संसदीय समितिको नेतृत्वमा तीन दलबीच जुट्याे सहमति 

प्रमुख तीन दलबीच संसदीय समितिको नेतृत्व टुंग्याउने विषयमा सहमति जुटेकाे छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफलमा सहमति जुटेकाे हाे।

छलफलमा संसदका १२ वटा समितिको सभापतिमध्ये ३ वटाको नेतृत्व एमालेलाई दिने सहमति भएको छ। जसअनुसार एमालेले सार्वजनिक लेखा समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) र प्रतिनिधिसभाकाे एक थप समितिकाे सभापति पाउने भएको छ।

बाँकी आठ समितिका सभापति सत्तारूढ दलहरूबाट हुने सहमति भएको छ। जसमा संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले लिने भएको छ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपनेता सुवास नेम्वाङ सहभागी थिए। 

प्रकाशित मिति: : 2023-05-14 15:12:00

प्रतिकृया दिनुहोस्