सामाजिक सञ्जालमा आफूलाई मानहानी गरेको भन्दै जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले साइबर ब्यूरोमा हदैसम्म कारबाहीको मागसहित उजुरी हालेका छन्।
आफूसहित दुर्गा प्रसाईं र युवराज सफललगायतका व्यक्तिको तस्बिरलाई श्रद्धाञ्जली भावमा फूलमाला अर्पण गरी शंख बजाउँदै टिकटक बनाएर पोष्ट गरिएपछि उनले आज साइबर ब्यूरोमा उजुरी दिएका हुन्।
‘एलपी लोकन तामाङ्ग अन टिकटक’ नामको आइडीमा ‘रवि लामिछाने समर्थक’ उपशीर्षक राखेर सार्वजनिक पोष्टमा हिन्दू समुदायको मृत्यु संस्कार सम्पन्न गर्ने परम्पराअनुसार शोकमा बजाइने एकोहोरो शंखको धुन हालिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूसँग विदेशी नागरिकता हुँदाहुँदै स्वतः खारेज हुने नेपाली नागरिकताका आधारमा गरेका गतिविधिबारे निरन्तर सम्प्रेषित समाचारप्रति असन्तुष्टि जनाउने नाममा आपत्तिजनक भिडियो सार्वजनिक गर्नेलाई कारबाहीको माग गरिएको छ।
उक्त कार्यबाट गाली बेइज्जती र विद्युतीय कारोवार ऐन आकर्षित भएको उल्लेख गर्दै श्रेष्ठले लामिछानेकै निर्देशनबमोजिम विभिन्न व्यक्तिले त्यस्ता सामग्री सम्प्रषेण गर्दै आएको आरोप लगाएका छन्।
‘रवि लामिछानेकै निर्देशनबमोजिम विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा अनेक नामका आइडी, ग्रुप र अभियान चलाउँदै आएका छन्। त्यसक्रममा निजका विरुद्ध समाचार लेख्ने, टिकाटिप्पणी गर्ने वा कुनै किसिमले सुझाव दिनेहरुका हकमा ती सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न सामग्री सम्प्रेषित हुँदै आएको छ’, निवेदनमा भनिएको छ।
समाचार प्रकाशन गरेका विषयमा सकारात्मक वा नकारात्मक टिप्पणी हुनु, चर्चा वा विरोध हुनु स्वाभाविक भएको बताउँदै उनले टिप्पणी, चर्चा वा आलोचना संविधान र कानुनको दृष्टिले प्रतिकूल एवं आपत्तिजनक छन् कि छैनन् भनी अध्ययन गर्न जरुरी रहेको स्मरण गराएका छन्।