एकैचोटि कम्पनीका कामको फाइल चारदेखि पाँच सय आउछन्। सेवाग्राहीहरु पनि त्यतिकै संख्यामा हुन्छन्। त्यसैले गर्दा कम्पनीलाई र सेवाग्राहीहरुलाई छुट्टै काउण्टर हुनुपर्छ, भनिरहेकाे छु। त्यो भएपछि लाइनको अन्त्य हुन्छ। अब छिट्टै तीन वटा काउण्टर हुन्छ लगभग १५ देखि २० दिनभित्र स्थापना हुन्छ।

बिचौलिया र कर्मचारीहरुको साँठगाँठलाई कसरी हेर्नु भएको छ ?

बाहिर लेखा/पढी गर्ने व्यक्तिहरु लाइनमा बसेका होला। हामीले पनि ठ्याक्कै को कोसँग मिलेको छ चिन्दैनाैँ। लाइनभन्दा बाहिरबाट कर्मचारीहरुले सेवा दिनुभयाे भने कर्मचारीहरुलाई कारबाही गर्छाैँ। म यहाँ आएदेखि कर्मचारीहरुलाई बारम्बार भनिराखेको छु, आफ्नाे आचारण सुधार गर्न र सेवाग्राहीमैंत्री हुन। जनताको सेवाभन्दा अरु विकल्प छैन। अहिलेसम्म तपाईंहरुले जे गर्नुभयो गर्नुभयो, अब जनताको सेवामा समर्पित हुनुपर्छ।

मैले यहाँको सुरुमा ढड्डा सुधार गर्नुछ र मैले मन्त्रालयमा बजेट माग पनि गरिसकेको छु। ढड्डा सुधार गर्ने बित्तिकै सेवाग्राहीहरुले आफ्नाे ढड्डा बोकेर कर्मचारीकोमा जाने बितिकै काम हुन्छ नि।

डिजिटलाइजेसनकाे टेण्डर किन रद्द भयो ?

टेण्डर रद्द गर्ने भनेर मुख्यमन्त्री कार्यालयले परिपत्र गरेको छ। अब चाहिँ रद्द गर्ने प्रक्रियामा छ। अब आफू भन्दा माथिल्लो निकायले रद्द गर्दा रद्द हुन्छ। तर, यो निकै राम्रो प्राेजेक्ट थियो। जनताहरुले घरमा नै बसेर सेवा पाउथ्यो। प्रविधि प्रयोग हुने बित्तिकै बिचौलियाहरुको त्यत्तिकै अन्त्य हुन्छ। प्रविधिकाे प्रयाेगले काम गर्न निकै सजिलो हुन्थ्यो। म मन्त्रालयमा हुँदा नै यो इनिसेसन मैले नै ल्याएको हो। यसलाई कार्यान्वयन गरियो भने जनताले घरमै बसेर सेवा पाउँछन्। जनताले आफैं आएर काम गर्न याे प्रविधि उपयोगी हो। यही टेण्डर कार्यान्वयन भएको भए एक वर्षभित्र सेवाग्राहीहरुले सेवा पाउँथे।

दैनिक कति संख्यामा यहाँ माेटरसाइकल र स्कुटरको नामसारी र नवीकरणको काम हुन्छ ?

जम्माजम्मी १३/१४ लाख बाइक तथा स्कुटर छन्। दैनिक चार सयदेखि पाँच सयकाे संख्यामा बाइक तथा स्कुटरको किन/बेच हुन्छ। सेवाग्राहीहरु पनि त धेरै छन।

लेखा/पढी त तपाईंकाे कार्यालयका कर्मचारीको नाममा चलिरहेकाे छ नि ?

त्यस्तो मलाई थाहा छैन। कर्मचारीको अथ्राेरेटीमा त्यसो गर्न पाइदैन। कसैले पनि गरेको छैनन् होला। त्यसो गरेमा कारबाहीको भागेदार हुन्छन्। थाहा पाउने बित्तिकै त्यस्तो कर्मचारी यहाँ राख्दा पनि राख्दैन।

दुई वटा कार्यालयकाे काम गर्दा तपाईंलाई जानकारी नभएको पनि हुनसक्छ नि ?

म आएदेखि सबै तहका कर्मचारीलाई बोलाएर तपाईंहरुको कहीँकतैबाट गुनासो आयो भने छुट हुने छैन भनिसकेको छु। तपाईंहरुले कोहीसँग भेट्ने वा सम्पर्क गर्ने गरेकाे थाहा पाउने बित्तिकै मुख्यमन्त्री कार्यालयलाई पत्र काट्छु भनिसकेको छु। त्यस्ताे जानकारी आउने बित्तिकै मन्त्रालय र मुख्यमन्त्री कार्यालय पुग्छ भनेर स्टाफ मिटिङमा पनि भन्दै आइरहेकाे छु। तपाईंहरुलाई गलत गर्ने छुट छैन।

याे कार्यालय कहिलेबाट स्वच्छ हुन्छ ? तपाईं कार्यालय प्रमुख हुँदा नै हुन्छ कि नयाँ कार्यालय प्रमुख आएपछि ?

मैले भनेँ त प्रविधिमा गयो भने सुधार हुन्छ। मैले सुधारको प्रयास त गरेको छु। एकैचोटि सय प्रतिशत नै सुधार हुन्छ भन्ने त छैन। प्रयास त गर्नुपर्छ, म प्रयासरत छु। बिस्तारै सुधार गर्ने प्रक्रियामा नै छौँ, सुधार नगरी त विकल्प पनि छैन। अनलाइन प्रणालीमा जाने बित्तिकै सय प्रतिशत नै सुधार हुन्छ। त्यो रद्द गर्न आँटेको टेण्डरलाई नरोकेमा यातायात कार्यालयहरुमा त्यत्तिकै व्यवस्थित र सुधार हुन्छ।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-30 16:29:00

प्रतिकृया दिनुहोस्