स्टेजमा गीत गाउँदै थिए त्यही बेला आयो आमाको मृत्युको खबर (भिडियो)

Breaknlinks
Breaknlinks

यता खोज्छु छैनौँ आमा 
उता खोज्छु छैनौँ आमा 
आमा–आमा–आमा भनिरहेँ 
कतै भेट भैनौँ आमा 
कतै भेट भैनौँ...

माथिको गीत स्टेजमा गुञ्जयमान बनाइरहेका गायक शिशिर योगीको गला अवरुद्ध भयो। उनका आँखाबाट आँसु झर्‍यो। किन ? २१ पुस २०७८ मा सुर्खेतको वीरेन्द्रनगरमा ‘शिशिर योगी एकल सांगीतिक साँझ’ भइरहेको थियो।

कार्यक्रम साँझ ५ बजेबाट सुरु हुँदै थियो। स्टेज चढ्न जम्मा एक घण्टा बाँकी थियो। स्टेज चढ्नुअघि गायक योगीले नसोचेको खबर आयो। फोनमा भनियो, ‘बिरामी आमाले संसार छडिन्।’ त्यसपछि उनी विक्षिप्त बने।

स्टेजमा गाउन जाने कि नजाने दोधारमा परे। तर, योगी कर्तव्य पालक थिए। ‘स्टेज चढ्नुअघि नै बिरामी आमाको मृत्युको खबरले निकै पीडावोध गरायो। स्टेजमा जाने कि नजाने भन्ने दोधारमा परे,’ उनी भन्छन्,‘मेरो दुबै कर्तव्य थियो। आमा कहाँ पुग्नु र कार्यक्रममा गाउनु। अनि दर्शक सम्झिए र स्टेज पुगेँ। तर, गाउँदा–गाउँदै आफूलाई सम्हाल्न सकिनछु, म त भक्कानिन पुगेछु।’

त्यो क्षण उनको जीवनकै सबैभन्दा पीडाको क्षण थियो। ‘आमा गुमाउँदाको त्यो क्षण मेरो जीवनकै सबैभन्दा पीडादायी क्षण हो,’ उनी सम्झन्छन्। आमाबाटै गायनप्रति लागेको बताउने योगीले पाठशालाको पहिलो गुरु आमालाई आफ्नाे पहिलाे नै मान्छन्।

दाङको देउखुरीमा २०२७ सालमा जन्मेका शिशिरको गायन यात्रा निकै लामो भइसकेको छ। राप्ती नदिको पानीमा डुङ्गा खियाउँदै नारायण गोपाल, फत्तेमान, महमद रफीका गीतहरु गुनगुनाउँदै दिनहरु बिताएको उनी बताउँछन्।

संगीतकार अम्बर गुरुङका गीत–संगीतबाट प्रभावित योगी गुरुङलाई पच्छ्याउँदै २०४८ सालमा काठमाडौँ आएका थिए। एलएलसी पास गरेर काठमाडौं आएका उनी आर.आर क्याम्पसमा आर्ट विषय लिएर पढ्न सुरु गरे।

काठमाडौंमा कामसँगै पढाइ गरिरहेका उनले एकदिन गायक गुरुङलाई भेट्ने अवसर पाए। यसैबीचमा एक दिन शिशिरले रेडियो नेपालमा भ्वाइस टेस्ट (परीक्षण) गरेर पास पनि भए। त्यसपछि रेडियो नेपालमा लाइभ रेकर्ड गर्ने मौका पाएको उनले बताए।

योगीले लामो समय संगीत साधना गरेका छन्। त्यो उनको गीतमा प्रष्ट झल्कन्छ। संगीत साधनापछि रातो बङ्गला स्कुलमा संगीत शिक्षक भएर काम गरेको उनले बताए। त्यहाँ कनकमणी दीक्षितका छोराछोरीलाई शनिबार संगीत सिकाउँथे। शिक्षणबाट आएको पैसाले योगीले पहिलो एल्वम ‘पहिचान’ निकाले। जुन एल्वमका गीतहरुले उनलाई गायकको पहिचान दियो।

छाडेर काम सारा एक काम रोजिरहेछु 
यो देशमा म एउटा मानिस खोजिरहेछु
भेटे कही बताए हे राष्ट्रका बटोही
रक्षार्थ जन्मिएका छन् कि सपुत कोही 
यो प्रश्न ख्याल राखे सबलाई सोधिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु....

डा.विश्वनाथ बरालको शब्द र संगीतमा शिशिरले पहिलो एल्वमको नवौँ गीत थियो यो। गीतले भनेजस्तै सपुत अझसम्म देशले नपाउँदा प्रत्येक नागरिकले सुन्ने कालजयी गीत बनेको ठान्छन्, शिशिर। ‘यो गीत नेपालको लागि मात्रै नभएर सिंगो संसारले गाउन सक्ने गीत हो,’ उनी भन्छन्।

गायन यात्राको तीन दशकमा योगीले करिब ६ सय गीत गाएका छन्। धेरै स्टेज कार्यक्रममा नगएको बताउँदै उनी तीन दशकमा जीवनका निकै रोचक किस्साहरु रहेको बताउँछन्। के छन् जीवनका त्यस्ता रोचक किस्साहरु ? गायन यात्रा कहिलेसम्म चल्छ ? आदि विषयमा योगीका गायन यात्रा खोतल्ने प्रयास गरेका छौँ।

प्रस्तुत छ बिएल नेपाली सेवाका लागि गायक योगीसँग रविन पुन मगरले गरेको भिडियो कुराकानीः

प्रकाशित मिति: : 2023-04-15 22:00:00

प्रतिकृया दिनुहोस्