नितिन मिश्रको उपन्यास ‘म र म’ सार्वजनिक भएको छ।
शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्राध्यापक डा ज्ञानु पाण्डे, समालोचक गुरुङ शुसाङ्क, कलाकार मदनदाश श्रेष्ठ तथा प्रभाकर शर्मा र नेपाल सरकारका पूर्व सचिव खेमराज नेपालले संयुक्त रूपमा पुस्तककाे विमाेचन गरेका थिए।
कार्यक्रमा डा.ज्ञानु पाण्डेले उपन्यास एकपटक मात्र होइन, पटक पटक पढ्दै जाँदा झन् नवीन सिकाइ थपिँदै जाने बताए। उपन्यासमा समाज, प्रेम, ईश्वर, परिवार र सम्बन्धको चिन्तनशीललाई मनोवैज्ञानिक तरिकाले उठान गरिएकाे उनले बताए।
कार्यक्रममा बोल्दै समालोचक गुरुङ शुसाङ्कले पुस्तकले नितिनका थप अनुभव र भोगाइलाई समेटेको उल्लेख गरे। उपन्यासमा कथा र भाषा सरल र मिठो भएकाले पनि पढ्न सहज भएको उनले भने।
‘उपन्यासले नेपाली समाजको तस्बिर देखाउनु पर्छ। समाजको सङ्घर्ष बदलिँदो समयको राजनीतिक आर्थिक पारिवारिक सम्बन्धबारे गाउँ सहरबीचको सम्बन्ध देखाउन सक्नु पर्छ’गुरुङले भने। ‘ ‘म र म’ ले पनि नेपाली उपन्यासको क्षेत्रमा सुगन्ध थपेको छ।’
यस्तै, कलाकार मदनदाश श्रेष्ठले किताबले अमेरिका बसाइको भोगाइ, वातावरण र चहलपहललाई राम्रोसँग समेटेको बताए। नेपालमै भएका साहित्यकारहरुले सोचेअनुसार साहित्यमा योगदान गर्न नसकेका बेला विदेशबाटै नेपाली साहित्यमा योगदान दिनु ठूलो कुरा भएकाे उनकाे भनाई छ।
अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बसोबास गर्ने नितिन भिश्रको ‘म र म’ पहिलो नेपाली उपन्यास हो। व्यावसायिक रुपमा सूचना प्रविधिको क्षेत्रमा विगत १० वर्षदेखि कार्यरत मिश्र नेपाली साहित्यमा रुचि राख्दै आएका छन्।