२८ दिनदेखि सडकमै मिटरब्याज पीडित– घरमा जाऊँ साहुले कष्ट दिन्छ, यहाँ बस्दा राज्यले मारिरहेकाे छ (भिडियाे)

फाेटाे/भिडियाे: रविन पुन मगर (आइडु)

घरमा सुदखोरले बस्न नदिएपछि मिटरब्याज पीडितहरुले काठमाडौंमा त्रिपालमुनि बसेर सरकारसँग न्याय मागिरहेका छन्। पीडितहरुले त्रिपालमुनि बसेर कष्ट सहँदै न्याय मागेको महिनादिन पुगेको छ। तर, सरकार भने उनीहरुका मागलाई बेवास्ता गरिरहेको छ। 


‘घरमा गए साहुले मार्छ, यहाँ सरकारले हामीलाई मारिरहेको छ। हामी कहाँ जाने ?’ प्रश्न गर्छन्, मिटरब्याजविरुद्ध संघर्ष समितिका अध्यक्ष अवधेश कुशहावा। घरमा साहुले बस्न नदिएको भन्दै मिटरब्याज पीडितहरु काठमाडौंमा न्याय माग्न आएको आइतबार (आज) २८ दिन पुगेको छ। चैत २० गते काठमाडौंमा आएका उनीहरु २८ दिनसम्म काठमाडौंस्थित शान्तिबाटीकामा त्रिपालमुनि कष्टपूर्ण रातहरु बिताइरहेका छन्।

तर, सरकारलाई २८ दिनसम्म पीडितहरुले बिताएको कष्टपूर्ण रातको कुनै वास्ता छैन। आफ्ना ६ बुँदे माग सम्बोधनका लागि गम्भीरता नदेखाएकोप्रति अध्यक्ष कुशहावा भन्छन्–‘सरकारकाले काठमाडौंमा हामीलाई मारिरहेको छ।’ न्याय माग्नका लागि नवलपरासी (पूर्व), सिराह, सप्तरी, धनुषालगायत २४ जिल्लाका पीडितहरु काठमाडौंमा छन्।

उनीहरुसँग सरकारले पटक–पटक औपचारिक तथा अनौपचारिक वार्ता नगरेको होइन। तर, वार्ताले पीडित घर फर्किने वातावरण बनाएको छैन। शनिबार परेको वर्षापछि त्रिपालमुनि बसेका पीडितहरुलाई रातमा दिन कटाउनसमेत गाह्रो भएको छ। ‘हिजो परेको पानीले यहाँ बस्न सकिएन। रातभर त्यत्तिकै बस्यौँ,’ आइतबार बिहान अध्यक्ष कुशहावाले भने।

आइतबार बिहान १० बजे शान्तिबाटीमा बिएल नेपाली सेवाको टिम पुग्दा पालभित्र पानी पसेकेको सहजै देखिन्थ्यो। अध्यक्ष कुशहावाले भने, ‘हावासहित आएको पानी पालभित्रै पसेको छ। छेक्ने प्रयास गरे पनि सकिएन।’ आइतबार थप पानी परेपछि मिटरब्याज पीडितहरुलाई थप समस्या भएको छ।

तर, काठमाडौंमा जति नै कष्ट भए पनि त्यसै घर नफर्किने मिटरब्याज पीडितहरु बताउँछन्। उनीहरु घरमा साहुको भन्दा काठमाडौंको पालमुनिको कष्ट सहन तयार छन्। ‘घरमा साहुले दिने कष्ट सहनुभन्दा यहाँ पालमुनिको कष्ट सहन तयार छौँ,’ मिटरब्याज पीडित जरिना खातुनले भनिन्,‘न्याय नपाएसम्म घर जाँदैनौँ।’

खातुन ७ महिने छोरासँग काठमाडौंमा न्याय खोज्दै आइकी हुन। ७ महिने छोरासँग त्रिपालमुनी दिनहरु बिताउनु र आन्दोलनमा होमिनु उनलाई कुनै रहर छैन। तर, घरमा बस्ने वातावरण पनि उनीसँग छैन। सम्पत्तिको नाममा रहेको सात धुर जमिन साहुले हडप्न थालेपछि आफैं न्याय माग्न काठमाडौं आएको खातुनले बताइन।

उनीजस्तै १० महिने छोरीसहित त्रिपालमुनि कष्टपूर्ण दिनहरु बिताइरहेकी छिन्, अनिता चमार पनि। दुबै जना सिराहका हुन। उनको पीडा खातुनको भन्दा कम छैन। उनको १० धुर जमिन साहुले लगिसकेका छन्। ‘साहुले घर छाड्न धम्की दिएको धेरै भइसक्यो। घरमा गए साहुले धम्काउँछन्, त्यतिकै घर जान सकिँदैन,’ उनले भनिन्,‘यहाँ न्याय नपाएसम्म घर फर्किदैनौँ।’

पटक–पटक वार्ता भए पनि आफ्ना माग पूरा गर्न सरकार उदासिन बनेको मिटरव्यजविरुद्ध संघर्ष समितिका अध्यक्ष कुशहावाले बताए। आफ्ना माग पूरा गर्ने भन्दा पनि सरकारले आफूहरुलाई दमन गर्ने गरेको उनको भनाइ छ। वैशाख ४ गते सडकमा मार्च पास गर्न थालेको समयमा आफूहरुमाथि प्रहरी प्रशासनबाट ठुलो दमन भएको उनले बताए।

गृहमन्त्री कुरा गर्छन, काम गर्दैनन् 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको पक्षमा आफू रहेको पटक–पटक बताइसकेका छन्। उनले पीडितको पक्षमा रहेको मात्र होइन, आफू आन्दोलनकारीसमेत रहेको भन्न भ्याएका छन्। तर, २८ दिनदेखि मिटरब्याज पीडितले त्रिपालमुनि कष्टपूर्ण दिनहरु बिताएको थाहा पाएका छैनन्।

त्रिपालमुनि जेष्ठ नागरिकसँगै शिशुका आमाहरु छन्। उनीहरुले न्याय मागिरहेका छन्, तर न्याय दिने भन्दा पनि पीडितहरुको माग टार्ने प्रयास सरकारको देखिन्छ। मिटरव्यजा पीडितहरुले गृहमन्त्री श्रेष्ठले दुई कुरा गर्ने गरेको आरोप लगाउँछन्। आफू आन्दोलनकारी हुँ पनि भन्ने अर्को तर्फ प्रहरीलाई दमन गर्ने गरेको अध्यक्ष कुशहावाको भनाइ छ।

आइतबार मात्र गृहमन्त्री श्रेष्ठले मिटरब्याजीलाई कारबाही गर्ने बताए। जनकपुरमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार कठोर भएर प्रस्तुत हुने बताए।

तर, उनको बोली जति कठोर छ, न्याय दिनमा उनको कठोरताले काम नगरेको देखिन्छ। जसको पुष्टि २८ दिनसम्म शान्तिबाटीकामा दिन बिताएका पीडितहरुले देखाइरहेका छन्। उनीहरुको मागमा सरकार मौन देखिनु र उनीहरुलाई घर फर्किर्ने वातावरण नबनाउनु सरकारको गैरजिम्मेवारी देखिन्छ।

कुशहावा नेतृत्वको मिटरब्याज पीडितहरु तेस्रो चरणको आन्दोलनमा छन्। यसअघि उनीहरुले दुई चरण गरी ८९ दिन लामो आन्दोलन गरेका थिए। केशहावा नेतृत्वको आन्दोलन हुनुअघि काठमाडौंमा पैदल हिँडेर आएका मिटरब्याज पीडितले आन्दोलन गरेका थिए।

उनीहरुसँग सरकार पाँच बुँदे सहमति पनि गरेको छ। उक्त सहमतिमा असमत हुँदै कुशहावा नेतृत्वमा पुनः आन्दोलनको घोषणा भएको थियो। पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरु चैत १९ गते घर फर्किएका थिए।

भिडियाे:

थप सामाग्रीहरू:


प्रकाशित मिति: : 2023-04-30 20:30:00

प्रतिकृया दिनुहोस्