शरणार्थी प्रकरण: दाषीलाई कारवाहीको माग गर्दै सडकमा उत्रियो नेकपा एस

नक्कली भुटानी शरणार्थी काण्डका सबै दाषीलाई कडा कारवाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ।

शुक्रबार एकीकृत समाजवादीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरूले सरकार र गृहमन्त्रीलाई खुट्टा नकमाउन सुझाव दिए।

विरोध प्रदर्शनपछि विराटनगरको बुधहाटचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले अहिलेसम्म गरिएको प्रहरी अनुसन्धान र कारवाही सन्तोषजनक भएकाले जनता साथमा छन् भन्नका खातिर पनि सडकमा आएको बताए। उनीहरूले सरकारले भ्रष्टाचारविरुद्ध सशक्त कदम चालेको भन्दै प्रशंसा पनि व्यक्त गरे।

कोणसभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले नक्कली भुटानी शरणार्थी काण्ड विश्वका सामु शीर निहुराउने खालको एउटा लज्जास्पद घटना भएको बताए। उनले यो घटनामा संलग्न व्यक्ति जतिसुकै ठूलो ओहोदाको भएपनि कारवाही गर्नुपर्नेमा जोड दिए।

कोणसभालाई उक्त पार्टीका केन्द्रीय सदस्य तथा महानगर कमिटी इञ्चार्ज सेवन्तराज भण्डारी, महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, जिल्ला कमिटी सहसचिव निलम ढुंगेल, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेलगायतले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: : 2023-05-12 18:23:00

प्रतिकृया दिनुहोस्